अन्नपूर्णमा पहिलो पाइला

मैले हिमाल चढेको बेला पश्चिमी मुलुकतिरबाट नेपाल जाने प्रचलन व्यापक थिएन । नेपालीले पश्चिभी मुलुकका गोरा मानिस निकै कम देखेका हुन्थे वा देखेकै हुन्थेनन् । गाउँलेहरु हामीलाई हेर्न आउँथे । यी कसरी सेता भए भनेर नजिकै आएर नियाल्थे र हाम्रो शरीर छाम्थे । हामी कस्ता मानिस हौं भन्ने उनीहरुमा कौतुहलता देखिन्थ्यो । हामी जहाँ पुगे पनि लौ गोरो छाला भएका मानिसहरु आएका छन् रे, हेर्न जानुपर्छ भन्दै गाउँमा हल्लीखल्ली हुन्थ्यो । कोही चाहिँ अलि परैबाट लुकेर हेर्थे । जुन गाउँमा पुग्दा पनि गाउँलेहरु स्वागत गर्न आउँथे र दुवै हात जोडेर नमस्कार टक्र्याउँथे । बच्चाहरु चाहिँ हामीलाई देखेपछि दगुर्दै भाग्थे ।

मैले देखेको नेपाल र अहिलेको नेपाल त के तुलना गर्नु र । केही पनि मिल्दैन । त्यतिबेला र यति बेलाको नेपा तुलना गर्दा उही देश हो र ? जस्तो हुन्छ । त्यतिबेला नेपाल तुलना गर्दा उही देश हो र ? जस्तो हुन्छ । त्यतिबेला नेपाल पश्चिमी मुलुकका लागि पुरै अज्ञात थियो । एशियाली मुलुकका केही नक्साहरु त पाइन्थे । तिनमा नेपाल भन्ने नाम मात्रै उल्लेख हुन्थ्यो । नेपालभित्र के के छ, कुन ठाँउ कता पर्छ र के हो भन्ने चाहिँ पुरै खाली हुन्थ्यो । हामीले पहिलो पल्ट नेपालको यात्रा गर्दा ठूला सडक थिएनन् । बस्ती पनि स–साना थिए । साना गोरेटा र झोलुङगे पूलहरु देखिन्थे । राजधानी काठमाडौंमै पनि गाडी थिएनन् ।

त्यो बेला नेपाल पस्न गाह्रो थियो तर पसेपछि जहाँबाट छिरेर जता गए पनि हुन्थ्यो, भिसा चाहिँनथ्यो । हिमालका लागि भनेर छुट्टै नियम र कानुन थिएन । हताकर्ता राजा थिएनन्, महाराज थिए । तिनै महाराजा मोहनशमशेर जंगबहादुर राणाले हामीलाई हिमाल चढ्ने अनुमति दिएका थिए । त्यो बेला नेपाल प्रवेश गर्ने अनुमति पाएपछि हिमाल आरोहण गर्ने अर्को अनुमति लिनै पर्दैनथ्यो । त्यसैले हामीलाई नेपालका हिमाल छान्ने अवसर थियो । हामीले पनि सगरमाथा नै ताक्यौं । सो समयमा बेलायतीहरुले सगरमाथा उक्लने बाह््रौं प्रयास गर्दै थिए । उनीहरुले सगरमाथा चढ्नको लागि धेरै नै तालिम गरिरहेका थिए । बेलायती जर्ज हन्ट् र सर्एड्मण्ड् हिलारी पनि मेरा साथी नै थिए । उनीहरुले भने,– “हामीले तिब्बती मोहडाबाट पनि पटक–पटक कोसिस ग¥यौँ, अहिलेसम्म सकेनौं, अब एकपटक हाम्रा लागि छोडिदिनोस् ।” त्यो आग्रहपछि ‘त्यसो भए यो पटक तपाईंहरुलाई मौका भयो, तपाईंहरुले नसके अर्कोपटक हामी चढ्छौं, भन्दै हामी अन्नपूर्णतिर लाग्यौं । हामी सगरमाथा चढ्न गएको भए उनीहरुलाई धोका दिएको जस्तो हुन्थ्यो । अन्नतः हामीले सन् १९५० मा ८ हजार ७५ मिटरको अन्नपूर्ण जेठो चढ्यौं, तिनले तीन वर्षपछि सन् १९५३ मा सगरमाथा चढे ।

