जेष्ठ नागरिकको सम्मान

उक्ति छ, ‘कुरा सुन्नु बूढाको, आगो ताप्नु मुढाको ।’ हो, मान्छे कि पढेर जान्ने हुन्छ, कि पढेर । भोगाईसँगै बुझाईको गहिराई बढ्छ । बुझाईले मानिसमा परिपक्वतासँगै असल र खराब पर्गेल्ले क्षमताको विकास हुन्छ । जेष्ठ नागरिकहरुको आ–आफ्नै खाले भोगाईहरु हुन्छन् । ती भोगाई, हण्डर, ठक्कर, सफलताबाट उनीहरुले ज्ञान पाएका हुन्छन् । उनीहरुमा अक्कल पलाएको हुन्छ । त्यो अक्कल समाजको हित वा अर्को पुस्तालाई बाटो देखाउने प्रेरणा बन्न सक्छ । त्यसले जेष्ठ नागरिकहरु पूज्य हुन्छन् ।

कल्पना गरौँ, मानिसले नीलोतुथो वा कुनै जटिबुटीको उपयोगिता कसरी पत्ता लगाए होलान् ? यो विष हो र यो ओखती हो भन्ने कसरी पर्गेले होलान् ? कति पुस्तासम्म यस्ता खोजीहरु जारी रहे होलान् ? ओखती र विष बीचको फरक छुट्याउँदा कति मान्छेको ज्यान गयो होला ? यो कल्पनाको कुरा हो । तर, मानवीय विकासको श्रृंखलामा हाम्रा अग्रजहरुले अनुभवबाट सिक्दै थ्रुपै यस्ता कुराहरु पत्ता लगाए । उनीहरुले आफ्नो अनुभव दोस्रो पुस्तालाई सुनाए । दोस्रो पुस्ताले अघिल्लो पुस्ताबाट सिकेको कुराबाट फाइदा लिन सक्यो । यसरी हेर्दा, अघिल्लो पुस्ता र जेष्ठ नागरिकको योगदान अत्यन्तै महत्पूर्ण रहेको पुष्टी हुन्छ । अर्को शब्दमा भन्दा अघिल्लो पुस्ताको योगदानले पछिल्लो पुस्ता बाँचेको हुन्छ । जेष्ठ नागरिकको हकमा पनि यो कुरा लागु हुन्छ । बालापन, युवा र बृद्धावस्था श्रृष्टिको नियम हो । श्रृष्टिको यो नियमबाट कोही उम्कन सक्दैन । आज युवा रहेकाहरु भोलि बूढा हुन्छन् र धर्ती छाड्छन् । धर्ती छाड्नु नियति हो तर जेष्ठ बृद्धावस्थामा उक्लनासाथ उनीहरुको भूमिका सकियो भन्नुचाहिँ मूर्खता हो । शारिरीक रुपले असक्तता वा बलको काम गर्न नसके पनि जेष्ठ नागरिकहरुसँग रहेको क्षमता, उनीहरुको अनभुव अर्को पुस्ताको लागि उपयोगी हुन्छ । यस मानेमा जेष्ठताको उपयोग गर्नैपर्छ । उनीहरुसँग भएका अनुभवहरु सृजनशील कार्यमा लगाउन पर्छ । हाम्रो संस्कार र संस्कृतिले पनि जेष्ठ नागरिकहरुलाई पूज्य मानेको छ ।

तर, पछिल्लो समयमा जेष्ठ नागरिकहरु एक्लो हुँदै गएका तथ्याङ्कहरु सार्वजनिक भएका छन् । परिवारका युवा सदस्यहरु व्यस्त रहँदा उनीहरु आवश्यक हेरबिचार र स्याहारसुसारबाट बञ्चित हुन पुगेका छन् । कतिपयले त आफ्ना मातापितालाई बृद्धाश्रमको जिम्मा लगाउनेसम्मका कुकृत्य गर्न भ्याएका छन् । यसले गर्दा जेष्ठ नागरिकहरुको जीवन कष्टकर बन्न पुगेको छ । नेपालमा अहिले मानिसको औषत आयू बढ्दै गएको छ । औषत आयू बढ्नु भनेको बृद्धाबृद्धहरुको संख्या बृद्धि हुनु हो । बृद्धाबृद्धको संख्या बढ्दै जानु तर उनीहरुले उचित स्याहार नपाउनु दुर्भाग्यपूर्ण हो । उमेर घर्कदैँ गएपछि स्वभाविक रुपले मानिसहरुमा फरकपन देखिन्छ । उनीहरु आफ्नो काम आफै गर्न सक्दैनन् । सहानुभूति र हेरचाह गरिदेउन् भन्ने चाहना राख्छन् । यो स्वभाविक हो । आफ्नो उमेर र बल छँदा उनीहरुले यस्तो चाहना पक्कै राख्दैनथे । यो सत्यलाई परिवारका सदस्यहरुले बुझ्नुपर्छ । आफूलाई जन्माएका र संरक्षण गरेका मातापिताको हेरचाह गर्नु सन्तानको कर्तव्य हो । यो कर्तव्यबाट कोही च्यूत हुन मिल्दैन ।

अर्कोतर्फ हिजो युवाछँदा राज्यलाई आफ्नो तहबाट योगदान दिएका जेष्ठ नागरिकको हितमा काम गर्नु सरकारको कर्तव्य हो । सरकारले बृद्धबृद्धको योगदानको कदर गर्दै उनीहरुलाई खुसी र सहजतापूर्वक बाँच्ने आधार तय गर्नुपर्छ । सरकारी वा अन्य सेवामा लागेकाहरुलाई निबृत्तिभरण तथा बृद्धभत्ता बितरण गरेर सरकारले केही हदसम्म त्यो दायित्व पूरा गरेको छ । तर, बृद्ध भत्ता पर्याप्त छैन । अर्कोतर्फ, पैसाले मात्रै खुसी दिँदैन । जेष्ठ नागरिकहरुलाई खुुसी र सुुखी राख्नको लागि उनीहरु भेला हुने ठाउँको निर्माण, उनीहरुको सहजताका लागि पार्क, पुस्तकालय, पाटी, पौवा र चौताराहरु निर्माण गरिदिनुपर्छ । आवश्यकता हेरी जेष्ठ नागरिकहरुको लागि बृद्धाश्रमको व्यवस्था पनि हुनुपर्छ । नेपालमा केही संघ÷संस्था, सरकार र निजी क्षेत्रले यस्तो व्यवस्थाको पहल गरेका छन् । यो सह्रानीय छ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले एक्लो हुँदै गएका जेष्ठ नागरिकहरुको हितमा काम गर्ने प्रतिवद्धता निश्यच उनीहरुको सम्मान हो । यो घोषणालाई व्यवहारमा लागु गर्नैपर्छ ।