प्रदेश सरकार असारे माचोमाः मुख्यमन्त्री गुरुङ

बागलुङ, २ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा समेटिएका योजना कार्यान्वयनको ‘असारे माचो’मा रहेको स्वीकारेका छन् । विकास बजेट खर्च गर्न नसकेको भन्दै प्रदेश सरकारको आलोचना भइरहेको मेला मुख्यमन्त्री गुरुङको यो भनाई सार्वजनिक भएको हो । आर्थिक वर्ष सकिनलाग्दा बजेट खर्चने प्रबृत्ति अर्थतन्त्रको लागि राम्रो मानिँदैन । उनले कर्मचारीको अभाव, केन्द्र सरकारको असहयोग र अनुभवहीनताका कारण समयमै योजनाहरु कार्यान्व्यन हुन नसकेको समेत जिकिर गरे ।

मुख्यमन्त्री गुरुङ बागलुङको गलकोट नगरपालिका–१०, पाण्डवखानीमा बुधबार घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले आफ्नो ३३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरेको बुद्धजयन्ती तथा बैशाख पूर्णिमा मेलाको उद्घाटन गर्दै थिए । उनले छिमेकी भारत र चीनसँग जोडिने कालीगण्डकी करिडर निर्माण प्रदेश सरकारको विशेष प्राथमिकतामा रहेको बताउँदै यो सडकलाई सम्मृद्धिको अवसरको रुपमा प्रयोग गर्ने बताए । मुख्यमन्न्त्री गुरुङले प्रदेश सरकारले पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिएको बताउँदै १ सय १२ वटा सडक पुल तथा १२ वटा झोलुङ्गे पुल निर्माणको काम अगाडि बढेको जनाउँदै पाँच वर्षभित्र प्रदेशका सबै सडकहरुमा पुल बनिसक्ने जिकिर गरे । उनले गण्डकी प्रदेशका रहेका सम्पूर्ण स्थानीय निकायहरुलाई पक्की सडकले जोडिने र त्यहाँका वडाहरुलाई नालासहित ग्राभेल सडक बनाउने योजना समेत सुनाए ।

गण्डकी प्रदेशमा गरिबीको रेखामुनि रहेका १४ दशमलव ५ प्रतिशत जनतालाई पाँच वर्षभित्र ७ प्रतिशतमा झार्ने, यहाँ रहेका ५ लाख ७७ हजार घरधुरीका जनतालाई धाराको पानी खुवाउने तथा नागरिकलाई संविधानप्रद्धत्त गास, बास र कपासको व्यवस्था गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको उनको भनाई थियो । उनले बिनोद चौधरीको उदाहरण दिँदै एक–दुई व्यक्ति धनी हुँदैमा आम नागरिक सम्मृद्ध नहुने र सबैलाई जोडेर मात्र सम्मृद्धि प्राप्त हुने बताए । ‘यसअघि हामीसँग मति पनि भएन र गति पनि नभएकाले विकास हुन सकेन’, मुख्यमन्त्री गुरुङले भने,‘ अब हामी मति र गतिकासाथ अगाडि बढ्छौँ ।’

उनले स्वरोजगारी सृजनाको लागि प्रदेशका ६ हजार युवाहरुलाई तालीम दिने योजना रहे पनि २ हजार जनालाई मात्र तालीम दिन सकिएको उनले बताए । तालीम दिने संस्था अभावमा सोचेजस्तो उपलब्धि हात पार्न नसकेको बताउँदै उनले सरकार प्रमाणपत्रसँगै सीप प्रवद्र्धनमा जुटेको दाबी समेत गरे । ‘शिक्षालाई वैज्ञानिक र व्यावसायिक बनाउन सर्टिफिकेटसँगै सीप प्रवद्र्धन गर्न प्रदेश सरकार लागेको छ’, उनले भने, ‘हामीले प्राविधिक विश्वविद्यालयको लागि जग्गाको व्यवस्था गरेका छौँ, अब प्रदेशमा प्राविधिक विश्वविद्यालय बन्छ ।’ पौरखी हातहरुलाई सघाउन प्रदेश सरकारलेसीप हस्तान्तरण, बजार ब्यवस्थापन तथा अनुदानको व्यवस्था गरिएको उनको भनाई थियो । राज्यको लागि महंगो र जनताको लागि सजिलो हुने व्यवस्था नै संघीयता भएको जिकिर गर्दै उनले भने, ‘हामीले लडेर ल्याएको संघीयतालाई बलियो बनाउन हामी आफै लाग्नुपर्छ, सम्मृद्धिले संघीयता बलियो हुन्छ ।’ उनले घुम्टे प्रचुर पर्यटकीय सम्भावना भएको ठाउँ भएको बताउँदै लेकसाइड र पोखरामात्र पर्यटकी क्षेत्र हो भन्ने भ्रमबाट प्रदेश सरकार मुक्त रहेको जिकिर गरे । उनले अहिले प्रदेश सरकारले प्रवद्र्धन गरेको होमस्टेले प्रदेशका अन्य क्षेत्रहरु पनि पर्यटकीय गन्तव्य बन्ने आशा राखे । संस्कृतिलाई पहिचान र पहिचानलाई पर्यटनसँग जोड्दै सम्मृद्धि खोजिनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा बोल्दै सांसद देवेन्द्र पौडेलले घुम्टे क्षेत्रको विकासको लागि केन्द्र,प्रदेश अनि स्थानीय सरकार एकै ठाउँमा रहेको बताए । अर्का सांसद सूर्य पाठकले सामाजिक सद्भाव कायम राख्दै बिविध संस्कृतिको संरक्षण गर्न सके त्यहीँबाट पर्यटन प्रवद्र्धन गर्न सकिने धारणा राखे । गण्डकी प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढाले केन्द्रमा देखिएका नीतिगत र तल्लो तहमा रहेको मनोगत भावनाले समस्या परेको सुनाए । संविधानसभाका पूर्वसदस्य नरबहादुर पुन( निरज)ले घुम्टे क्षेत्रको विकासको लागि प्रदेश सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले पूर्वाधारको विकास हुन सके गलकोट क्षेत्र देशकै प्रमुख पर्यटकी क्षेत्र बन्ने जिकिर गरे । उनले सडकसहितका पूर्वाधारमा लगानी गर्न प्रदेश सरकारसँग आग्रह पनि गरे । मञ्चका अध्यक्ष टेकबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमकमा वडाध्यक्ष तिलक घर्तीसहित नविन भावुक र विष्णु काउचाले पनि मन्तव्य राखेक थिए । सो अवसरमा लोपोन्मुख सतिघाँटु समेत नाचेका थिए ।