संसारभरि हल्लीखल्ली
अन्नपूर्ण र धौलागिरीमध्ये कुन हिमाल चढ्ने भन्ने सल्लाह हुँदा हामीले अन्नपूर्ण छान्यौँ । आरोहण गर्न कठिन भएकोले पनि हामीले अन्नपूर्ण नै छानेका थियौँ । सगरमाथा सबैभन्दा अग्लो भए पनि अन्नपूर्ण त धेरै ठाडो र खतरापूर्ण पनि छ । हिमपहिरो धेरै आउँछ । जे होस्, त्यो एउटा ज्यादै ठूलो साहसिक आरोहण थियो । हामीले अन्नपूर्ण आारोहण गरेपछि, फ्रान्सेलीहरु ८ हजारभन्दा अग्ला हिमालमा गए, हिमालमा फ्रान्सेली झण्डा फहराएः ती त्यत्रो हिमाल कसरी चढेः उनीहरु को हुन् ? भनेर संसारभरी हल्लीखल्ली मच्चियो । नेपालका अग्ला हिमाल पनि चढ्न सकिने रहेछ भनेर संसारभरिका मानिसहरुको आँखा खुल्यो । त्यतिबेलासम्म नेपालीहरु भारतमा र भारतीयहरु नेपालमा आउने–जाने गर्थे । त्यसमा कुनै समस्या थिएन र को आयो, को गयो भन्ने मतलब पनि हुँदैनथ्यो तर हामीहरुको बारेमा भने सोध–खोज हुन्थ्यो । त्यतिबेला नेपाल पस्न पश्चिमीहरुका लागि सजिलो थिएन । को आए, को गए, किन आए भनेर बढी निगरानी हुन्थ्यो ।

पण्डित जवाहरलाल नेहरुसँग मेरा चिनजान थियो । उनी भन्थे,– भारत सबैकोा जननी हो । त्यतिबेला टुक्रिन चाहेको पाकिस्तान र भारतबीच संघर्षहरु भइरहेका थिए । त्यसले गर्दा पनि उनीहरु पश्चिमाहरुलाई बढी चियोचर्चो र कडाइ गर्थे । भारतीयहरु नौला मानिसलाई अति नै शंका गर्थे । त्यस्तो बेलामा नेपाल पस्ने पहिलो इजाजत पाउने पश्चिमी मानिस हुनु हाम्रो पनि भाग्यकै कुरा थियो । हामीलाई विश्वका अग्ला हिमालहरु नेपालमा छन् भन्ने थाहा थियो किनकि बेलायतको भौगोलिक मापन सेवाको कार्यालय भारतमा थियो । तयसले सबै भएकोले त्यो नाप्ने काम उनीहरुले भारतबाटै फत्ते गरेका थिए । विश्वको सर्वोच्च शिखर सगरमाथा हो भन्ने उनीहरुले नै पत्ता लगाएका हुन् । त्यो मापन गर्ने सर जर्ज एभरेष्ट भन्ने मानिस थिए र उनैको नामबाट त्यसलाई एभरेष्ट भन्न थालिएको हो । त्यतिबेला दिल्लीस्थित बेलायती भौगोलिक मापन कार्यालयमा उनै प्रमुख थिए । पछि आफ्नोपन दिनका लागि नेपालीहरुले एभरेष्टलाई सगरमाथा नाम राखे । त्यसको वास्तविक नाम र चोमोलोङ्मा हो । स्थानीय तिब्बती भाषाको यो नाम नै मलाई पनि सगरमाथा र एभरेष्टभन्दा मिठो र मौलिक लाग्छ ।

