सावधान ! भान्सामा विषादी

म्याग्दी,९ जेठ – जिल्लाका गाउँगाउँमा व्यावसायिक तरकारी खेतीको लहर चलिरहेको छ । छोटो समयमा बढि उत्पादन गरी मनग्गे आम्दानी गर्ने लोभमा किसानहरुले तरकारीमा जथाभावि विषादीको प्रयोग गर्न थालेपछि यसको असर उपभोक्ताहरुमा देखिन थालेको छ ।किसानहरुले कृषि प्राविधिकको सल्लाह नलिइ जथाभावी विषादीको प्रयोग गर्दा उपभोक्ताहरुको भान्सामा तरकारीसंगै विषादी पनि पाकिरहेको छ ।जिल्लाका ग्रामिण भेगका साथै छिमेकी जिल्ला पर्वत र तराइका विभिन्न क्षेत्रहरुबाट सदरमुकाम बेनीमा भित्रिने तरकारी र फलफूलको परीक्षण हुन नसक्दा विषादीसमेत मानिसको पेटमा पुगिरहेको सरोकारवालाहरुले बताएका छन् ।

सरकारका नियामक निकायले प्रभावकारी अनुगमन नगर्दा विषादी र तरकारी एकैचोटी पाकिरहेको छ ।गाउँ र तराइबाट बेनीमा आउने तरकारीको परीक्षण गरिदैन । विषादी परीक्षण नहुँदा उपभोक्ताको स्वास्थ्यमा खेलबाड भइरहेको उपभोक्ताहरुले बताएका छन् । तरकारीमा नदेखिने विषको प्रयोग हुने कृषि विशेषज्ञहरुले बताएका छन् । विषादीको दुई किसिमबाट प्रयोग गरिने उनीहरुको भनाइ रहेको छ । पहिलो चरणमा बिरुवा रोप्दै गर्दा विषादी हालिन्छ । फल फलिसकेपछि तरकारी छिटो बजारमा र्पुयाउन पनि कृषकले विषादी हाल्ने गरेको अन्तराष्ट्रिय कृषि वैज्ञानिक टीकाबहादुर कार्कीले बताए। कृषि वैज्ञानिक कार्कीका अनुसार नेपालमा सन् १९५० देखि डिडिटी र पाइरेथ्रम नामका दुई विषादी औलो रोगको रोकथामका लागि लामखुट्टे मान भनेर नेपालमा ल्याउन शुरु गरिएको हो ।सरकारी तवरबाट भने सन् १९५६ बाट आयात गर्न शुरु गरिएको अभिलेख छ । विस्तारै यसको खपत बढ्दै गएपछि कृषि क्षेत्रमा पनि यसको प्रयोगमा व्यापकता आउदै गएको हो । कृषि वैज्ञानिक कार्कीका अनुसार हाल नेपालमा वार्षिक रुपमा रु ७४ करोड,७७लाख,८५ हजार ९१४ को ६ लाख ३५ हजार ७ सय २१ विषादी खपत हुने गरेको छ । नेपालमा पंजिकृत विषादीको संख्या (व्यापारिक नाम) २ हजार ५ सय ७६ रहेको छ भने १सय ३९ ओटा सामान्य पंजिकृत विषादी रहेका छन् । सरकारी तथ्याङ्क अनुसार विषादीका १२ हजार ८ सय ८७ खुद्रा विक्रेता र ११ हजार ९सय ८ तालिम प्राप्त विक्रेता रहेका छन् । सरकारी तथ्याङ्क अनुसार इजाजत लिएका संष्लेषणकर्ताहरुको संख्या भने जम्मा ५ रहेको छ ।

कृषि बैज्ञानिक कार्कीका अनुसार विषादी प्रयोग गरिएका तरकारी,फलफूल तथा खाद्यान्नले दीर्घकालिन असर निम्त्याइरहेका छन् । क्यान्सर,वंशाणुगत परिवर्तन,विकृत बच्चाको जन्म,कलेजो तथा मृगौला विग्रनु,प्रजननमा विकृति,स्थानयू रोग,एजर्ली,दम,अन्धोपन लगाएतका समस्याहरु बढ्दै जानुको पछाडी विषादीको प्रयोग गरिएको तरकारी र फलफूलको सेवन नै प्रम्ुख रहेको छ । त्यसैगरी बेनी नगरपालिकाका कृषि संयोजक कृष्ण बानियाँले प्रयोग गर्न नहुने ज्ञानको अभावमा किसानहरुले कडा भन्दा कडा विषादी तरकारीमा हाल्ने गरेका बताए । बानियाँले भने ‘यस्तो विषादी हालिएको तरकारी हामी सबैको भान्सामा दिनहूँ पाकीरहेको छ र हामी तरकारीसंगै विष पनि खाइरहेका छौं ।’विषादी रहित अर्गानिक तरकारी खेतीका लागि कृषकहरुलाई व्यापक जनचेतनाको आवश्यकता रहेको किसानी कृषि प्राविधिक शिक्षालयका संयोजक करन कडेंलले बताए । ‘किसानहरुलाई विषादी रहित तरकारी खेतीका लागि प्रोत्साहित गर्न सरकारले आग्र्यानिक उत्पादनका लागि अनुदान र उपभोक्ताले पनि उचित मूल्य दिन आबश्यक छ’ संयोजक कडेंलले भने ‘कृषि विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई हामीले विषादी रहित तरकारी उत्पादनका लागि आधुनिक तरिका र प्रविधिका वारेमा सिकाइरहेका छौं ।’

विषादीयुक्त तरकारी खाँदा मानिसलाई विभिन्न किसिमका रोग लाग्ने चिकित्सकहरुले बताएका छन् । मानिसको वंशाणुगत क्षमतामै असर, गर्भवतीले बढी खाएमा बच्चा अस्वस्थ जन्मिने,लुलो लंगडो हुने र क्यान्सरले समेत सताउँने स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भीम आचार्यले बताए । चिकित्सक आचार्यका अनुसार तरकारीलाई तीन चार पटक राम्ररी पखालेर राम्ररी पकाउनुपर्छ।‘प्रर्याप्त जानकारी हुँदाँहुदै पनि बाध्यतामा उपभोक्ताले सेवन गरिरहेका छन’, उनले भने । सरकारको विषादी प्रयोग गर्नेलाई कडा कारवाहीको कानुनी व्यवस्था नगर्दा सम्म यस्तो समस्या रहीरहने उपभोक्ताहरुले बताएका छन् ।