एसआईभि बाट संक्रमिण गोपाल श्रेष्ठले गरे सगरमाथा आरोहण

पोखरा,९ जेठ – पोखराकै धर्मराज थापाले मेची–महाकाली घन्काएको गीत हो,‘हाम्रो तेन्जिङ नोर्गेले चढ्यो हिमाल टाकुरा !’ जनकविकेशरी धर्मराज यो धर्तीमा छैनन् तर उनले गाएको यो गीत पोखराको लागि सार्थक बनेको छ । यतिबेला पोखराकै गोपाल श्रेष्ठले सगरमाथाको चुचुरो चुमेका छन् । पोखराका गोपाल श्रेष्ठसँग धेरैखाले परिचय छ । कसैका छोरा, कसैको पति र पिता अनि कसैको आफन्त त उनी हुन् नै ! त्यतिमात्र नभएर उनी कुनै जमानाका राम्रा फुटबल खेलाडी अनि पूर्वदुब्र्यसनी पनि । दुव्र्यसनसँगै उनी यतिबेला एचआइभीसहित बाँचिरहेका छन् । एचआइभी संक्रमण मृत्युको नजिक पुग्ने बाटो हैन, मृत्युलाई जितेर बाँच्नु हो र अरुलाई प्रेरणा दिनु पनि हो भन्ने बुझ्ने मान्छे पनि उनै हुन् ।
हो, लामो समयदेखि एचआइभीसहित जीवनको रथ अगाडि बढाएका उनै गोपाल श्रेष्ठले यतिबेला सगरमाथाको चुचुरो चुमेका छन् । उनले बुधबार बिहान साडेँ ८ बजेतिर चुचुरोमा पाइला राखेसँगै विश्व किर्तिमान पनि कायम गरेका छन् । बिभिन्न रेकर्ड बनेको सगरमाथामा पुग्ने उनी पहिलो एचआइभी संक्रमित बनेका छन् । ड्रिमर्स डेष्टिनेसन टे«क्स एण्ड एक्पिटिसनसँगको समन्वयमा उनले सगरमाथाको सफल आरोहण गरेका हुन् । ५६ वर्षीय श्रेष्ठलाई सो आरोहण दलका फुर्वा तेन्जिङ र दाकिवा शेर्पाले सहजिकरण गरेका थिए । तीन वर्षअघि आरोहणमा गएका उनी भुईँचालोपछिको हिमआँधीका कारण आरोहण छाडेर फर्केका थिए । हिमआँधीमा पर्दा उनी घाइते समेत भएका थिए । तर, गोपालले सगरमाथा चुम्ने अठोट छाडेनन् र यो बसन्तमा सगरमााथाको चुचुरो चुमेरै छाडे ।

पोखराको रत्नचोकमा जन्मेका गोपाल देशकै अब्बल मानिने गण्डकी बोर्डिङमा पढ्थे । सानैदेखि राम्रो फुटबल खेल्थे, उनी। गण्डकी छाडेर पोखराकै अमरसिँह स्कूल पढ्दा उनी गिने चुनेका खेलाडी बनिसकेका थिए। राम्रो खेलबाट प्रभावित सेनाको सिँहनाथ गणले उनलाई फुटबल खेल्न निम्त्यायो । चुरोट र गाँजा स्कूले जीवनमै चलेको थियो। चालिसको दशक, लागु औषधको दुव्र्यसनले नेपाली युवाहरुलाई गाँजेको बेला सिँहनाथ गणको रक्षापंक्तिका बलिया खेलाडी गोपाल पनि दुव्र्यसनमा तानिए। लत बढ्दै गयो। सिँहनाथ छाडेर काठमाडौंकै चर्चित फ्रेण्डस् क्लवसँग जोडिए । त्यसपछि विदेश हानिए । केही पैसा कमाए र घर फर्के । घरजम पनि भयो । गोपाल अहिले घटनाक्रम सम्झन्छन् तर तिथि मिति ठ्याक्कै याद छैन। आखिर, विश्रृंखल जीवनको श्रृंखलावद्ध अभिलेख नै कहाँ हुन्छ र?

उनले नेपाल–विदेश गरिरहे । बिहेपछिको चौथो वर्षको एक दिन उनको जीवनमा आँधी आयो । राजधानीको शिक्षण अस्पतालमा रगत जचाउँदा एचआइभी पोजेटिभ देखियो। ‘डाक्टर सा’बले धेरै बाँच्दैनौ भनेपछि जीवन सकिएको अनुभूति भयो’, उनले भने,‘मर्नु त छँदैछ, मृत्युलाई सजिलो बनाउनुपर्छ भन्ने लागेपछि डोज झन बढ्यो ।’ त्यसपछिको ८–९ वर्ष नसाको तालमै बित्यो। कमाइ थिएन, घरका सामान चोर्ने अनि लागुऔषधको जोहो गर्ने ती दिनहरुमा उनी लागु पदार्थ पाए खुसी हुने र नपाए निरास हुने गर्थे रे! नसामै झुम्म हुन पाए संसार जितेजस्तो हुने रे !
आखिर उनी कसरी संक्रमित बने त? खासमा, त्यो बेला लागुपदार्थ दुव्र्यसनीले एउटै सिरिञ्ज प्रयोग गर्थे रे, रगत साँटे माया बढ्छ भन्ने दुव्र्यसनी जमातमा रहँदा कतिबेला संक्रमित भएँ भन्ने उनलाई हेक्का भने छैन। पछि श्रीमतीमा पनि संक्रमण देखियो । २०५७ सालतिर पोखरामा नौलो घुम्ती नामक संस्थाले लागुपदार्थ दुव्र्यसन हटाउने अभियान चलायो। एचआइभी संक्रमितहरुको पहिचान ग¥यो । उनीहरु संगठित बने, आफू संक्रमित भएको खुलासा समेत गरे। गोपालजस्तै संक्रमित बनेका आनन्द आलेको यो प्रयासले फ्रेण्डस अफ होप भन्ने संस्था जन्मियो। आफू एचआइभी संक्रमित भएपछि जीवनप्रतिको मोह झन् बढेको सगौरव घोषणा गरे, उनीहरुले । त्यहीँबाट सुरु भएको नयाँ जीवनले अहिले गोपाललाई सगरमाथा पु¥यायो । ‘म बाँच्न प्रेरित गर्छु र लागु पदार्थमुक्त समाजको कल्पनालाई साकार बनाउन सगरमाथा उक्लँदै छु’, गोपालले सगरमाथा उक्लनुअघि भनेका थिए,‘ मृत्युको घण्टी बज्दा कोठाभित्रै बसेको भए, सायद म यो धर्तीमा हुने थिइन तर अब समाजको लागि केही गर्न चाहन्छु ।’