चार महिनाको तयारी
नेपालमा ८ हजार मिटर अग्ला दस शिखर छन् । तीमध्येको एउटा हो अन्नपूर्ण । हामीले यस क्षेत्रमा जाने निधो ग¥यौँ र बाटो लाग्यौं । कालीगण्डकीको किनारै–किनार भएर जाँदा टुकुचे पुग्न तीन हप्ता लाग्यो । भारतबाट नेपालको सीमासम्म गाडीमा र त्यसपछि नेपाल–भारत सीमा क्षेत्रबाट चाहिँ पैदलैपैदल बुद्धको जन्मस्थल लुम्बिनी हुँदै बागलुङ भएर धौलागिरी क्षेत्र पुगेका थियौं । हामीसँग सगरमाथा क्षेत्रका नौजना शेर्पा र तीनजना गाइड थिए । उनीहरु निरन्तर हाम्रै साथमा रहिरहे । एकजना चिकित्सकलाई पनि सँगै लगेका थियौं । भारतस्थित फ्रन्सेली राजदूतावासका कूटनीतज्ञ फँसिस द नोइएल पनि थिए । उनी अलिअलि गोर्खा भाषा बोल्थे । त्यो समयमा अङ्ग्रजी बोल्ने नेपाली पाइँदैनथ्यो । त्यसैले शेर्पा खोज्ने काम नोइएलले गरे । त्यतिबेला पर्यटनको विकास भएको थिएन । शेर्पाहरु नाम कमाउन हिमाल चढ्ने चलन पनि थिएन । त्यसैले शेर्पा खोज्ने काम पनि सजिलो थिएन । आङ् थार्के शेर्पो भन्ने एकजना मूली शेर्पा खोजियो । बाँकी शेर्पा उनैले बटुले । ती एकदमै विश्वासिला, इमान्दार र नाम चलेका शेर्पा थिए । हाम्रो समूहमा मार्सेल भन्ने सिनास्थका अर्का उक व्यक्ति थिए । फोटो खिच्ने, सिनेमा बनाउने सबै काम उनैले गरे ।

आरोहणका लागि तयारी गर्न पनि हामीलाई चार महिना लाग्यो । खानालगायतका सबै सामान यहाँबाटै लानुपर्ने भएकोले तयारी पनि व्यवस्थित नै गर्नुपर्ने थियो । नेपालमा त्यति बेला त्यस्ता सामान केही पनि पाइँदैनथ्यो । ओ हो, सामान त कतिकति । आठ टन त विमानमा राखेर यहींबाटै लगिएको थियो । विदेशीले के खान्छन् ? भन्ने पनि नेपालीहरुलाई थाहा थिएन । हामीले त जे गरे पनि त्यहाँ नौलो हुन्थ्यो । त्यतिबेलै पनि ८ हजार मिटरको अन्नपूर्ण हिमाल प्रसिद्ध थियो । ८ हजार मिटर अग्लो हिमाल चढ्नु जोखिमपूर्ण हो भन्ने हामीलाई थाहा थियो तर पनि हामी सबै उच्च हिमालको अनुभवका लागि जोखिम मोल्न तयार भयौं । हामीले त्यो उचाइको हावापानी, हिमाल चढ्ने तौरतरिका र अक्कलबारे पूर्ण ज्ञान लिएका थियौं । हामीले निकै राम्रो तयारी गरेका थियौं ।

