विद्यार्थीमाथिको भरोसा तिरोहित

हिजोका दिनमा कतिपय समयमा राजनीतिक पार्टीले खेल्न नसकेको भूमिका विद्यार्थी आन्दोलनले खेलिरहेको थियो भन्दा आज आश्चर्य लाग्न सक्छ । राणाशासन होस या ३० वर्षे पञ्चायती ब्यवस्था होस, चाहे राजतन्त्रको अन्त्य गरी लोकतन्त्र, गणतन्त्रको स्थापना गर्ने सवालमा होस्, राजनीतिक पार्टीले खेल्न नसकेको भूमिका विद्यार्थी संगठनले खेलेको इतिहास छ । जुन कुरा अकथनीय छ । त्यही कारणले जनताले राजनीतिक पार्टीभन्दा विद्यार्थी संगठनलाई रुचाएको पाइन्थो । राष्ट्रियता, आम जनताको पक्षमा र शैक्षिक क्षेत्रमा भएका हरेक बिकृती भित्रिँदा विद्यार्थीहरु नै अग्रपंक्तिमा हुन्थे । जब अन्याय हुन्थ्यो, बिद्यार्थी आन्दोलन चर्किन्थ्यो र वारपारको लडाइँ चल्थ्यो । विद्यार्थी आन्दोलनले कहिल्यै हार खाएन । बिद्यमान शोषण प्रदान समाजमा भएको अन्याय, अत्याचार, सामन्ती पूँजिवादी कुरीति कुसंस्कारविरुद्ध, गलत चिजको भण्डाफोर गर्न एकट्ठा भै लाग्थे । कट्टरबादी थिए । यसैले विद्यार्थी आन्दोलनलाई नै नेपाली जनताले ऋतुव्रत आन्दोलन सम्झन्थे र त्यति नै बिश्वास गर्थे ।

सरकार जुनसुकै पार्टीको होस्, विद्यार्थीहरु सधँै अन्याय, अत्याचार, शोषण र दमनको विरुद्ध अग्रणी भूमिका निर्वाह गरिरहेका हुन्थे । त्यसैले विद्यार्थी आन्दोलनलाई प्रतिपक्षी आन्दोलनको रुपमा लिइन्थ्यो । तर विद्यार्थी आन्दोलनको यो चरित्र बहुदलीय प्रणालीको स्थापनासँगै बिस्तारै किनारा लाग्दै गयो । हिजोआज निःशुल्क शिक्षाका निम्ति लडेको संगठन, भ्रष्टाचार र अन्यायका निम्ति लडेका संगठनहरु आज मातृपार्टीको कठपुतली बनेका छन् भन्दा फरक पर्दैन । हिजो प्रतिपक्षीय मानिने विद्यार्थी आन्दोलन आज सत्ता टिकाउने काममा लागेको प्रतित भएको छ । जब आफ्नो माउ पार्टी सत्तामा हुन्छ अनि उपेक्षायोग्य निर्णय हुँदा पनि कानमा तेल हालेर बस्ने तर अर्को पार्टीको सत्ता छ भने राम्रै भएपनि अस्विकार गर्ने र सडकमा रोइलो गर्ने प्रवृत्ति हाबी भएको छरपस्ट देखिन्छ । यसले गर्दा हिजोका दिनमा जुन विद्यार्थी आन्दोलनको लोकप्रियता थियो त्यो आज स्खलित हुँदै गएको छ । त्यसैले विद्यार्थी आन्दोलन अलोकप्रिय, अविश्वसनीय र आलोचनाको केन्द्रबिन्दु बनेको छ ।

बुर्जुवा शिक्षा भनेर समान शिक्षा, ब्यबहारिक, बैज्ञानिक शिक्षाको निम्ति आवाज उठाउने बिद्यार्थी संगठन आज शिक्षालाई ब्यापारीकरण गर्ने र शिक्षालाई कमाई खाने भाँडो ठान्ने पुँजिवादीहरुसँग, शैक्षिक ब्यापारीहरुसँग आर्थिक लेनदेन गरेर टुंग्याउने, नातावाद, कृपावाद र पार्टीवादको आडमा जोगाउन र आफ्नो ब्यक्तिगय स्वार्थसिद्ध गर्न सक्रिय देखिन्छन् । जसले विद्यार्थी आन्दोलनको औचित्यमाथि नै प्रश्नचिन्ह खडा नहुनेमा शंका गर्न सकिदँैन । हिजोको त्यो विज्ञान प्रविधी र स्रोत साधनहरुको अभाव भएको त्यो जटिल परिस्थितिमा पनि हरेक व्यक्ति अध्ययनशिल थिए । तार्किक, बौद्धिक, सैद्धान्तिक दृष्टिकोणले हेर्दा जति खारिएका थिए, त्यो हिसाबले हेर्दा त आजको यो विज्ञान प्रबिधिको प्रयोग र सहज वाताबरणमा अझै बैचारिक हुनपर्नेमा अहिले झन् कमजोर बन्दै गएको छ । विद्यार्थी नेताहरु पदका लागि नेतृत्वको घर चाहार्ने, चाकडी गर्ने तर काम भने सिन्को पनि नभाँच्ने अवस्था छ ।

