धौलागिरी एफएमको उद्घोषण तालिम

बागलुङ, ३१ वैशाख – धौलागिरीको पहिलो रेडियो स्टेशन धौलागिरी एफएम ९८.६ मेगाहर्जले आयोजना गरेको एक हप्ते रेडियो प्रस्तोता, प्राबिधिक तथा पत्रकारीता तालिम सोमबार सम्पन्न भएको छ । तालिमको समापन समारोहमा बोल्दै गण्डकी प्रदेशसभा सदस्य ईन्द्रलाल सापकोटाले रेडियो प्रस्तोता तथा पत्रकारिता तालिमले व्यक्तित्व विकास तथा रोजगारीका अवसरमा सहभागिताका लागि सहयोग पुग्ने धारणा राखे ।

कार्यक्रममा एफएम सञ्चालक समितिका अध्यक्ष एवं ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमले छोटो समयमा सिकेको सिपलाई जिवन उपयोगि बनाउँदै सञ्चार क्षेत्रमा रहेका सम्भावनाहरुको उपयोग गर्न आग्रह गरे । अन्य रोजगारीका क्षेत्र जस्तै सञ्चार क्षेत्रपनि आकर्षक गन्तव्य रहेको भन्दै गौतमले ज्ञान, सिप र क्षमताको बिकास गर्दै सञ्चार क्षेत्रमा प्रवेश गर्न आग्रह गरे ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धन बहादुर परियार र नेपाल पत्रकार महासंघका सचिव राम थापा अविरल लगायतले बोलेका थिए । तालिम समापनसँगै प्रशिक्षार्थिहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । हरिनारायण गौतमको अध्यक्षता र कार्यकारी सम्पादक नविन शिषिरको संञ्चालनमा सम्पन्न भएको थियो ।