आरोहणका क्रममा मर्न पनि सकिन्छ भन्ने भय त थियो नै, तैपनि सफलतापूर्वक काम फत्ते गरेर कुशलतापूर्वक फर्किन पाऊँ भन्ने कामना गर्दै हामी फ्रान्सको बुर्जे विमानस्थलबाट उडयौं । हामीलाई भारतको दिल्ली पुग्न विमानमा तीन दिन लाग्यो । हामीले लगेको विशेष विमान हाम्रो आरोहणकै लागि मात्र गएको थियो । हामी मार्च महिनामा गएर जुलाई महिनामा फर्कियौं । पाँच महिना लागेछ । २ सय ५० जना त भरिया थिए । एकथरीले तीन–चार दिन भारी बोक्दा अर्काथरीले आराम गर्थे । यसरी तीन–चार दिनको फरकमा आलोपालो गरेर उनीहरुले सामान बोकेका थिए । पहिलोपटक नेपालको हिमाल चढ्न गएकोले कस्तो छ, कहाँ बढी खतरा छ, कसरी चढ्ने ? भन्ने जानकारीहरु बाहिर आएका थिएनन् । यो हिमाल अप्ठेरो र अति नै जोखिमपूर्ण छ भन्ने थाहा थियो र जोखिमको अनुमान पनि गरेका थियौं । यसो भए पनि चढ्न सकिँदैन कि भन्ने दोधारे मन गरेनौँ । हाम्रो मनमा चढेरै छोड्ने र सफल हुने दृढता थियो ।

अन्नपूर्ण हिमाल चढ्ने बेला मेरो उमेर ३१ वर्षको थियो । टोलीको सबैभन्दा पाको मै थिएँ । हुनतः त्यो फ्रान्सेलीका लागि विवाहित भैसक्ने उमेर थियो तर मैले चाहिँ त्यत्रो जोखिपूर्ण आरोहण जानु छ के हुन्छ के हुन्छः किन अर्काको जीवनलाई दुःख दिने भनेर विवाह नगरी बसेको थिएँ । हाम्रो समूहका नौ जनामध्ये मसँगै चुचुरोमा गएका लास्नाल र म घाइते भयौं । मलाई बोकेर ल्याइयो । त्यो आरोहणको ज्यानै त लिएन तर जीवनभर अपांग बनायो । हिउँले खाएर मेरो दुवै गोडा गुमे । कुर्कुच्चाको अलिकति भाग बाहेक सबै हिउँले खायो । तलुवा खाली भएको कृत्रिम जुत्ता लगाउँछु । दवै हातका औँला पनि हिउँले बाँकी राखेन । सँगै गएका डाक्टरले सक्दो उपचार गरे । फर्किदा दिल्लीमा उपचार गरियो । नेपाल र भारतमा त्यतिबेला त्यति राम्रो उपचार नभएकोले फ्रान्स आएर लामो समयसम्म अमेरिकी अस्पतालमा उपचार गराएँ ।

महाराजको सम्मान
हिमाल चढिसकेपछि हामी दिल्ली फर्किनेवाला थियौं । बाटैमा महाराजा मोहनशमशेरले भेट्न निम्ता पठाएको खबर आयो । अधिकांश साथीहरु उही बाटो भएर दिल्लीतर्फ लागे । म चाहिँ महाराजालाई भेट्न भनेर डाक्टर हुदो मार्सेल स्याकसहित काठमाडौंतिर लागें । महाराजासँग भेट हुँदा हामीले हिमाल चढेको महिना दिन जति भएको हुँदो हो । हातखुट्टा हिउँले खाएकोले म हिँड्न सक्ने अवस्थामा थिइनँ । त्यसैले मलाई बोकेर काठमाडौं लगिएको थियो । अरु साथीहरुले चाहिँ मलाई दिल्लीमा पर्खेर बसे । मलाई आफुले हिमाल चढेको देशको महाराजाले मोहनशमशेरले दरबारमा एउटा समारोह नै आयोजना गरे । उनका नयायाधीशहरु पनि वरिपरी थिए । उनी पछिका दोस्रो तेस्रो दर्जाका महाराजाहरु पनि सँगै थिए । सरकारी उच्च अधिकारीहरु पनि उपस्थित थिए । त्यो एउटा ज्यादै रमाइलो उत्सव थियो ।
महाराजाले फ्रान्सेली र अंग्रजी दुवै भाषा नजान्ने । हामी गोर्खा भाषा र हिन्दी नजान्ने । त्यसैले दोभाषेमार्फत् मोहनशमशेरले हामीलाई सम्मान गरे । उनले भने तपाईहरुले नेपालका लागि ठूलो काम गर्नुभयो । यो ठूलो बहादुरी हो । तपाईहरु साहसी हुनुहुँदोरहेछ । विश्वभर नेपालको नाम फैलाइदिनुभयो । तपाईहरुलाई धेरै धेरै स्याबास । उनले मलार्य गोर्खा क्रस (ला ख्वा द ला गेर्) पदक पनि दिए । आजसम्म त्यो पदक पाउने म एक मात्र विदेशी हुन पाउँदा मलाइ गर्वको अनुभूति हुन्छ ।

