खानेपानीले ल्याएको खुशी

गालि गर्नेहरु बन्नथाले प्रसंशक

बागलुङ, २५ बैशाख– गोठभरी गाईंभैंसी, करेसामा तरकारी, घरभरी बालबच्चा । गोठका गाईंभैसीलाई कम्तीमा दिनको दुई पटक पानी खुवाउनु पर्ने, करेसाबारीका तरकारी आकासकै पानीको भरमा । आकसबाट पानी नपरे सुख्खा याममा यसै मरेर सकिन्थे । बालबच्चाको नुवाईधुवाईलाई सधैं पानीको अभावै अभाव ।
खानेपानी समेत नभएका यहाँका चार गाउँका सर्वसाधारणलाई निकै दुःख थियो । बागलुङ नगरपालिका–६ मा पर्नेे भिरलाखुरी, सानोलंगाउँ, सल्लेफुर्का, खाड लगायतका गाउँका सर्वसाधारणले निकै लामो समयदेखि खेप्दै आएको दुःख हो यो । चुनावको समयमा गहकिला भाषण र चहकिला सपना बोकेर गाउँमा आउनेको कमी भने कहिल्यै भएन ।
घण्टौंको बाटो हिँडेर जंगल छेउछाउका कुवा र पोखरीमा पुगेर घर चलाउने पानीको जोहो गर्ने सानो लंगाउँकी दया थापालाई पछिल्लो एक बर्ष अघिसम्म गाउँमा कुनै दलको नेता आएको छ भन्ने थाहा भए चरचरी बाँझ्न मन लाग्थ्यो । चुनावका बेला मिठा भाषण गर्ने, पानीको गाग्रो भरीएको जस्तै आश्वासन दिने तर पानीको जोहो गर्न कुवामा नै धाउनुपर्ने बाध्यताले कहिल्यै नछोडेपछि उनको रगत तात्ने गरेको थियो ।
‘कुरा गर्ने काम नगर्नेलाई देख्दा भित्रैबाट रिस उठ्थ्यो, हाम्रो बाध्यतालाई राजनीतिको मसला बनाउँथे’ थापाले भनिन् ‘साँच्चै मैले जो आएपनि गाली गर्ने गरेकी थिएँ ।’ पानीको अभाव रहेका गाउँमा ठुलो योजना बनाएर खानेपानी उपलव्ध गराउने प्रयास गरिएको भएपनि निकै लामो समयदेखिका प्रयास असफल हुँदै आएका थिए । बिस बर्ष पहिला साविकको पाला गाविसको तितौरेबाट पानी ल्याउने योजना बनाईएको भएपनि यि गाउँहरुमा पानी पुग्न २० बर्ष लाग्यो । द्धन्द्धको समयमा जनप्रतिनिधि नभएको र ठुलो योजना भएकाले सञ्चालनमा विविध बाधा ब्यबधान आईलागेकाले योजना सम्पन्न गर्न कठिन थियो ।
अहिले पनि ती सबै गाउँमा खानेपानी पर्याप्त त छैन् तर दिनमा एक दुई गाग्री भएपनि पानी भर्न पाएकोमा स्थानीय हर्षित छन् । ‘खिमराज सरलाई देख्दा बेस्सरी गाली गर्ने मेरी बुहारी अचेल खुसी छे ।’ बागलुङ नगरपालिका–६ का वडा अध्यक्ष खिमराज सापकोटालाई लक्षित गर्दै सानोलंगाउँकी पृथ्वीकला थापाले भनिन् ‘अचेल बुहारीले उहाँलाई देख्दा खुसी व्यक्त गर्ने गरेकी छ ।’
स्थानीय उपभोक्ताको २० प्रतिशत र बागलुङ नगरपालिकाका ८० प्रतिशत लगानीमा ८ किलोमिटर परबाट पानी ल्याएर चार गाउँमा खानेपानी वितरण गरिएको छ । यो योजना कुल ७७ लाखको लागतमा सम्पन्न भएको हो । चारवटै गाउँमा धेरथोर पानी पुगेको भएपनि एक घर एक धारा कार्यक्रमअन्तर्गत १५६ धारा बनेका छन् ।
