होचाकद भएका व्यक्ति र हकअधिकार

शारीरिक बनावटदेखि नै भिन्न रुपले जन्मेका व्यक्तिलाई होचाकद भएका व्यक्ति भनिन्छ । हाम्रो समाजमा जन्मिएका त्यस्ता व्यक्तिलाई अपहेलना, छिछि र दुर्रदुर तथा तिरस्कार गरिन्छ, किनकी उनीहरु शारीरिक बनावटदेखि नै फरक भएका हुन्छन्, जहाँ आफ्नै घरपरिवारका सदस्यबाट नै फरक दृष्टिकोणले हेर्ने गरिन्छ । समाजमा खुलेर, शिर ठाडो बनाएर हिड्न समेत समस्या भएको अवस्था छ । अर्को रुपले उनीहरुलाई दिन प्रतिदिन शोषित तुल्याईएको छ, जतिसुकै योग्यता र क्षमता किन नहोस् उनीहरु हाँसोको पात्र बन्न बाध्य छन् । जुनसुकै ठाउँमा किन नहोस् हिड्दै गर्दा टाढैबाट जिस्काउने, पुड्कापुड्की जस्ता अपशब्द प्रयोग गर्नाले उनीहरुलाई गाउँठाउँमा समेत भिज्न गाह्रो भएको छ ।

त्यसैगरी विश्वमा विभिन्न प्रकारका अपांगता भएका व्यक्ति छन्ः त्यसमा शारीरिक रुपले होचकद भएका व्यक्ति पनि त्यो वर्गमा मानिन्छ भने विश्वका हरेक कुनाकाप्चामा होचाकद भएका व्यक्ति छरिएर रहेका छन् तर कति प्रतिशत छन् भन्ने कुरा एकीकन गर्न सकिएको छैन । त्यसैगरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरबाट विभिन्न संघसंस्थाहरु स्थापना भएका छन् र विभिन्न कार्यक्रमहरु पनि संचालनमा ल्याएका छन् । नेपालमा पनि वि.सं. २०६० सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भई काठमाडौंबाट सन्चालनमा आएको हो, स्थापनाकालदेखि नै होचा पुड्काहरुको हकहितको लागि विभिन्न कदम चाल्दै समाजको गलत हेराई र बुझाईको विरुद्धमा अनेकौं संघर्ष गरिरहेको छ र सोही विषयलाई मध्यनजर गरि देशैभर छरिएर रहेका होचापुड्का दाजुभाई तथा दिदीबहीनीहरु बिच छलफल, अन्र्तक्रिया र बहस पश्चात कसरी संगठित रुपमा सशक्त ढंगबाट नेपाली समाजमा उनीहरुका आवाज र उपस्थिती मजबुत बनाउन सकिन्छ त भन्ने आयोजना गरेको थियो । हाम्रो समाजमा विभिन्न प्रकारका चेतनामुलक कार्यक्रमहरु सन्चालन गरि उनीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्दछ भन्ने हिसाबले घरटोलभन्दा बाहिर होचापुड्का साथीहरुलाई संलग्न गराउन मदत गरेको छ । तर पनि यस्ता समस्यालाई पूर्वरुपमा समाधान गर्न भने सकिरहेको छैन ।

होचा पुड्काहरुले आर्थिक आयआर्जनको लागि उपयुक्त रोजगारी प्राप्त गर्न सकेका छैनन् । उनीहरु अझै पनि सम्मानपूर्वक जिवन व्यतित गर्ने अवसरबाट बन्चित छन् किनकी गाउँघर, टोलछिमेक तथा समाजमा विभिन्न प्रकारका समस्या र उल्झनहरु झेल्दै आईरहेका छन् । समाजको नकारात्मक सोचले गर्दा शारीरिक रुपले दुर्बल त छ नै मानसिक रुपले समेत कमजोर बनिरहेका छन् । चाहे जतिसुकै योग्यता भए पनि कुनै कार्यालयमा रोजगार गरे पनि उनीहरु कुनै पनि ठाउँमा उचित सम्मानजनक स्थान पाउन सकिरहेका छैनन् । त्यसैगरी होचाकद भएका व्यक्तिले निम्न समस्याहरु झेल्न बाध्य भएका छन् ।

