कृषिमा इजरायलको सिको जरुरी

असहजतालाई सहजतामा बदल्दा अलौकिक सन्तुष्टी मिल्छ । व्यक्ति र राष्ट्र दुबैको जीवनमा यो सत्य लागु हुन्छ । इजरायलकै उदाहरण लिउँ न ! संसारभरबाट लखेटिएका यहुदीहरुको सानो बस्ती सधैँ बम र बारुदको चपेटामा रह्यो र रहँदैछ । मृतसागर नजिकको यो मरुभूमिलाई कालान्तरमा यहुदीहरुले आफ्नो माने । त्यही भूमिमा आफ्नो श्रम र पसिना पोखे अनि संसारकै विकसितमध्ये एक देशमा दर्ज गराए । अहिले इजरायलले मरुभूमिमा तरकारी फलाउँछ । पानीको दुःख रहेको देशले समुन्द्रकै पानी प्रशोधन गरी पिउन र सिँचाईमा प्रयोग गरेको छ । थोपा सिँचाई अनि उत्पादकत्व बृद्धि गर्दै थोरै भूमिबाट अधिकतम् लाभ लिने सफलता हात पारेको छ । इजरायल नेपालको पुरानो साथी हो । सन् १९६० मा दक्षिण एसियाका अरु देशले उसको अस्तित्व स्वीकार गर्न हिच्किचाउँदा नेपालले इजरायलसँग सहकार्यको हात फैलाएको थियो । त्यहीँ इजरायल यतिबेला नेपाली कृषकहलाई कृषि प्रणाली सिकाउने गुरु बनेको छ । इजरायलमा कृषिकर्म गरेर फर्केकाहरुले नेपाली भूमिमा देखाएको उदाहरणीय कार्यले हामीलाई पनि गरे हुँदोरहेछ भन्ने शिक्षा दिएको छ ।

नेपाललाई प्रकृतिले अनुपम उपहार प्रदान गरेको छ । यहाँ धेरै अग्लो ठाउँमा हुने जडिबुटी, अन्नपात र खाद्यान्नदेखि होँचो भूभागमा पाइने बनस्पतिसम्म पाइन्छ । देशका अधिकांश जनता अहिले पनि कृषिमै आश्रित छन् । तर, हाम्रो कृषि प्रणाली आत्मनिर्भर छैन । देशले अरबौँको मासु, फलफूल र खाद्यन्न आयात गर्छ । निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक बनाउने उद्घोष गरिएको वर्षौँसम्म पनि हाम्रो कृषि प्रणाली उस्तै छ । यसमा सुधारका लागि गरिएका पहलहरु, अनुदानका रकमहरु बालुवामा पानी सरह भएको छ । कृषिको आधुनिकीकरण हुन नसक्दा एकातर्फ खेतबारी बाँझो हुने क्रम बढेको छभने अर्कोतर्फ परनिर्मरता बढ्दैछ । परनिर्भरताले ठूलो मात्रामा देशको सम्पत्ति बाहिरिएको छ । नेपालीको सबैभन्दा प्रिय भातकै लागि पनि आयातमा निर्भर हुने अर्थतन्त्र भएको मुलूकमा नेपाल दरिएको छ । आधुनिक कृषि प्रणालीका लागि आवश्यक पर्ने नयाँ प्रविधी, सिँचाई, मलखाद र यात्रिकीकरणमा नेपाल अझै पछि रहेको छ । गाउँमा हल गोरु नपाएर मान्छे नै नारिएर जोतिनुपर्ने नियतिले हामीलाई छाडेकै छैन । अर्कोतर्फ लागतको तुलनामा उत्पादनको मात्रा न्यून हुँदा कृषि कर्ममा लाग्नेहरु पनि बिरक्तिएका छन् ।

देशले तीब्र गतिको आर्थिक बृद्धि खोजेको बेला कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा बढी योगदान कृषिको हुनुपर्ने हो । तर, बहुसंख्यक नागरिक कृषिमा आश्रित हुँदा पनि त्यो लक्ष्य प्राप्ति हुन कठिन देखिएको छ । आयातमा निर्भर रहँदै भन्सार शुल्कबाट उठेको राजश्वले बेसाहा खेप्दै हामी समृद्धिको कल्पनामा रमाएका छौँ । कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड हो । कृषिमा लगानी र आधुनिकीकरणले नेपाललाई सम्मृद्ध बनाउँछ । तर, पुरानै खेती प्रणालीले त्यो सम्भव छैन । अब नेपालले कृषिमा आधुनिकीकरण थाल्नै पर्छ । भएका गतिबिधिहरुको निर्मम समीक्षा गर्दै हाम्रा जमिनलाई उर्बर बनाउन, थोरै लगानीबाट धेरै प्रतिफल लिन र उच्च बजारमूल्य भएका कृषिजन्य उत्पादनमा जोड दिनुपर्छ । चाह्यो भने नेपालले हाम्रा हिमालमा फुल्ने सुन्दर फूल बेचेर करोडौँ विदेशी डलर कमाउन सक्छ । यहाँ फल्ने प्राङ्गारिक तरकारी निर्यात गरेर आत्मनिर्भर अर्थतन्त्र बनाउन सक्छ । त्यो लक्ष्यलाई टाढाको कुरा मान्ने होभने पनि, कम्तिमा कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुन धेरै समय लाग्दैन । कृषि कर्मबाट केही व्यक्तिले पाएको सफलतालाई आम जनमानसमा पु¥याउँदै राज्यले कृषिमा थप बजेट व्यवस्था गर्दै समयमै मल, बिउ, आधुनिक औजार एवं आवश्यक पर्दा अनुदानको पनि व्यवस्था गरिनुपर्छ । कृषिमा दिइँदै आएको अनुदान कार्यकर्ता पोस्ने काममा प्रयोग गरिनु हुँदैन । कृषिमा लगानी गर्न अझै हिच्किचाउने हो वा यसलाई व्यवस्थित नगर्ने होभने सम्मृद्धि प्राप्ति सम्भव छैन भन्ने राज्यले बुझ्नुपर्छ । अतः कृषिलाई सम्मानित पेशा बनाउँदै लगानी अनुसारको प्रतिफल दिने प्रविधी आत्मसाथ गर्नुपर्छ । इजरालयले गरेको प्रगतिबाट सिक्दै आधुनिक खेती प्रणालीलाई कार्यान्वयनमा ल्याउनुपर्छ ।