एक बर्ष पहिले पुरानो अल्झेको योजनालाई पुनः सञ्चालनमा ल्याएर सुख्खा गाउँमा खानेपानी पु¥याईएको हो । ‘सुख पाउने गरी त पानी आएको छैन्’ बानपा–६ तीनतलेकी नन्दकली सापकोटाले भनिन् ‘अहिले धरामा आउने पानीले घाँटी भिजेको छ ।’ दिनमा एक पटक दशपन्ध्र मिनेट मात्रै आउने पानीले सामान्य घरका कामका लागि र खाना पकाउन तथा भाँडा धुन चल्ने गरेको उनको भनाई थियो ।
धारामा आएको पानीले नपुग्नेहरुले गाउँ छेउछाउमा रहेका कुवा तथा पोखरीको पानीको प्रयोग गर्ने गरेका छन् । लुगाधुने नुवाउने, पशुचौपायलाई खुवाउने पानीको लागि अझैपनि समस्या रहेको सापकोटाले बताईन् । नजिकमा पानीको मुहान नरहेको र टाढाबाट पानी ल्याउँदा ठुलो रकम खर्च हुने भएकाले सानातिना योजना सञ्चालन गरेर यहाँका सर्वसाधारणलाई पानी उपलव्ध गराउन कठिन हुने वडा अध्यक्ष सापकोटाले बताए ।
पानीको अभाव रहेको तल्लो भेगका गाउँहरुमा काठेखोलाको पानी लिफ्टीङ गरेर बितरण गर्ने योजना बनाएको उनले बताए । बागलुङ बजारमा खानेपानी उपलव्ध गराउने गरी सञ्चालनमा रहेको लिफ्टिङ योजनालाई केही माथि उठाएर सबैघरमा पर्याप्त पानी पुग्नेगरी एक घर एक धरा निर्माण गरिने उनले बताए । ‘तल्लो भेगमा लिफ्टिङको पानी उपलव्ध गराउन सकियो भने अहिले बितरण भैरहेको पानी थप उपल्लो भेगमा जान्छ’ सापकोटाले भने ‘अबको दुई बर्षमा कसैले गाली नगर्ने गरी खानेपानी पु¥याउने लक्ष छ ।’
वडा कार्यालय र नगरपालिकाको सामान्य पहलले मात्रै पानीको उपयोगमा केही सहज भएको भन्दै स्थानीयले पानी पर्याप्त बनाउनका लागि थप पहल र योजना बनाउन स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारसँग माग गरेका छन् । ‘पानीकै कारण बसाई सर्नुपर्ने अवस्था थियो, अहिले केही सहज भएको छ’ स्थानीय सुरत केसीले भने ‘पानीको सहजताका लागि स्थानीय तहले दिर्घकालिन सोच बनाउन ।’
व्यवसायीक भैंसीपालन गरिरहेका केसीले दिनमा केही समय मात्र धारामा आउने पानीले अपर्याप्त हुने गरेको गुनासो गरे । पानीको अभावका कारण यहाँका विद्यालय, सामाजिक संस्था, सार्वजनिक निकाय समेत प्रभावित हुने गरेका छन् । नगरपालिकाले एक घर एक धारा कार्यक्रम सञ्चालन गरिरहेकाले सुख्खा गाउँमा पानी पर्याप्त हुने गरी योजना बनाएर अघि बढिने नगर प्रमुख जनकराज पौडेलले बताए । केही साना योजनाहरुको काम तत्काल थालिने र ठुलै योजना बनाएर पानी ल्याउनु परेमा प्रदेश सरकार तथा केन्द्र सरकार सँगको सहकार्यमा योजना बनाईने उनले बताए ।

तस्वीर सौजन्यः कृष्ण सापकोटा