हिजोका विद्यार्थी नेताहरुमा कामप्रति एकदमै लगाव हुन्थ्यो । विद्यार्थी र जनताका कामलाई दिलो ज्यानले सहयोग गर्नुपर्छ भन्ने भावना थियो । इमान्दारिता उत्तिकै हुन्थ्यो र पो आम जनता ले मन पराउँथे । अहिलेका विद्यार्थी नेता भने विद्यालय, क्याम्पस, विश्वविद्यालयका विद्यार्थी माझ बसेर उनीहरुका समस्याका सारथी बन्ने, उनीहरुको असली अगुवा र अभिभावकीय जिम्मेवारी बहन गर्नेभन्दा सिंहदरबार केन्द्र मान्ने, मन्त्री र नेतृत्वका घर चाहार्ने, मन्त्रीका पिए बन्ने, नेताका चाकरी गर्ने धन्दामा ब्यस्त छन् । यसले विद्यार्थी आन्दोलन प्रतिको आम नागरिक र सम्भावित अवसरका निम्ति वामे सर्दै गरेका देशका बौद्धिक जमात विद्यार्थी वर्गको बिश्वास घट्दो छ । अर्कोतर्फ बिद्यार्थी राजनीति गर्नेहरु पनि यस्ता घिनलाग्दा चरित्र देखेर निराश देखिन्छन् । जस्ले गर्दा राजनीतिमा लाग्ने युवा विद्यार्थीको संख्या पनि न्यून देखिन्छ् । अर्कोतर्फ, विद्यार्थी राजनीतिमा हात हाले भने पनि त्यही नकारात्मक प्रभावमा परी अर्थोपार्जनका लागि मरि मेट्ने बाटो समातेको देखिन्छ । जस्ले गर्दा सिंगा विद्यार्थी आन्दोलनको इतिहास र देशको बिकास निर्माण र भविष्य नै जोखिममा परेको देखिन्छ ।

ती बिद्यार्थी आन्दोलनका पाना पल्टाएर हेर्दा लाग्छ । बिद्यार्थी आन्दोलन त्यसरी सशक्त, राष्ट्रियता निम्ति, आम जनताका निम्ति नभएर अहिले जस्तो ब्यक्तिगत स्वार्थ, ब्यक्तिबादी पार्टीबादी भैदिएको भए आज हामी निर्धक्क भएर नेपाली हुँ भन्न पाउने स्थिति नहुने खतरा उत्तिकै हुन्थ्यो । हिजोआजमा यही फरक छ ! हिजो देशका निम्ति, राष्ट्रियताका निम्ति, राष्ट्रको सुरक्षाको लागि, आम नागरिकको लागि, अन्याय र अत्याचारका लागि, न्यायको पक्षमा आन्दोलन हुन्थे भने आज ब्यक्त्तिगत स्वार्थको निम्ति माउ पार्टीको भविष्यको आँकलन गर्दै आन्दोलन हुन्छ÷देखिन्छ । हिजोको गायक प्रवीण गुरुङको घटना काण्ड, नमिता–सुनिता काण्ड, सांसदलाई पेन्सन दिने निर्णयमा गरिएको आन्दोलनमा विद्यार्थीहरु सडकमा र्ओलिएर सरकारलाई घुँडा टेकाई छाड्थे । तर, अहिलेको निर्मला पन्त हत्या, वाइडबडी काण्ड होस् या पछिल्लो समयमा एनसेलको कर छली होस्, विद्यार्थी संगठन कहिँकतै देखिँदैनन् । जो देखिन्छन्, ती पनि प्रतिपक्षी दल निकटका हुन्छन् । उनीहरु एक– दुई दिन उफ्रन्छन्, तेस्रो दिनबाट जस्ताको तस्तै ! सबै ब्यक्त्तिगत स्वार्थ मै तल्लिन ! यही चालले देश कता जाने हो र त्यो विद्यार्थी आन्दोलनको गौरवशाली इतिहास कहाँ पुग्ने हो ? भन्ने गाह्रो छ ।

त्यसैले फेरि अब युवा विद्यार्थीहरु गलत प्रवृत्तिका बिरुद्ध जाग्नुपर्ने आवश्यकता देखिएको छ । ब्यक्तिगत स्वार्थ र नकारात्मक कुराहरु जस्ले गरे पनि त्यसको भण्डारफोर गर्दै देशको निम्ति उनीहरु नउठ्ने हो भने विद्यार्थीमाथि इतिहासले सुम्पेको जिम्मेवारीप्रति गद्दारी हुनेछ । अब कुनै पार्टी भएर होइन सच्चा देशभक्त नेपाली नागरिक भएर नलाग्ने हो भने हाम्रो राष्ट्रिय अखण्डता, न्याय, समानता, सुशासन, विकास निर्माण, समृद्धिका कुरा कागजमै सीमित रहनेछन् । निष्कर्षमा, नेपाली विद्यार्थी आन्दोलनले एउटा गौरवशाली इतिहास रचेको थियो । जस्ले राणा शासनका विरुद्ध लड्यो, पञ्चायती व्यवस्थाका विरुद्ध लड्यो, लोकतन्त्र, गणतन्त्र स्थापनाको लागि लड्यो र मुलुक यो अवस्थासम्म ल्याइपु¥यायो, ऊ नै अहिले पथभ्रष्ट भएको छ ।

अब विद्यार्थीहरु मुलुकको विकासको लागि कम्मर कसेर लाग्न जरुरी देखिन्छ । अब जनताका अधिकारलाई स्थापित गर्न लाग्न सकिएन र तमाम बिकृतिहरु टुलुटुलु हेरेर बस्ने हो भने विद्यार्थीमाथिको भरोसा तिरोहित हुनेछ । ब्यक्तिगत स्वार्थ, पद, प्रतिष्ठा, छोरा नातिका लागि दानापानी जम्मा गर्ने, अर्थोपार्जन थुपार्नतर्फ लागे विद्यार्थी आन्दोलनको गौरवशाली इतिहास हराउनेछ । राष्ट्रियता, राष्ट्रिय अखण्डतामाथि नै प्रहार हुने, मुलुक दुर्घटनातर्फ जाने र विद्यार्थी आन्दोलन अनि सङ्गठनको औचित्यमाथि नै प्रश्न खडा हुनेछ ।