बजारतन्त्रको सम्मुख उभिएर

संविधानमा समाजनवादको प्रस्तावना छ, मुलुकमा कम्युनिष्ट पार्टीको दुईतिहाईको सरकार छ तर जीवनमा हिजो जस्तै आज पनि उत्तरआधुनिक बजारतन्त्रको बर्बरता यथावत छ । उत्तरआधुनिक उपभोक्तावादी पूँजीवादी समाजको विशेषता भनेकै बजार हो । बजारले बबण्डर हल्ला मच्चाउँछ र क्षणभरमै कालोलाई सेतो र सेतोलाई कालो बनाइदिन्छ । बजातन्त्रले मान्छेलाई सेलिब्रेटी बनाइदिन्छ क्षणमै धुलिसात् बनाईदिन्छ । यसो किन र कसरी हुन्छ ? प्रश्नभन्दा यसको उत्तर सरल छ । बजारतन्त्रले मान्छेको दिमागलाई भुत्ते बनाईदिन्छ । रंगीन दुनियाँ र मोजमस्तिमा युवाहरुको दिनचर्या बितिरहेको हुन्छ । श्रमको वास्तविक मुल्य र महत्व बजारतन्त्रमा केवल प्राण बचाउने र मस्ति गर्ने हदसम्म मात्र परिभाषित भईरहेको हुन्छ ।

परिणाम एकाएक तरकारीवालीहरु, चटपटवालीहरु, गिट्टिवालीहरु, ठेलावालीहरु, रिक्सा र टेम्पोवालीहरु जन्मिन्छन् र ती रातारात उत्तरआधुनिकतावादी संस्कृतिको सिकार बन्छन् । तिनको आत्माको गहिराई र त्यसको खास सुन्दरतालाई ती बोल्नै नदिई कसाईशैलीमा हत्या गरिदिन्छन् । तरकारीवाली या ठेलावाली वा रिक्सावाली भनिरहेकी हुन्छे म नर्स बन्न चाहन्छु । काठमाण्डौमा मलाई नर्स पढ्ने वातावरण बनाईदिनुस न । बजारतन्त्र उसलाई अर्धनग्न बनाईदिन्छ । फुस्रा गालालाई क्रिम दलेर चिल्ला बनाईदिन्छ र उसलाई बिरालाको शैलीमा हिँड्न लगाएर सेलिब्रेटीको नयाँ नाम उसको निधारमा टाँसेर जीवनको गरिमा, श्रमको महत्व र त्यसको सुन्दरतालाई हत्या गरिदिन्छ । बजारतन्त्रले मान्छेको मस्तिष्कलाई यसरी विनष्ट गरिदिन्छ की मान्छे टाउकामा गिदी भएर पनि उ नितान्त स्वार्थी र व्यक्तिवादी भएर बाँच्नुमा जीवनको सच्चाई देख्न पुग्छ । अफशोच !

हजारौँ लाखौँ फुलमायाहरु ती जीवनको वयलगाढा माटोसँग गाँसिएरै गुडाईरहेका छन् । तिनले अनवरत बगाईरहेको पसिनाको सम्मान बजारतन्त्रले गर्न सकिरहेको छैन । कारण बजार जहिल्यै नाफा खोजिरहेको हुन्छ । रातारात शिखरमा पुग्ने गरी उसले बल्छि हानिरहेको हुन्छ । अर्कोतर्पm साहित्य, कला, संस्कृति आदिमा बजारतन्त्रको आक्रमण हाम्रो समयको सबै भन्दा खतरनाक कुरो हो । साहित्य, कला र संस्कृति नै मान्छेको आदिम पहिचानको सबै भन्दा महत्वपूर्ण पाटो थियो । जीवनको निर्माण र विचारको निर्माणमा सबै भन्दा महत्वपूर्ण भूमिका साहित्य, कला, संस्कृति र भाषाको रहेको हुन्छ । बजारतन्त्र उत्तरआधुनिक उपभोक्तावादी संस्कृतिको घोडा चढेर जनताको साहित्य, कला र संस्कृतिप्रति निर्मम प्रहार गरिरहेको छ र त्यसले बजारको रक्षा गरिरहेको छ । परिणाम कुनै जमाना युधिर थापा, प्रकाश कोबिद, बसन्त थापा, सुभाष घिसिङहरुले प्रयोग सकेको आख्यानलाई नयाँ शैली, शब्द जोडगास, नयाँ कागज र प्रकाशकको स्वरुपमा बजारमा हल्ला मच्चाईरहेको छ । युवाहरु ती खाली दिमागमा प्रेमका घटिया शब्दहरु कोचेर ती उत्साहसाथ दुरको यात्रामा छन् । तोरी लाहुरे गीत सङ्गीत र शौन्दर्यकलाले तिनको दिमाग भुटिरहेको छ । तर ती बबुरा उत्तरआधुनिक जीवन शैलीको गर्तमा भासिदै गईरहेका छन् । परिणाम शासकहरु युवाहरुलाई बेचिरहेका छन् विदेशी कम्पनीहरुलाई र आप्mनो भविष्य सुरक्षित गरिरहेका छन् । युवाहरु ती बेचिइरहेका छन् बजारसँग । बेचिनु तिनको बाध्यता पनि हो । र तिनले आर्जन गरेको शिक्षा, तिनले सिकिरहेको संस्कार, संस्कृतिको कारक पनि हो ।

