मनाश्लु हिमालआरोहणको सम्झनामा भकुण्डेमा आरोहण दिवस मनाईयो

बागलुङ, ३१ वैशाख – संसारकै सातौं अग्लो हिमाल धौलागिरी र आठौं अग्लो हिमाल मनाश्लु आरोहणको सम्झनामा सोमबार बागलुङमा ६३ औं मनाश्लु तथा ५९ औं धौलागिरी आरोहण दिवस मनाईएको छ । ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान), पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले बागलुङको भकुण्डेमा रहेको अतिथी सत्कार घरबास ‘होमस्टे’मा पुगेर आरोहण दिवस मनाएको हो । गण्डकी प्रदेश सरकारले घोषणा गरेको पर्यटन बर्ष २०१९, नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई सघाउने उद्देश्यले दुवै हिमालमा पहिलो पटक आरोहण गरेको दिनको सम्झनामा दिवस मनाईएको हो । स्विस आरोही म्याक्स ईस्लिन नेतृत्वमा कुर्टसहितको स्विस, नेपाली र अस्ट्रियन टोलीले सन् १९६० मे १३ मा ८ हजार एकसय ६७ मिटर अग्लो धौलागिरीको सफल आरोहण गरेका थिए । टोलीमा नेपाली निमा दोर्जी र नवाङ्ग दोर्जी थिएभने अन्यमा पिटर डिनर, अर्नष्ट फोरेर रहेका थिए । आरोहणको हिसाबले विश्वमै अत्यन्त कठिन मानिने धौलागिरीमा जानेमध्ये ४० प्रतिशतले ज्यान गुमाउदै आएका तथ्यांक छन् ।

यस्तै सन् १९५६ मे ७ मा जापानी नागरिक तोसिओ इमानिसी र नेपाली नागरिक ग्याल्जेन शेर्पाको मनाश्लु हिमालको प्रथम आरोहण गरेका थिए । सोही दिनको सम्झनामा मनाश्लु आरोहण दिवस केही बर्ष पहिलेदेखी मनाउँदै आएको भएपनि धौलागिरी आरोहण दिवसभने यस बर्षदेखि मनाउन सुरु गरिएको हो । धौलागिरी हिमाल आरोहण गर्न चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि आरोहण दिवस मनाउन सुरु गरेको ट्रेकिङ एसोसिएसन अफ नेपाल, पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका सदस्य एवं दिवस कार्यक्रम संयोजक विश्वह्वाङ राईले जानकारी दिए । यस बर्षदेखि हरेक बर्ष आरोहण दिवस मनाईने राईले जानकारी दिए ।

सम्भावना बोकेका हिमालहरुको प्रचार प्रसार र स्थानीय घरबासको प्रबद्र्धनका लागि संघले बागलुङको भकुण्डेमा पुगेर आरोह दिवस मनाएको राईले बताए । बागलुङको भकुण्डे, ढोरपाटन शिकार आरक्ष, घुम्टेको लेक, भैरवस्थान, पञ्चकोट, कालिका भगवती लगायतका प्रसस्त सम्भावना रहेका क्षेत्र रहेको भन्दै हिमालसँग जोडेर यस्ता क्षेत्रको प्रचार प्रसार र प्रबद्र्धनमा लाग्नुपर्नेमा बागलुङ जसमाज पोखराका अध्यक्ष कुलचन्द्र शर्माले बताए । ‘हामीले हिमालसँग सम्बन्धित गतिविधिलाई समेटेर हाम्रो जिल्लाका पर्यटकीय क्षेत्रको बिकास गर्नुछ’ शर्माले भने ‘संघले बागलुङका पर्यटकीय क्षेत्रमा पुगेर आफ्ना गतिविधि सञ्चालन गर्दा यहाँको पर्यटन विकासमा टेवा पुग्छ ।’

आरोहण दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागीहरुले प्रचुर सम्भावना रहेको पर्यटकीय क्षेत्रको प्रचार प्रसार र प्रबद्र्धनमा देशका सबै तहका सरकारको ध्यान पुगेको दाकी गरे । गण्डकी प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटाले पर्यटन क्षेत्रको बिकासका लागि प्रदेश सरकारले ठुलो लगानि गरिरहेको र नयाँ नयाँ कार्यक्रम बनाएको भन्दै यसमा सहभागी भएर आर्थिक समृद्धिसँग पर्यटनलाई जुड्नुपर्ने बताए ।

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भौतिक पुर्वाधार निर्माण सँगै पष्र्यटकिय क्षेत्रहरुको समेत विकास भैरहेको भन्दै यसलाई उपयोग गर्न आग्रह गरे । पर्यटन काउन्सिल पोखराका प्रमुख चिरञ्जीवि पोख्रेलले पर्यटन क्षेत्रमा लाग्ने जनशक्तिको बिकास गर्नुपर्नेमा जोड दिए । पर्यटन बोड पोखराका प्रमुख कृतनराज पौडेलले राज्यले लगानी बढाईरहेको पर्यटन क्षेत्र देशको आर्थिक समृद्धिको आधार भएको बताए । कार्यक्रममा उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय, पोखरा पर्यटन महाशाखाका प्रमुख मणिराज लामिछाने, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष लगायतले बोलेका थिए । ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान), पोखराका अध्यक्ष हरि भुजेलको अध्यक्षता र सचिव उदय सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।