हिमाल र आरोहण

हिमालसँग हाम्रो दैनन्दिन र आस्था जोडिएको छ । हामी अन्नपूर्णतिर फर्केर आफ्नो अन्नबाली राम्रो होस् भन्दै धूपधुँवार गर्छौँ । आरोहणमै जमेका शेर्पाहरु छोमोलोङ्मालाई पुज्ने गर्छन् । नेपालीहरुको संस्कार भनेकै हिमाल, नदी, ताल, तलैया, बनजंगल र बृहत अर्थमा प्रकृतिपूजकको रुपमा रहँदै आएको छ । हिमनदीबाट बगेको पानीले हिमबत्खण्ड सिंचित भएको छ । नदीका किनारहरुमा सभ्यताको विकास भएको छ । हाम्रो जीवनबाट हिमाललाई अलग्याउने हो भने मौलिकता केही बाँकी रहँदैन । हाम्रो पहिचानसँग जोडिएको छ, हिमाल । हाम्रो देशको सबैजसो भूभागबाट हिमाल देखिन्छ । अझ, भनौँ, हरेक भूभागको हिमालसँग सम्बन्ध रहेको छ । उत्तरतर्फ पर्ने हाम्रा हिमालहरुले वातारणीय, माववीय तथा सामरिक रुपले समेत विशेष योगदान गरेका छन् । ८ हजार मिटरभन्दा अग्ला १४ मध्ये ८ वटा हिमाल नेपालमै छन् । यो नेपालीको लागि गर्वको कुरा हो । किराँतहरुले विश्वको अग्लो हिमाललाई सगरमाथाले पुकारे । हामी विश्वमा सगरमाथाको देशका मान्छे भनेर परिचय दिन्छौँ, भला सगरमाथाभन्दा एभरेष्टले त्यो हिमाल चिनिएको नै किन नहोस् ?

हिमालप्रतिको मानिसको आकर्षण आदिमकालदेखि नै रहँदै आएको छ । हिजो हिमालतिरको यात्रालाई परमात्माप्राप्ति वा मोक्षको यात्राको रुपमा लिइथ्यो । हिमालयमा शिव पार्वतीको बासको प्रसङ्ग होस् या महाभारतको युद्धपश्चात पाण्डवको महापन्थगमन नै किन नहोस् ? त्यसका हिमालको महत्व दर्शन्छ । मोक्षको खोजीमा निस्कने महापुरुषहरुमध्ये अधिकांशको रोजाई हिमालय नै पर्नु संयोग मात्र हैन, यसले प्रदान गर्ने अलौकिक शान्ति पनि हो । हिजोको त्यो आकर्षण अहिलेसम्म पनि उस्तै छ । नेपालकै कुरा गर्ने होभने, सन् १९५० मा संसारका अग्ला हिमालको चुचुरो चुम्ने आंकाक्षा पालेका फ्रान्सेली नागरिक मौरिस हर्जोगले यहाँको अन्नपूर्णको सफल आरोहण गरे । त्यसको लगत्तै सगरमाथामा पनि मानव पाइला पुग्यो । ‘हाम्रो तेन्जिङ नोर्गेले चढ्यो हिमाल चुचुरो’ भन्ने गीतले राष्ट्रियताको माला बलियो मात्र बनाएन, हिमालसँगको नेपाली सामिप्यताको महत्व पनि बुझायो । तेन्जिङ नोर्गेले न्यूजिल्याण्डका नागरिक एडमण्ड हिलारीसँगै सगरमाथामा पाइला राखेपछि सिंगो विश्वको ध्यान नेपालको आरोहण क्षेत्रतर्फ तानियो । यो अद्यावधी कायमै छ । आरोहणकै कारण नेपाल विश्वमा प्रख्यात मात्रै भएको छैन, नेपालको ढुकुटीमा पनि यथोचित सहयोग पु¥याएको छ । हिमाल दुईवटा सिजनमा चढिन्छ, एउटा बसन्त र अर्को सरद ऋतुमा । बसन्त ऋतु पारेर सगरमाथासहित विभिन्न हिमालको चुचुरो चुम्नेहरु यतिबेला आधार शिविरमा छन् । सगरमाथाको चुचुरो पुग्ने बाटो बनाउँदै ८ जना शेर्पाहरु शिखरमै पुगेका छन् । मौषमले साथ दिए यो सिजनमा चुचुरो चुम्ने र किर्तिमान बनाउनेहरु निस्केलान् । अर्कोतर्फ अन्य हिमालका फेदी पनि अहिले आरोहीले भरिएका छन् । आरोहणमार्फत किर्तिमानी बनाउनेहरुले नेपालको प्रचार गरिदिएका छन् । यो हाम्रो लागि खुुसीको कुरा हो ।

आरोहण भनेको चुचरो चुम्नुमात्रै होइन, सकुशल फर्कनु पनि हो रे, एण्डमण्ड हिलारीले भनेका । चुचरो चुम्नेहरुलाई त्यहाँ पुग्दासम्म पुग्नुकै सकस हुन्छ, फर्कदाँ कसरी तल पुगौँ भन्ने लाग्छ । तर, हिमाल आरोहणपछिका जीवनमा भने त्यसको छुट्टै महत्व हुन्छ । जीवनभर खुुसी र आनन्द दिने आरोहणलाई नेपालले अझ बढी आर्थिक सम्मृद्धिको लागि उपयोग गर्नुपर्ने देखिएको छ । मानिसलाई खुुसी दिने हिमालहरुबाट लिइने लाभ त्यही क्षेत्रका बासिन्दाको हितमा खर्चने, आरोहणको क्रममा भएका फोहर व्यवस्थापन गर्ने तथा हिमाल बचाउनको लागि विभिन्न कदमहरु चाल्नेतर्फ पनि अब सोच्नै पर्ने भएको छ । मुख्य कुरा त, आरोहणमा गएकाहरुको सुरक्षा नै हो । मान्छेले प्रकृतिलाई जित्न सक्दैन । यो सत्यलाई मनन गर्दै हिमाल आरोहीलाई शुभेच्छा गर्नु अहिले हाम्रो कर्तव्य हो ।