हिमाली छोरो
मलाई नेपालका हिमालले त्यत्तिकै आकर्षित गरेका होइनन् । म अन्नपूर्ण त्यत्तिकै चढेको पनि होइन । म हिमाली भागमै हुर्केको हुँ । मेरो बालककालको थलो फ्रान्सको सामोनीमा धेरै हिमालहरु छन् । ती होचा भए पनि सुन्दर छन् । मैले ४ हजार ८ सय दश मिटर अग्लो यूरोपेली आल्पस क्षेत्रको सर्वाधिक अग्लो हिमाल मो ब्लँ आरोहण गरिसकेको थिएँ । मो ब्लँ हिमालय क्षेत्रका हिमालहरुभन्दा धेरै होचो छ तर हाम्रो लागि अग्लो त्यही हो । त्यतिबेला त्यही हिमालमाथि विजय हासिल गर्न पनि मुस्किल थियो । तिनै हिमालहरुलाई जितौंला भनेर म युवा हुँदा हिउँ चिप्लेटी खेल्थेँ । हिउँसँगै दगुर्थें, हिउँमै पल्टनबाजी खेल्थें । हिमपहिरोका आवाजहरु सुन्थें । अहिले अनेक सम्झना आउँछन्– कहिले हिउँसँगै रमाइन्थ्यो त कहिले भागिन्थ्यो । भिराला जमीनबाट घसारिँदै तल झरिन्थ्यो । अनि आहा अग्ला हिमाल चढ्न पाए…भन्ने लाग्थ्यो । ठूलो हिमाल चढ्ने सपना मनमा कतै गढेर लुकेको थियो । हिमालका दृश्यहरु हेर्दा, तिनीहरुसँग बस्दा, खेल्दा र भाग्दाभाग्दै मैले हिमाल चढ्ने तौरतकिाबारे जानेका थिएँ । मैले युवाकालको धेरै समय हिमाल आरोहणका अक्कल सिक्दै खर्चिएको थिएँ ।

साहस–प्रचारक मन्त्री
त्यसो त म राजनीतिज्ञ पनि हुँ । युवा तथा खेलकुदमन्त्री पनि भएँ । मेरा लागि रानीति र आरोहण दुवै सोखका तर नितान्त भिन्न क्षेत्रका विषय हुन् । राष्ट्रपति चाल्र्स द गोलको सरकारमा म आठ वर्ष मन्त्री भएँ । मैले हिमाल चढेपछि फ्रान्सेली युवाबीच त्यो साहसी कामको वर्णन र व्याख्या गराउन गोलले मलाई मन्त्री बन्न प्रस्ताव गरेका थिए । गोलले मलाई भनेका थिए, हिमालय क्षेत्रका त्यति अग्ला हिमाल पनि चढ्न सकिन्छ भनेर तपाईंहरुले नै सारा संसारका अगाडि प्रमाणित गरेर देखाइदिनुभयो । फ्रान्सेलीहरुको आँट र साहस देखाइदिनुभयो । इज्जत बढाउनुभयो । ती अनुभव आफुमै मात्र सीमित राख्नु हुन्न । नेपालको बारेमा आफ्ना अनुभव हाम्रा युवाहरुलाई सुनाउनुहोस् । हिमाल आरोहणको आकर्षण र महत्व के हो ? वर्णन गरिदिनुहोस् । तपाईले लिनुभएका हिमाली क्षेत्रका ज्ञान हाम्रा युवासँग बाँडेर तिनलाई पनि आर्कषित गराउनुहोस् । हाम्रा युवालाई तपाईहरुजस्तै साहसी र उत्साही बनाउनुहोस् । यस्तो इतिहास सबै फ्रान्सेलीसँग साझेदारी गर्नुपर्छ । यही भनेर उनले मलाई मन्त्री चुनेका थिए । म १७ वर्षसम्म सांसद भएँ । सामोनी नगरपालिकाको मेयर भएँ । त्यो सबै अन्नपूर्ण चढेपछिको कुरा हो ।