शारीरीक बनोटलाई लिएर विभिन्न अपमानजनक शब्दहरुले गिज्याउने, घर परिवारकै सदस्यहरुले नै अयोग्य ठानी बोझको रुपमा लिने वा बेवास्ता गर्ने गरेको पाइन्छ । एक ठाउँबाट अर्को ठाउँमा जान निकै समस्याहरु झेल्नुका साथै सवारी साधनहरुमा समेत हेप्ने चेप्ने गरिन्छ । विभिन्न सामाजिक लाज र अप्ठ्यारा परिस्थीतीले गर्दा आफु पछि परेको अवस्था छ, कतिपय अवस्थामा त शारीरिक समस्याहरु, आर्थिक रुपमा सबल नहुँदा उपचारमा समेत समस्या झेल्नु परेको छ । राज्यबाट उनीहरुलाई आत्मनिर्भर, स्वाबलम्बी र दक्ष बनाउनको लागि प्रभावकारी प्रशिक्षणको अभावले पछि परेको अवस्थ छ किनकी योग्यता अनुसारको जागिर भन्ने समस्याले समेत पिरोलिरहेको छ । समाज यो बुझ्दैन की उनीहरु पनि सक्षम छन्, उनीहरु पनि आफु सरह आम मानिस हुन् । आखिर के फरक छ त अग्लो र होचोमा, फरक त केवल सोच हो । साँच्चै, हिजोको ढुङ्गे युगदेखि लिएर आजको आधुनिक युगसम्म आइपुग्दा धेरै परिवर्तन र विकास भए । धर्म, जातजाती, भाषा, संस्कृती तर समाजमा मान्छेले मान्छेलाई गर्ने विभेद भने अझै परिवर्तन भएको छैन् ।

आजको वर्तमान समयमा यस्ता समस्या जटिल बन्दै गएको छ । यहाँ मान्छेको आत्मसम्मानको विषय बनिरहेको छ । मानिस खुलेर आफ्नो हकहितको लागि लड्ने अधिकार पाउनुपर्दछ जति होचाकद भएका व्यक्तिमा विभिन्न प्रतिभा हुन्छन् त्यति एउटा सबल ठानिने मानिसमा नहुन पनि सक्छ । त्यसैगरी उनीहरु धेरैजसो कलाकारितामा प्रवेश गरेका छन् तर त्यतिले मात्र त जीवनयापन हुदैन नि ? राज्यले अपांग परिचय पत्रको व्यवस्था गरेपनि त्यसको प्रयोग कहाँ, कुन र क्षेत्रमा भएको छ खै ? यदि त्यसको प्रयोग कुनै ठाउँमा, क्षेत्रमा भएन भने अपांग परिचय पत्र हुनु र नहुनुमा कुनै फरक छैन । त्यसैगरी सरकारी सेवासुविधा तथा राजनीतिक क्षेत्रमा पहुँच हुन नसक्दा समस्या झन्भन्दा झन् बढ्दै गइरहेको छ । त्यसले उनीहरुमा नराम्रो असर परेको छभने सरकारी काम कारवाहीको लागि पटक–पटक धाउँदा समेत उचित सम्बोधन गरिदैन, उल्टै नराम्रो दृष्टिकोण राख्ने गरिन्छ । वर्तमान समयमा भने यो समस्या जल्दोबल्दो रुपमा रहेको छ । प्रत्येक दिन, प्रत्येक क्षण हिसांत्मक क्रियाकलाप सहन बाध्य हुनुपरेको छ । आफ्नो आत्मसम्मानमा समेत आँच पुगेको अवस्था छ । त्यस्ता हिसांत्मक क्रियाकलाप कतिन्जेल सहने, आखिर कहिलेसम्म ? समाजमा सपांग सरह सम्मानपूर्वक बाँच्न कहिले पाउने, राज्यतर्फबाट पनि खासै सहयोग छैन उल्टै आगोमा घ्यू थप्ने काम भएको छ । उनीहरुलाई कुनै कार्यक्रम र क्षेत्रहरुमा प्रोत्साहन गरेको छैन ।

तसर्थ, नेपालमा जति पनि होचाकद भएका व्यक्ति छन् तिनीहरुलाई राज्यले सामाजिक, आर्थिक र राजनीतीक पक्षबाट सहयोग गरी योग्यता अनुसारको रोजगार सुनिश्चित गनुपर्दछ । कहिँकतै हिसांत्मक क्रियाकलाप भएका छन्भने त्यसलाई न्यूनीकरण गर्ने, विभिन्न नीतिनियम बनाउनुका साथै हिसांत्मक क्रियाकलाप भएको खण्डमा कानुनबमोजिम सजाय पनि तोक्नुपर्दछ । त्यसैगरी उनीहरुलाई आयआर्जनको लागि विभिन्न सीपमुलक तथा आयमुलक कार्यक्रमहरु सन्चालन गर्नुपर्दछ । र जति पनि होचाकद भएका साथीहरु खुलेर अघि बढ्नुपर्छ किनकी अधिकार भन्ने कुरा कसैले दिने होइन, हामी आफैले खोज्नुपर्छ । आफ्नो हक अधिकारको लागि अघि बढ्नुका साथै समाज परिवर्तनमा महत्वपूर्ण भुमिका खेल्नुपर्दछ पर्छ । नेपाल होचापुड्का महासंघअन्र्तगत बाग्लुङ जिल्ला र प्रदेशमा पनि होचा कद भएका व्यक्तिलाई समन्वय गरी समिती गठन गर्ने र उनीहरुको हक अधिकारका लागि विभिन्न चेतनामुलक कार्यक्रमहरु सन्चालन गर्ने भएको छ । बाग्लुङ जिल्ला र प्रदेशमा जति पनि होचाकद भएका साथीहरु हुनुहुन्छ आफ्नो हक अधिकारका लागि खुलेर अघि बढ्नुपर्छ ।