बागलुङमा संञ्चालित गौरवका योजनामा स्थानीय जोडिंदै

आर्थिक समृद्धिको लागि पहिलो पूर्वाधारको रुपमा केन्द्रीय र स्थानीय सडक संजाल प्रमुख

बागलुङ, ३१ वैशाख – मालढुंगा भारत र चीन जोड्ने नेपालकै छोटो कालीगण्डकी कोरिडोर र पूर्व पश्चिम मध्य पहाडी लोकमार्गको चौवाटोमा पर्छ । दुवै राजमार्ग नेपालको राष्ट्रिय गौरवका आयोजना हुन् । संघियताको खाका अघिदेखिनै दुई गौरवका आयोजनाले बागलुङलाई जोडेका थिए । स्थानीय तह गठन पछि थालिएका अधिकांस सडकले दुई आयोजनाको आड लिन थालेका छन् । केन्द्रीय आयोजनाहरु स्थानीयको पुरकको रुपमा देखिएका छन् । लोकमार्गको १ सय ४२ किमी खण्डले बागलुङ, गलकोट र ढोरपाटन नगरपालिका, काठेखोला, बडिगाड र निसीखोला गाउँपालिकालाई जोडेको छ । कोरिडोरको ६० किमी खण्डले जैमिनी र बागलुङ नगरपालिकालाई जोड्छ । संघियता कार्यान्वयनसँगै बिकासको जिम्मा स्थानीय तहमा गएपनि राष्ट्रिय गौरवका दुइ आयोजना सहित केन्द्रीय र रणनीतिक सडकहरु जिल्ला बिकासको साझेदार बनेका छन् ।

आर्थिक समृद्धिको लागि पहिलो पूर्वाधारको रुपमा केन्द्रीय र स्थानीय सडक संजाल प्रमुख देखिएका छन् । बागलुङदेखि कुश्मीसेराहुँदै गुल्मीको शान्तिपुर पुग्ने सडक केन्द्रीय आयोजनामार्फत काम भैरहेको छ । भीमगिठे र दर्लिङ जोड्ने बडिगाढ खोला पुल तयार भयो । जैमिनी नगरपालिकाको ठेउलेखोला पुल र बाटाकाचौरको हुग्दीखोला पुल जिल्ला समन्वय समितिकै अगुवाईमा सम्पन्न भए । ‘स्थानीय तहले थालेका काम बाहेक जिल्ला र केन्द्रबाट थालिएका काम पुरा हुँदा समृद्धिको बाटोमा जान सजिलो हुनेछ’ जिल्ला समन्वय प्रमुख राजेन्द्र ढ्रंगानाले भने, ‘पुराना बिकासको जगमा स्थानीय तहले थाल्ने कामले बिकासको उचाई अगाडि बढ्नेछ ।’ संघ, प्रदेश र स्थानीय तह तीन तिर फर्के भने बिकास अवरुद्ध हुने उनले बताए ।

कपिलबस्तुको गोरुसिंगे देखि सालझण्डी ढोरपाटन पुग्ने पर्यटकीय सडकको ट्रयाक खुलिसकेकोले स्तरउन्नती भएमा पर्यटक भित्राउने महत्वपूर्ण मार्ग बन्ने निसीखोला गाउँ पालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए । ‘स्थानीय तहको बिकासे अभियानलाई पुराना योजनाले सफल बनाएका छन्’ पौडेलले भने, ‘अधिकार जनताको घरदैलोमा आएपनि पूर्वाधार र साधनश्रोत नभएकोले पुराना क्रमागत योजनानै हाम्रो बिकासको मेरुदण्ड हुन् ।’ आन्तरिक राजश्वको आधार नबनेसम्म एक्लो प्रयासबाट बिकासले पूर्णता नपाउने उनले बताए । पर्यटन क्षेत्रको बिकास र स्थानीय उत्पादन मार्फत समृद्धि खोज्ने उनको योजना छ । पर्यटन गन्तव्यको रुपमा चिनिएका बागलुङ कालिका, पञ्चकोट, घुम्टे, गाजा दह, ढोरपाटन, गलकोट लगायतका स्थानमा सडक यातायातको व्यवस्था गरेर व्यवस्थित बनाउने गरी स्थानीय तहहरुले खाका बनाएबाट केन्द्रीय र स्थानीय तहको समन्वय बनेको धौलागिरी बहुमुखी क्याम्पस अर्थशाष्त्र विभागका सहप्राध्यापक सुदर्शन सिलवालले बताउँछन् । कोरिडोर मार्फत भारतीय र चिनीयाँ पर्यटक भित्राएर आर्थिक बिकास गर्न सकिने सिलवालको तर्क छ । ‘आफ्नै उत्पादनमा बागलुङ आत्मनिर्भर थियो भन्ने ईतिहासलाई निरन्तरता दिन स्थानीय तह अग्रसर हुनुपर्छ’ सिलवालले भने, ‘कृषि, घरेलु र वनजन्य बस्तुको उत्पादन गर्नका लागि कच्चा पदार्थ पनि जिल्ला भित्रै उपलब्ध छ ।’ खाद्यान्नमा आत्म निर्भर बन्न सक्ने क्षमता भएपनि कृषिलाई आधुनिकीकरण नगर्दा जमिन बाँझो बनिरहेको उनले बताए ।

अल्लो, उनी कपडा र भाँग्रो, तरकारी र गेडागुडी, दूध, मासु र अण्डा उत्पादनमा जिल्ला आत्मनिर्भर बन्न सक्ने सिलवालले आधार बनाएका छन् । उत्तरदक्षिण कोरिडोरले उत्पादनको बजारीकरणमा सहजीकरण गरेको छ । संघियता कार्यान्वयनमा आएपनि तत्कालै जनस्तरमा राजनीतिक र बिकासको पहुँच नपुग्ने राजनीतिक शाष्त्रका सहप्राध्यापक सिद्धराज जोशीले बताए । ‘केन्द्रको नेतृत्वमै जनताको पहुँच बढाउनुपर्छ’ उनले भने, ‘केही बर्षमा जनस्तरमा राजनीतिक र बिकासको प्रतिफल पुग्छ ।’ राजनीतिक परिवर्तनको जस्तै बिकासको लहर पुग्न केही समय लाग्ने उनले बताए ।
जैमिनी नगरपालिकाले पहिलो चरणमा सबै माध्यामिक विद्यालय र स्वास्थ्य चौकीमा सडकले जोड्ने योजना बनाएर काम थालिसकेको छ । त्यसका लागि केन्द्रीय आयोजनाका सडकबाटै काम थालिएको नगर प्रमुख ईन्द्रराज पौडेलले बताए । ‘कालीगण्डकी कोरिडोर, बागलुङ कुश्मीसेरा सडक र कुश्मीसेरादेखि बरेङहुँदै शान्तिपुर जाने सडकलाई आधार बनाएर काम थालेका छौं’ पौडेलले भने, ‘क्रमागत केन्द्रीय आयोजनाको सहयोगबाट मात्र हामी सफलतामा पुग्नेछौं ।’ हाँडीकोट लगायतका क्षेत्रमा केवलकार बनाएर पर्यटक भित्राउन संभाव्यता अध्ययन थालेको उनले बताए ।