साँघुरो सडकले दुर्घटनाको चिन्ता

बागलुङ, ९ जेठ – दुई बर्ष पहिला नगरपालिका घोषणा हुने बेला बागलुङको दोस्रो सुगम मानिने जैमिनी नगरपालिकामा एक मिटरसम्म पनि पक्कि सडक थिएन । बीस बर्ष पहिलेदेखि निर्माण सुरु भएको बागलुङ–कुश्मीशेरा–बरेङ–शान्तिपुर कृषि सडकले यात्रुलाई सहज भएपनि जिल्लाको दक्षिणको यात्रा कष्टकरनै थियो । सडकको स्तरोन्नतीको नाममा बेला बेलामा काम नभएका होईनन् तर बर्षा सुरु भएसँगै थालिने स्तरोन्नतीको काम सबै पानीमा मिल्थ्यो । एक मिटर पक्कि नाली समेत नभएको जैमिनी नगरपालिकामा गत बर्ष ४५ लाख रुपैयाँ खर्चेर नगरको केन्द्र कुश्मीशेरा बजारमा पक्कि नाली निर्माण भएको छ । बजार क्षेत्रमा निर्माण भएको पक्कि नालीले बर्षाको पानी मात्रै होईन हिउँदमै समेत ठुलो बर्षा भयोभने भेलबाढी थाम्दैन् । कुश्मीशेराको तल्लो बजार पानी परे जलमग्न हुने गरेको स्थानीय मिलन थापा बताउँछन् । नालीले बर्षाको पानी नथेगेको भनेर स्थानीयले गुनासो गरिरहेकै बेला अहिले जैमिनी नगरपालिकामा झण्डै तीन किलोमिटर सडक कालोपत्रे गर्न सुरु गरिएको छ । नगरको केन्द्र कुश्मीशेरा बजारदेखी पूर्वतर्फ टुनीबोट सम्मको सडक कालोपत्रेको काम चलिरहेको छ । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम र प्रदेश तथा केन्द्र सरकारको अनुदानमा कालोपत्रेको काम सुरु भएको हो । नगरपालिकाले एक करोड, साझेदारी कार्यक्रमको एक करोड रुपैयाँमा १६ सय मिटर बाटो कालोपत्रे गर्दैछ भने केन्द्र सरकारको एक करोड र प्रदेश सरकारको ५० लाख रुपैयाँ खर्चेर थप १२ सय मिटर बाटो कालोपत्रेको काम धमाधम चलिरहेको छ ।

तर बाटोको चौडाईका बिषयमा स्थानीयले गुनासो गर्न थालेका छन् । पहिलो चरणमा ३.७५ मिटर चौडाई मात्रै कालोपत्रे भैरहेको छ । ‘पक्कि सडक बन्यो भनेर खुसी हुने ठाउँ रहेन’ जैमिनी नगरपालिका–७ जैदीका हरिहर शर्माले भने ‘दिर्घकालिन सोच राखेर कालोपत्रे भएन अधुरो कालोपत्रेले दुर्घटना बढाउँछ ।’ निकै साँघुरो कालोपत्रेको काम भैरहेकाले प्रकृया पुरा गर्ने काम मात्रै भएको उनले टिप्पणी गरे । दोहोरो सवारीसाधन आवतजावत नहुने गरी भएको कालेपत्रेका कारण दुर्घटनाको प्रबल सम्भावना रहेको उनी बताउँछन् । कच्चि र पक्कि सडकमा सवारीको गति फरक हुने भएकाले दुर्घटनाको सम्भावना बढेको यातायात व्यवसायीको भनाई छ ।

‘पक्कि बाटोमा सग्लो बस अट्दैन, दोहोरो गाडी कसरी कटाउनु’ जैमिनी १० राङ्खानीका यातायात व्यवसायी तिलक पौडेलले भने ‘द्रुत गतिमा रहेको सवारीलाई एक्कासी कच्चिमा लानु परे यसै पल्टिन्छ ।’ सडकको स्तरोन्नतीनै नगरी साँघुरो कालोपत्रे गरेकाले दुर्घटना बढाउने उनको टिप्पणी थियो । यो सडकमा गण्डकी प्रदेशको राजधानी पोखरादेखि बागलुङ नगरपालिका, बरेङ गाउँपालिकाहुँदै गुल्मीसम्मका सवारीका साधन यो सडक भएर गुड्छन् । यो सडक खण्डमा सवारी साधनको अत्याधिक चाप रहेको भएपनि साँघुरो बाटोका कारण जोखिम हुन सक्ने इन्जिनियर समुनराज रेग्मीले बताए । अउनले दोहोरो सवारी सञ्चालनको लागि सडकको चौडाई कम्तिमा ६.५ मिटर हुनुपर्ने बताए । नगरपालिकाले भने तत्काल स्रोतको अभावका कारण थोरै भएपनि सडक कालोपत्रे गर्ने कामलाई प्राथमिकता राखेको जनाएको छ । ‘सडक चक्लाबन्दी गर्दा अहिलेको हाम्रो स्रोतले कालोपत्रे गर्न सम्भव देखिएन, साँघुरै भएपनि पहिलो चरणको कालोपत्रे गर्ने काम अघि बढाएका हौं ।’ नगर उपप्रमुख लिला रानाले भने ।