सभ्य संसदमा असभ्य सांसद…

संसद कसरी चल्छ होला भन्ने धेरै नागरिकलाई चासो हुन्छ होला । संसद भनेपछि सर्वोच्च स्थान हो जहाँ कानुन बन्छ । बिकासका कुरा हुन्छन् । खास गरी देश चल्ने निति त्यही कोठाबाट बन्छ । यो लेख लेखी राख्दा बिबिसी नेपाली सेवाको वेभसाइडमा हङकङ संसदमा झगडा साँसदहरू घाइते भन्ने शीर्षक देखिएको छ । अर्थात संसदभित्र साँसदको हात हालाहाल हुने अरू देश पनि छन् । यो साता सरकारको नीति तथा कार्यक्रममा प्रमले जवाफ दिनुपर्नेमा केपी ओलीले व्यक्त गरेका केही शब्द खास गरी निम्छरो शब्द संसदीय शब्द नभई एक प्रकारले नराम्रो शब्द हो भन्ने जीकीर भए पछि सभामुखबाट हटाउन रुलिङ गरेपछि प्रतिपक्ष शान्त भएको छ । हाल प्रम भियतनामको होचिमिन्यका गाउँ डुल्दैहुनुहुन्छ यता शब्दहरू निकालिए । संसदमा के बोल्ने के बोल्ने कुरा त कमनसेन्स भएर मात्रै पुग्दैन किन कि यहाँ बोलेका सबै कुराहरू रेकर्ड हुन्छन् । हुन त बोल्ने मात्रै होइन भ्रमण जाँदै यता देशमा करछलाको रुपमा रहेकासँग उता बिदेशमा प्रम कुम जोडेर हिड्नु पर्ने के बाध्यता पर्यो थाहा छैन ।

संसदमा सांसदहरू घुरेर सुत्नु यो चलनमा कसैलाई अनौठो लाग्दैन । नर्सरीको बच्चा स्कुलमा झुपुझुपु गरे जस्तै यता साँसद सुत्छन । त्यो बेला मात्र जाग्छन् जब क्यान्टिनमा भात तयार हुन्छ । अनि दलले नारा लगाउनु पर्छ भनेर ह्वीप लगाएको दिन निद्रा खटाएरै भए पनि नाराबाजी लगाउँछन् । संसदमा अपशब्द वा अमर्यादित वा अपमानित शब्द बोलेमा रुलिङ गरेर शब्द हटाउने होईन त्यो बोल्नेलाई त्यो दिनको सेसनबाट आउट गर्नुपर्छ जुन बेलायतको संसदमा चल्छ । सन् २०१६ मा बेलायतको संसदमा डेनिस स्निकरले तात्कालिन प्रम डेभिड क्यामरुनलाई “डजी डेभ’’ भनेपछि उनलाई सभामुखले माफी माग्न भने तर उनले नमानेपछि उक्त दिनको संसदमा उपस्थित हुन नपाउने भनेपछि बाहिरिएका थिए । यो हो संसदीय अभ्यास । हुन त संविधान निर्माण प्रकृयामा कुर्सी हानाहान गर्ने सांसद पछि मन्त्री समेत भए । हात हाल्नु र टेबुल फोड्नु नौलो रहेन । रामचन्द्र पौडेललाई गोल्छे सार्कीले दिएको झापडबाट हेर्दा पनि इतिहास कायमै राखेका छन् हाम्रा साँसदहरूले ।

संसदमा अवसर नपाएका कतिपयले बाहिर ऋषी धमलाको जनता जान्न चाहन्छ कार्यक्रममा समेत आफ्नो सोहोमत देखाएको देखिन्छ । संसदमा पहिलाचोटी पुगेका साँसदहरूले यस्तो गरेका मात्र होईन पटक–पटक मन्त्री बनेका कमल थापा जस्ता व्यक्तिले समेत अस्वभनीय व्यावहार गरेको हामीलाई थाहा छ । सुभाष नेम्वाङ सभामुख हुँदा थापाले निकै असभ्य भएर प्रस्तुत भएका थिए, पछि माफी त मागे तर उनको भित्री चरित्र भने देखियो । यो पटक गगन थापा र मिनेन्द्र रिजालको भावभङगीले संसदमा निकै तरङग ल्याएको छ । गगन थापा धेरै जसो समय सभ्य तरिकाले नै बोल्छन् । केही अघि उनी पनि दाह्रा किट्दै नाराबाजी गर्दै रोष्टम हेर्न पुगेका थिए । मिनेन्द्र रिजाल ति व्यक्ति हुन जसले पनि पटक मन्त्री बनेका लालबाबु पण्डितले ल्याएको पीरधारी कर्मचारीहरूको पासपोर्ट खारेज गर्ने प्रस्ताबमा निकै बिरोध गरेका थिए । खासमा लालबाबुले नेताहरूको पनि पीरआर भए दोहोरो लिएर बस्न नदिने छाँट देखेपछि कुर्लिएका थिए ।

