काठेखोला गाउँपालिका–७ रेशमा शैक्षिक महोत्सव संञ्चालन

बागलुङ, ३१ वैशाख – बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा रहेको रेश नुन्थला माध्यमिक विद्यालयले शैक्षिक सुधार अभियान थालेको छ । विद्यालय तहको शिक्षालाई समयानुकुल परिवर्तन गर्दै शैक्षिक सुधार अभियान थालेको हो । विद्यालयले गत शैक्षिक सत्रदेखि नै ‘सहयोग गरौं’ अभियान सञ्चालन गरेर आवश्यक शैक्षिक पूर्वाधार निर्माणका लागि सहयोग अभियान सञ्चालन गरिरहेको प्रधानाध्यापक ओम बहादुर थापाले बताए । कक्षा १२ सम्म अध्यापन हुने विद्यालयमा रहेका भौतिक संरचनाको सुधार, शैक्षिक सामग्रीको खरिद, छात्राबास, प्राबिधिक धारका कक्षा सञ्चालन लगायतका कामका लागि आवश्यक बजेटको प्रबन्ध गर्न अभियान चलाईएको हो ।

‘राज्यले दिने अनुदान र नियमित खर्चले मात्रै हामीले सोचेको जस्तो शिक्षा बालबालिकाई दिन सम्भव छैन्’ थापाले भने ‘अतिरिक्त खर्च गरेर समयको माग अनुसारको शैक्षिक क्रियाकलाप सञ्चालन नगर्ने होभने हाम्रा विद्यालय धरापममा पर्छन् ।’ निजी विद्यालयप्रति बढिरहेको अभिभावकको मोहलाई कम गर्दै सामुदायीक विद्यालयमा नै व्यवहारिक शिक्षा दिने उद्देश्यले अभियान सञ्चालन गरेको थापाले बताए । ‘किताबका चित्र देखाएर वा प्रयोगात्मक कक्षा बिनानै भनेका आधार बिद्यार्थीले कति सिक्लान र !’ थापाले भने ‘प्रयोगात्मक रुपमानै व्यवहारिक शिक्षाका लागि आवश्यक सामग्रीको जोहो गर्न हामीले सुधार अभियान थालेका हौं ।’

विद्यालयका पूर्व बिद्यार्थी, शिक्षक, शुभचिन्तक लगायतसँग सहयोगको अपिल गरेर अभियानलाई सफल बनाउने प्रयास भैरहेको विद्यालय व्यवस्थापन समितिका सदस्य एवं वडा अध्यक्ष प्रेम लामिछानेले बताए । झण्डै एक ककोड रुपैयाँ खर्च गरेर शैक्षिक सामग्री, छात्राबृत्ति, भौतिक पूर्वाधार, प्रयोगशालाका सामग्री, छात्राबास, कम्प्युटर लगायतका पूर्वाधार तयार गर्ने योजना विद्यालयले बनाएको छ । बैशाख ३० गतेदेखि जेष्ठको ४ गतेसम्म सञ्चालन हुने गरी महोत्सवको आयोजना गरिएको लामिछानेले बताए । ४ सय ३१ जना विद्यार्थीले अध्ययन गर्ने यो विद्यालयमा भवन लगायतका भौतिक संरचना पर्याप्त भएपनि शैक्षिक सामग्री, छात्राबास लगायतका पुर्वाधारका कारण समस्या हुने गरेको छ । अरिरिक्त कक्षा सञ्चालन र विद्यार्थीको चाहना अनुसारको शैक्षिक सामग्री उपलव्ध गराउने गरी विद्यालयले योजना बनाएको छ । त्यसका लागि आवश्यक रकमको जोहो गर्न सहयोग गरौं अभियान देखि शैक्षिक महोत्सव सम्म आयोजना गरिएको हो ।

सहयोग गरौं अभियानबाट ५० लाखभन्दा धेरै रकम संकलन भएको र थप रकम संकलन गरेर लक्षमा पुग्ने लामिछानेले बताए । शैक्षिक महोत्सवमा गाउँपालिका स्तरीय अन्तर मा.वि स्तरीय हाजिरजवाफ प्रतियोगिता, गाउँपालीका स्तरीय शैक्षिक सामाग्री प्रदर्शनी, विद्यार्थिमा अन्तरनीहीत प्रतिभा पहिचान कार्यक्रम, स्थानीय पञ्चेबाजासहित सहयोगदाता सम्मान, स्थानीय संस्कृती झल्कने झाँकी तथा भेषभुषा प्रदर्शन, लोक भजन प्रतियोगिता, वडामा रहेका घरेलु खाद्यन्न सामाग्री प्रदर्शन, सकरात्मक सोँच सम्वन्धि प्रेरणदायी प्रशिक्षण, पुर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम र राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने शिक्षक बिष्णु गौतमले बताए ।