नगरभित्र भ्रष्ट्राचार, लापरबाही, ढीलासुस्ती र अटेरी गरेको भन्दै नगरपालिकाको कार्यालयमा तालावन्दी

बागलुङ, २ जेठ – नेकपा जिल्ला कमिटिका सदस्य कृष्ण पाठकले बुधबार बागलुङ नगरपालिकामा तालाबन्दी गरेका छन् । नगरपालिका भित्र भ्रष्ट्राचार मौलाएको, लापरबाही, ढीलासुस्ती र अटेरी प्रवृत्ति मौलाएको आरोप लगाउँदै पाठकले बुधवार बिहान १० बजे नगरप्रमुख जनकराज पौडेल र प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवको कार्यकक्षमा ताला लगाएका हुन् । नगर प्रमुखले कार्यपालिका सदस्यले उठाएका बिषयलाई समेत बेवास्ता गरेकोे टिप्पणी भैरहेकाका बेला आँफुले देखेका बिषय समेत उस्तै भेटिए पछि ताला लगाउन बाध्य भएको पाठकले बताए । ‘बैठकमा के के भयो थाहा भएन, हामिले सोधिएका स्पष्टीकरणलाई समेत उहाँले कुल्चेकोले ताला लगाएर ध्यानकर्षण गराएका हौं’ पाठकले भने, ‘जनताको मत लिएर मेयर भएकोले हामिले सुशासन र पारदर्शीताको बारेमा उठाएको जिज्ञासा समेत बेवास्ता गरियो ।’

पौडेलले नगरप्रमुख भएपछि दर्जनौं काममा भ्रष्ट्राचार गरेको उनको आरोप छ । ‘नगरपालिका भ्रष्ट्राचारको दलदलमा फसेको छ, सुधार्ने भन्दा बढाउन मेयर लाग्नु भयो’ पाठकले भने, ‘आम नगरबासी आएर आन्दोलन गर्ने दिन नआओस भनेर सच्चिने मौका दिएको हुँ ।’ नगरपालिकाको बिकासमा आएको करोडौ रकम नियतबस फिर्ता गराइएको, जनहितका काममा भन्दा व्यक्तिगत फाइदाका काममा लागेको लगायत आरोप समेत उनले लगाए । दिउसो १ बजे निमित्त प्रमुख प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदी र पौडेलका निजी सचिव ऋषिराम गोतमेको उपस्थितिमा ताला फोडिएको छ । ‘ताला बन्दीको बिषयमा पछि छलफल गर्ने गरी ताला फोडेका छौं’ गोतमलेले भने, ‘आँफू फर्केपछि छलफल गर्ने मेयरसापले भन्नु भएको छ ।’

बुधवार नगरप्रमुख पौडेल मुख्य मन्त्री सहभागि एक कार्यक्रममा गलकोट गएका थिए भने प्रमुख प्रशासकीय अधिकृत कुँवर सेवाकालिन तालिममा काठमाण्डौमा छन् । पाठकले तालाबन्दी गरेको बिषयमा नेकपा बागलुङले भने कुनै संलग्नता नरहेको बताएको छ । ‘उहाँले के कति कारणले ताला लगाउनुभएको हो भन्ने बिषयमा पार्टीलाई जानकारी छैन’ नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले भने ‘व्यक्तिगत हिसावले ताला लगाएको भए थाहा भएन पार्टीमा नगरको बिषयमा कुनै छलफल भएको छैन् ।’ उने पाठकले ताला लगाउन बाध्य हुनुको कारणका बिषयमा समेत पार्टीलाई जानकारी नगराएको बताए । यता बागलुङ नगरपालिकाले भने पाठकले लगाएका आरोप कवोकल्पित र निराधार रहेको बताएको छ । ‘उहाँले आफ्नो स्वार्थ अनुसारका काम नभएका कारण भाँडभैलो मच्चाउनुभएको हो ।’ नगरप्रमुख जनकराज पौडेलले भने ‘गर्नै नसक्ने कामहरु गर भनेर देखाउने नभए पछि भाँडभैलो मच्चाउने काम निन्दनीय छ ।’ पौडेलले पाठकले आवेशमा आएर गल्ती गरेको बताए ।