अन्नपूर्णको सफल आरोहणपछि मैले त्यसबारेमा लान्नापुर्ना फर्मिय उइ मिल नामक किताब लेखें । मैले लेखेको किताबले ५० लाख माथिको ध्यान तानेछ । संसारमा अहिलेसम्म सबैभन्दा बढी बिक्री भएको किताब बाईबल हो र तर सन् १९५१–५२ मा मेरो त्यो किताब निस्कनासाथ छ महिनासम्म त अमेरिकामा बाईबलभन्दा पनि बढी बिक्री भएछ । त्यसले के देखायो भने हिमालमा के भयो भनेर सारा संसारले जान्न चाहेछ । त्यो किताब थुप्रै संस्करण निस्कियो । कति संस्करण निस्कियो भन्ने चाहिँ मलाई याद छैन । मेरो त्यो किताबको एउटा पाठ फ्रान्समा १६÷१७ वर्ष विद्यार्थीको लाग पाठ्यसामग्रीमा राखिएको छ । पर्वतारोहणको क्षेत्रमा सन्दर्भ सामग्रीका रुपमा प्रयोग गरिने गरेको मेरा किताब ६० भाषामा अनुवाद भएकोले त्यसले नेपालको धेरै नै प्रचारप्रसार ग¥यो भन्ने मलाई लाग्छ । त्यो किताब संसारभर नै प्रसिद्ध भएको थियो । मैले किताब त अरु पनि लेखें तर त्यो जति लोकप्रिय भएनन् र फ्रान्सेलीबाहेक अरु भाषामा छँदैछैनन् ।

हिजोआज मन मान्दैन
हिजोआजका हिमाल आरोही देख्दा अलि चित्त बुझ्दैन । हिमाल चढ्ने नियम र आचारसंहिता हुन्छन् । हिमाल आरोहीले तिनको सम्मान र पालना गर्नुपर्छ । नत्र हिमाललाई स्वच्छ, सुन्दर र जीवन्त राख्न सकिँदैन । हामीले हिमाललाई सम्मान नगरे हिमालले पनि हामीलाई माया गर्दैन । हिमाललाई स्वच्छ राखिएन भने उसको सौन्दर्य गुम्छ । हामीले आरोहण गर्दा हिमालमा कुनै फोहोर छाडेनौं तर अहिले धेरैले हिमललाई प्रदुषित बनाएका छन् । अहिले हिमाल चढ्न सजिलै सकिने भएपछि मानिसको चाप र फोहोरका थुप्रा बढ्दै गएका । पहिले हिमाल आरोहण विशुद्ध साहसिक यात्रा थियो । मैले देख्दादेख्दै त्यो सबै बदलियो । पैसाले ठूलो भूमिका खेल्न थाल्यो । आरोहणबारे ठूल्ठूला विज्ञापन हुन थाले । हिमाल चढ्ने टोलीलाई प्रायोजन गर्ने र विज्ञापन गरेर धन कमाउने प्रचलन बढ्यो । आरोहण व्यापारको साधन बन्यो । हिमाल चढ्ने औजारहरुका लागि धेरै विज्ञापन हुन थाले । अहिले नयाँ नयाँ प्रविधि भित्र्याइएको छ ।