काँग्रेले बेलामौकामा केपी ओलीको भाषा ठीक भएन भनेर वक्तव्य नै निकाल्छ तर भाषा र अभिव्यक्तिका सम्बन्धमा राजनैतिक विश्लेषक एवं नेपाली काँग्रेसका नेता प्रदिप गिरीले भने निकै प्रसंसा गरेका थिए संसदमै । उनले प्रम केपी ओलीलाई अधिक शास्त्रहरूको ज्ञान छ गणेशमान पछिको नेताको रुपमा चित्रण गरे । मुल्याङकन गर्ने सीमा आआफ्नै हुन्छ । संसदका छलफलमा अधिक रुपमा उपस्थित हुने र छलफलमा भाग लिने निकै थोरै संख्यामा साँसद छन् । प्रदिप गिरी भने अधिक रुपमा उपस्थित हुने व्यक्तिमा पर्नुहुन्छ । संसदमा साँसदले राख्ने तौर तरिका कति अराजक छ जुन कुरा बेलामौकामा देख्न पाईन्छ । राष्ट्रिय सभामा साँसदहरूको उपस्थिती र कार्यशैली देख्दा वृद्धाश्रम जस्तै छ । सबै थाकेका छन् । जीवनको उर्जाशील शक्ति सकिएर अब आरम गर्ने अधिक उमेरका व्यक्तिहरू छन् । संसदमा सभामुखले गर्ने व्यवहार दल हेरेर हुन्छ । सुवास नेम्वाङ सभामुख हुँदा राप्रपा एवं अन्य साना दलकाले नाराबाजी गर्दा मर्यादापालक लगाएर बाहिर पठाएर संसद चलाउँथे भने ठूला दलले नाराबाजी गरे त्यो दिनको संसद स्थगित गर्थे । अहिलेका सभामुखको प्रस्तुति त निकै कमजोर छ ।

हालै प्रमको बोली रेकर्डबाट हटाउन पनि काँग्रेसले भनेका कारण भयो अरू पार्टीले भनेको भए हुने थिएन । बहुमतको शासन भए पनि अल्पमतको कदर हुन्छ भन्छन् संसदीय अभ्यासमा तर देखिदैंन । संसदीय चरित्र कस्तो हुन्छ भनेर बिदेश घुम्ने क्रममा नेपाली साँसदहरू बेलायतको संसद पुगेकै छन् । सभामुखसँग हाम्रा सभामुखको भेट पनि भएका समाचार पढिन्छ तर बिदेशमा भेटेका कुरा देशमा लागु किन गर्दैन किन कि यो एउटा फगत बहाना हो बिदेश आउने । गत हप्ता साँसद उमा रेग्मी संसदमा बोल्दै थिएन । उनको मुखमा चुईङ्गम थियो । चपाउँदै बोल्दै थिईन । चुईङ्गमका चपाईले बोली स्पष्ट थिएन । बन पाखामा घाँस काट्न जाँदा पात बजाँउदै घाँस काटे जस्तै संसदमा साँसदहरू बोलिरहेका हुन्छ । संसदमा के छलफल भयो भित्र बसेर बाहिर निस्कँदासम्म भुलि सक्ने साँसद छन् । यिनीहरूले जनताका मुद्धामा कति बहस गर्लान । संसद कतिपयका लागी घरको बाँकी काम गर्ने स्थन बनेको छ । कतिपयलाई आफ्नो व्यवसायको काम त्यहीँ सक्नुछ । कतिपयलाई बिदेशमा आफन्तलाई फोन गर्नका लागी टेलिफोन बुथ भएको छ । कतिपयलाई जग्गा दलाल भेट्ने जक्सन भएको छ ।

दुई बर्षअघि पैसा तिरेर समानुपातिकको साँसद बनेकी निजी स्कुलकी मालिकनी गीता राणाले संसद भवनभित्र सेसन चलिराखेकै बेला आफ्नो निजी स्कुलका खातापाताको काम मजाले संसदको डेक्समा फिँदारेर काम गर्दै थिईन । उनको यो क्रियाकलाप संजाल आयो पनि तर उनले यो काम नगर्नु पर्ने भनिन बरु आँफु एकै पटक धेरै काम गर्न सक्ने र समयको सदुपयोग गरेको भनेर आँफुलाई मल्टिट्यालेण्ट देखाउन खोजी । यसरी चलेको हुन्छ संसदमा साँसदको खेतिपाती । संसदमा बोल्ने कुरा रेकर्ड हुने हुँदा बोल्ने तयारी गरेर जान्छन् कतिपय बिषयमा । तर हामी कहाँ बोल्ने तयारी होईन कि गाली गर्ने तयारी भएर जान्छन् । छेडछाडको तयारी भएर जान्छ । कतिपय कर्मचारीको “हाट’’ कोड जस्तै हाजिर ठोकेर टाप कस्छन् । यता संसद चलेकै हुन्छ आफ्नो क्षेत्र वा कतिपय बेला आँफैले जबाफ दिनुपर्नेसम्म हुन्छ तर बाहिर कुनै गैरसरकारी संस्थाको कार्यक्रममा भाषण ठोकि रहेका हुन्छन् बेलुका समाचारमा आफ्नो क्षेत्रकाले फोन गर्दा आँफु नभएको भनेर भन्नै लाज मान्दैनन् ।

बेलायतका एक मन्त्रीले संसदमा त्यस दिन आँफुले जवाफ दिनुपर्ने तालिका थियो तर त्यो दिन उनी संसद आइपुग्न केवल २ मिनेट मात्र ढिला गरेका कारण आँफैले क्षमा मागेर राजिनामा समेत दिएका थिए । यो घटनाले देखाउँछ संसदको गरिमा र साँसदको गाम्भिर्यता । हामीले संसदको गरिमा बुझ्न सकेनौ जसका कारण साँसदलाई हेर्ने दृष्ट्रिकोण समेत गलत बन्न पुगेको छ । संसदलाई सम्मान गरेर जवाफदेही बनौ ताकी बोली संसदमा लिपिबद्ध कुराहरू हेर्दा आउने पुष्तालाई लज्जाबोध नहोस् ।