राजनीतिज्ञ ती स्वयम् दाश बनिरहेका छन् बजारसामु । विशेषत कम्युनिष्ट पार्टीहरु र तिनका नेतृत्व ती आफुलाई उदारवादी या प्रयोगवादीको स्वरुपमा पूँजीवादी उत्तरआधुनिकतावादी दलदलमा भासिईरहेका छन् । कम्युनिष्ट पार्टीहरुभित्र सर्वहारावादी संस्कृति, माक्र्सवादी शौन्दर्यशास्त्र र द्धन्द्धात्मक भौतिकवादी संस्कृति लोप भइरहेको छ र त्यसको ठाउँमा उत्तरआधुनिक बजार स्थापित भईरहेको छ परिणाम कम्युनिष्टहरु राजनैतिक सत्ताको प्राप्तिको लागि बाकस र पैसामा ती निर्भर बन्दै गइरहेका छन् । माक्र्सवादको सिर्जनात्मक प्रयोगको नाउँमा विकृत पूँजीवादको प्रयोग गर्नु र आम पार्टीपङ्तिमा त्यसैको अभ्यास गराउनुले कम्युनिष्ट पार्टी ती धर्मशालामा रुपान्तरित बन्दै गईरहेका छन् । पार्टीभित्र सर्वहारावादी संस्कृति, माक्र्सवादी दर्शन, कला र साहित्यमा प्रगतिशीलताको हत्या त्यसले पुष्टि गर्छ कम्युनिष्ट पार्टीहरु उत्तरआधुनिक पूँजीवादको दलाली गरेर जीवनको अपनत्व र पैसा, प्रतिष्ठा र सत्ताको प्राप्तिको खेलमा मरिमेटिरहेका छन् । परिणाम सर्वहारावादी संस्कृतिले हारिरहेको छ । एकप्रकार जीवनले हारिरहेको छ । विचारले हारिरहेको छ ।
बजारतन्त्र त्यहो कहाँ छैन ? किसानको तरकारी बारीमा बजारतन्त्र ताण्डब मच्याईरहेको छ । किसान दुःख गरिरहेको छ बजातन्त्र त्यसले लुटेर सुख भोग गरिरहेको छ । किसानको खेत खलियान बजारतन्त्रले कब्जा गरिरहेको छ । किसानका बच्चाहरु ती भोकै नाङ्गैछन् तिनले गतिलो पाठशालामा पढन् सकिरहेका छैनन् तर बजारतन्त्रको जामा पहिरेका दलालहरु ती किसानको रगत पसिनामा दाइँ हालिरहेका छन् । शिक्षामा बजारतन्त्र रजगज मचाई रहेको छ । स्वास्थ्यमा बजारतन्त्र लुट मचाईरहेको छ । यातायातमा बजारतन्त्र गुण्डागर्दि र सिण्डिकेट चलाईरहेको छ । ठेकेदारी धन्दामा बजारतन्त्र, हावामा बजारतन्त्र, पानीमा बजारतन्त्र, मर्नु र बाँच्नु दुवैमा बजारतन्त्र त्यसले आप्mनो उपस्थिति जनाईरहेको छ ।

अफशोच ! उत्तरआधुनिक बजारतन्त्रको सम्मुख हामी निरिह प्रतित भईरहेका छौँ । जीवनवादीहरु, दर्शनवादीहरु, द्धन्द्धात्मक भौतिकवादीहरु ती स्खलित बनिरहेका छन् । जब दुनियाँ बदल्ने दर्शनका व्याख्या गरिरहेका छन् स्वयम तिनीहरु नै पलपल मरिरहेका छन्, घर घडेरी, गाडी र बैंक ब्यालेन्समा ती बेचिईरहेका छन्, नागरिक बबुरो त्यसको के मुल्य छ ? जीवनको अर्थशास्त्रले डसिरहेका आम मान्छे त्यसको जीवनको के मुल्य हुन्छ र ? बजारतन्त्र सामु आत्मसमर्पण गरेर बाँच्नु शिवाय उसँग शेष के बाँकी रहन्छ ? बजारतन्त्रको सम्मुख उभिएर म समयको नदिमा बगिरहेका ज्यूँदा लाशहरुको उत्सव हेरिरहेको छु, त्यहाँ माक्र्सवादको ग्रन्थ घोकेर राजनीतिको रोटी सेक्नेहरुको ताण्डव चलिरहेछ के समय यसरी नै चलिरहन्छ ? मान्छेको चेतनामा शब्दको खेती गरेर नेपाली कम्युनिष्ट आन्दोलन चोमोलुङ हिमालको आरोहण गरिरहनेछ ? चेतना भया !
(लेखक बागलुङे प्रगतिशिल लेखक संघ बागलुङका अध्यक्ष हुन् ।)