बागलुङमा पनि कानुन दिवस मनाईयो

बागलुङ, २७ वैशाख – उच्च अदालत पोखरा, बागलुङ इजलासका मुख्य न्यायाधिस शेषराज सिवाकोटीले कानूनी शासनबाट जनताले शान्ति पाउने बताएका छन् । मुलकी संहिताको पूर्ण पालनामार्फत जनतालाई न्याय दिन न्यायाधिस, कानून व्यवसायी, प्रहरी, सरकारी वकिल र नागरिकसमाज तयार बन्नुपर्ने उनले बताए । नागरिक अधिकार ऐन २०१२ देखि नागरिकको पक्षमा आएका हरेक कानूनको पूर्ण पालना गरेर जनतालाई सम्मानित भएर बाच्न पाउने अधिकार रक्षामा सबैको समान चासो बढ्नुपर्नेमा उनले जोड दिए ।

२००८ सालमा पहिलो पटक नेपालमा सर्वोच्च न्यायालय ऐन आएको थियो । उक्त ऐन अनुसार पहिलो पटक सर्वोच्च न्यायालय गठन भएको र न्यायाधिस नियुक्ती भएर काम शुरु भएको सम्झनामा कानून दिवश मनाउने गरिन्छ । बिहिबार ६६ औं कानून दिवश आयोजना गरिएको हो । दिवशको अवसर पारेर सहभागिले जनताको अधिकार स्थापितका लागि सबै क्षेत्रले समान काम गर्दा कानूनको सम्मान हुने र जनताले न्याय पाउने बताएका थिए । भदौ १ देखि लागू भएको मुलकी संहिताको सही कार्यान्वयनले गणतन्त्र संस्थागतमा सहयोग पुग्ने समेत कानून व्यवसायीले बताए । कार्यक्रममा बरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले नागरिकलाई शोषणबाट मुक्ति दिन कानून र न्याय स्थापित हुनुपर्ने बताए ।

स्वतन्त्र न्यायपालिकाका लागि २००८ सालमा तत्कालिन गृह मन्त्री बीपी कोइरालाले भारतमा कानून व्यवसाय गरेका हरिप्रसाद शर्मालाई नेपाल भित्राएर प्रधानन्यायाधिस बनाएको र प्रधानन्यायालय ऐन लालमोहर लागेको दिनको स्मरणमा कानून दिवश मनाउने गरिएको शिवाकोटीले बताए । उच्च अदालत बागलुङ ईजलासका न्यायाधिस हरिप्रसाद पौडेलको अध्यक्षता, जिल्ला अदालतका स्रेस्तेदार भेषराज पौडेलको संचालन र उच्च अदालतका रजिष्ट्रार धु्रबप्रसाद ढकालको स्वागतमा सम्पन्न कार्यक्रममा मरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा, अधिवक्ताहरु काजी गाउँले श्रेष्ठ, राजु गौतम, केशव पराजुली, हरिप्रसाद शर्मा, प्रजिअ लुकबहादुर क्षेत्री लगायतले बोलेका थिए ।