डोरी र भ¥याङ लगाएर चुचुरोसम्मै पुग्न थाले । त्यसैले हिमाल आरोहण पहिले जस्तो कठिन पनि रहेन । सजिलो भएपछि हिमाल चढ्नेको धुइरो लाग्ने नै भयो । हिमाल जस्तो ठाँउमा सजिलै चढ्न सकिने भएपछि किन नचढ्ने ? त्यस्ता साधनहरुले हिमाल चढ्ने दक्षता कम भएकालाई सफलता पाउन सजिलो हुन्छ । अनुभव नभएकाहरु पनि अलि सजिलोसँग चढ्न सक्ने भए । अहिले हेलिकोप्टर र खच्चडलाई बोकाएर सामान लैजान्छन् । विभिन्न खाले औषधी तयार छन् । हिमालको काखैसम्म गाडी पुग्न थाले । अन्तिम कयाम्पसम्म भारी बोकेर बाटो देखाउँदै पु¥याइदिने मानिस तयार भए । सबै अरुले गरिदिने र आफु चढ्ने मात्रै जस्तो हुन थाल्यो । हाम्रो पालमामा त खाना पनि आफुसँगै लानुपथ्र्यो । भाषा पनि कसैले बुझ्देनथे । अंग्रेजी बोल्ने मानिस पाउन मुस्किल थियो । अहिले टुप्पामा पुग्दा पनि सम्पर्क गर्न सकिने संचारसेट लिएर जान्छन् । त्यस्तो संचारसेट भएपछि लौ म विरामी परें भनेर तत्कालै हेलिकोप्टर मगाएर फर्किन सकिने भयो । हाम्रो पालमा जस्तोसुकै अवस्थामा पनि पैदलै यात्रा गर्नुपथ्र्यो । हिमालमा उकालो लागेपछि फर्केर नआएसम्मको अवस्था थाहा पाउन गाह्रो थियो । मैले हिमाल आरोहणका क्रममा जीवनमा धेरै जोखिम उठाएँ । जति अनुभव भए पनि मेरा यौवनकालमा सँगै हिमाल आरोहण सिकेका सवैजसो साथीहरुलाई पर्वतारोहणको राजधानी मानिने सामोनी क्षेत्रका हिमालले सदाका लागि लग्यो ।

अहिले त अन्नपूर्ण हिमाल चढेका साथीहरु पनि सवै बितिसके । सँगै हिमाली तौरतरिका देखे–भोगेका, जानेका, थुप्रै दुःख–सुखका दिनहरु साझेदारी गरेका साथीहरु पनि सबैजसो विते । ती मध्ये दुई जनालाई क्यान्सर लाग्यो । अन्नपूर्णको त्यो टोलीमध्ये कूटनीतिज्ञ फँसिस द नोइएल बाँकी छन् । अचेल म हिमाल सम्बन्धी अध्ययन र अन्य कामहरु गर्ने, पुस्तक लेख्ने, संघ–संस्थाका काममा खटिने गरिरहेका छु । मलाई जीवनमा सकुञ्जेल केही गरिरहनुपर्छ भन्ने लाग्छ । म आफुलाई नेपालको एक असल मित्र हुँ भन्ने ठान्छु । नेपाल मेरा दोस्रो मातृभूमि हो । म लामोसमयसम्म नेपाल र फ्रान्सबीच गहिरो मित्रका रुपमा रहें तर आफैंले भोगेको यो ५७ वर्षको इतिहासमा धेरै कुरा परिवर्तन भए । साथीहरु गुमे । सम्झनाहरु पातलिँदै गए । शारीरिक ठाँट उस्तै बाँकी रहेन । नेपाली साथीहरु फ्रान्स आउन नसक्ने रम नेपाल जान नसक्ने भएँ । नेपाल गइराख्न मन त हैसिन्छ तर अब नसकिने भयो । संसार जित्न अगाडि बढेको मान्छे अब आफैंसँग पछाडि हट्नुपर्ने दिन आए । संसार डराउने चुचुरोको शिरमा टेक्ने मेरा गोडा अब सानो थुम्को देख्दा पनि लत्रने भए । त्यसैले पहिलेका धेरै घटना अब सम्झनामै सीमित पार्नुपर्ने भएको छ । (प्रथम अन्नपूर्ण आरोही मोरिसको अरोहण अनुभव ददि सापकोटाको त्यो नेपाल पुस्तकबाट साभार गरिएकोहो ।)