बद्लिँदो मनोविज्ञान

पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा दुई परिवारका नौ जनाको हत्या भयो । १२ वर्षीया बालिकाले भागेर ज्यान बचाइन् । हत्या आरोपी स्वंय झुण्डिएको अवस्थामा फेला परे । पारिवाररिक रिसइवीका कारण आँङ नै सिरिङ्ग बनाउने हत्याकाण्ड भएको प्रारम्भिक अनुमान छ । यो प्रतिनिधि घटना मात्रै हो,पछिल्लो समयमा देशका बिभिन्न भागमा हत्या र हिँसाका घटना बढेका छन् । हत्या र हिँसाका घटना बढ्नुमा सामाजिक बिग्रह कारकको रुपमा देखिएको छ । पछिल्ला केही वर्षमा नेपालीको जीवनस्तरमा परिवर्तन आएको छ । रेमिट्यान्सका कारण धेरै नेपालीहरुको जीवनस्तर फेरिएको छ । मानव सूचकांकले नेपालीको जीवनस्तरमा सुधार आएको देखाएको छ । सूचनाको पहुँच बढेको छ । अधिकांश नेपालीको हातमा मोवाइल फोन पुगेको छ । धर्मदेखि डराउने नेपाली समाज उदत्त पनि बनेको छ । हिजोका सामाजिक मान्यताहरु धर्खराएका छन् । नयाँ मान्यता र संस्कारले जरो गाडेको छ । आधुनिकताको नाममा पुराना मान्यताहरु भत्किँदा त्यसले सामाजिक संरचनामा नै नकारात्मक असर पारेको छ । अपराध हिजो पनि हुन्थ्यो र आज पनि हुँदैछ । तर, अपराधीको मनोवृत्तिमा आएको परिवर्तन र मानिसमा देखिएको हिंश्रक प्रवृत्ति चााहिँ डरलाग्दो देखिएको छ ।

हिजोको हाम्रो समाज आस्था र सहअस्तित्वमा अडेको थियो । आधुनिकताले नछोएको समाज परिवर्तनको गति सुस्त थियो । तर, एकाएक सूचना प्रबिधिको बढ्दो प्रयोगले समाजलाई छिटो अगाडि दौडायो । संसारको कुनै कुनामा भएको घटना तत्काल थाहा पाउने वा कहिँकतै उत्पादित बस्तुको तत्काल उपयोग गर्न पाउने सुबिधा उपलब्ध भयो । हिजो भारतीय वा बेलायती सेनामा हुने भर्ती वा रोजगारीको लागि भारत पस्ने प्रवृत्ति फेरिएर संसारको जुनसुकै ठाउँमा पनि पुग्न सक्ने क्षमता बिकास भयो । भाडदौडपूर्ण समाजमा रेमिट्यान्सले केही योगदान त दियो तर यसले उपभोक्तावादी संस्कृति बढाउने काम ग¥यो । सहअस्तित्वमा बाँधिएको पारिवारिक संरचनामा रेमिट्यान्सले नै परिवर्तन गरिदियो । वैदेशिक रोजगारीले पारेको सकारात्मक प्रभावसँगै यसको नकारात्मक पाटोले पारिवारिक बिखण्डनको बीउ रोप्यो । आक्कलझुक्कल सुनिने सम्बन्ध बिच्छेदका घटनाहरु बढ्न पुगे । वैदेशिक रोजगारले पु¥याएको यो नकारात्मक पाटोबारे अनुसन्धान त भएको छैन तर यसले दीर्घकालीन समस्या उत्पन्न गराउन सक्ने सम्भावना भने देखिएको छ । यसैगरी हिजोको पुराना मान्यताहरु भत्किँदा र अन्धाधुन्ध विदेशी संस्कृतिका नकारात्मक कुराहरु अनुशरण गर्दा समाजमा नकारात्मक मान्यताले बढी प्रश्रय पाएको देखिएको छ । हिजो धर्म वा समाजदेखि डराउने मान्छेहरु कानूनको डर देखाउँदा पनि नडराउने भएको छ । आफूलाई केन्द्रमा राखेर निर्णय गर्ने एकात्मक सोचको विकास सभ्य समाजको लागि घातक हो । अहिले नेपालमा देखिएको एकात्मक सोचले कालान्तरमा ठूलो दुर्घटना निम्त्याउने खतरा देखिएको छ ।

आत्मपरक सोचले सामाजिक भावनाको विकास गराउँदैन । आत्मकेन्द्रित व्यक्ति हिंश्रक बन्ने सम्भावना बढी रहन्छ । बदलिएको सामाजिक संरचनाले आम नेपालीलाई आफ्नो हितबारे मात्र सोच्ने मेसिनमा परिवर्तन गर्दैछ । सामाजिक सद्भाव,माया, प्रेम र करुणाका भावहरु मानिसबाट हराउँदे जाने खतरा बढेको छ । यो रोग नेपालमा मात्र नभएर विकशित देशहरुमा पनि देखिएको छ । साँचो त के हो भने, आधुनिकताको नामा मौलाएको व्यक्तिवादी सोचले नेपालजस्ता देशहरु बढी प्रभावित हुने गरेका छन् । अत ः सरकारले विकाससँगै, आधुनिकतासँगै मानिसको मनोविज्ञानमा भएको परिवर्तनलाई पनि बुझ्ने कोशिस गर्नुपर्छ । मानिसको मनोभावमा भएको परिवर्तनलाई बुझेर सही मार्गमा लगाउन सकिएन भने त्यसले ठूलो दुर्घटना निम्त्याउँछ । सरकारले भौतिक विकाससँगै मानिसको मनोभावनालाई सही मार्गमा ल्याउने काम पनि सँगसँगै थाल्नुपर्छ ।