‘पोखराले थेग्न नसक्ने गरी पर्यटक आउछन’

पोखरा,१० जेठ – गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले गण्डकीमा पर्यटन ब्यवसाय घ्रिसेर नभई फडकेर अघि बढ्ने बताए ।
‘हाम्रो मुख्य प्राथमिकता पर्यटन हो ,पर्यटन सम्बन्धि नीति ऐन र कार्ययोजना बनाएका छौँ ,त्यो पारित गरेपछि पर्यटन विकासको गति घ्रिसेर नभई फडकेर अघि बढ्छ’ ,उनले भने । आगामी बर्खे अधिवेशनमा नीति ऐन र कार्ययोजना संसदमा छलफल पछि पारित हुने मन्त्री लम्सालले बताए ।उनी पर्यटन परिषद् पोखराले बिहीबार आयोजना गरेको आन्तरिक भ्रमण वर्षका चुनौती र सम्भावना विषयक अन्तरक्रिया तथा बर्दियाका पर्यटन ब्यावसायीहरुको स्वागतको लागि आयोजित स्वागत कार्यक्रममा बोल्दै थिए ।

मन्त्री लम्सालले आन्तरिक भ्रमण वर्ष सफल बनाउनको लागि आन्तरिक गृहकार्य भईरहेको बताउदै प्रचारमुखी काम मात्र नगरेको दावी गरे । ‘हामीले आन्तरिक रुपमा तैयारी गरेका छौँ , आन्तरिक भ्रमण वर्ष २०१९ को भदौ देखि कात्तिक सम्म पोखराले थेग्न नसक्ने गरी पर्यटक आउछन’ ,उनले भने । गाँउबाट सहरतिर बसाइसराइको दर उच्च भएपछि सो क्रमलाई न्यूनीकरण गर्न र ग्रामीण पर्यटनको विकासको लागि घरवास (होम स्टे) कार्यक्रम सुरु गरिएको उनले बताए । गाँउको अर्गानिक खेतिपातिको प्रोत्साहन गरी कला सँस्कृतिको जगेर्ना गर्न घराबास कार्यक्रमले प्रभावकारी भूमिका निर्वाह गर्ने लम्सालको भनाई थियो । पर्यटकीय गतिविधिको विकास गरी समृद्धिको लक्ष्य हाँसिल गर्न पोखराबाट सवै प्रदेशमा हवाई सेवा बिस्तार गर्ने तैयारी रहेको उनले जानकारी दिए । प्रदेशमा रहेका सवै तालहरुको संरक्षणको लागि ताल प्राधिकरण विधेक आइसकेकोले तालतलैयाको अतिक्रमण रोकिने उनले बताए । गण्डकी प्रदेशका प्रत्येक वडामा बाल तथा जेष्ठ नागरिक उद्यान पार्क बनाउने मन्त्री लम्सालले जानकारी दिए ।

पर्यटकको लागि कोशेली घर ,सूचना केन्द्र स्थापना गर्ने र संघ ,प्रदेश र स्थानीय सरकार मिलेर गण्डकी प्रदेशलाई पर्यटकीय गन्तब्य बनाई आर्थिक समृद्दी हासिल गर्ने उनको भनाई थियो । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले आन्तरिक भ्रमण वर्ष घोषणा मात्र भएको तर सरकारले सवै पक्षलाइ समेटर अघि बढन नसकेको बताए । हिमाल काला पहाडमा रूपान्तर ,ताल पोखरीजस्तो र पैदल माग्र धुले सडक बनेको बतादै संरक्षणमा सरकारले ध्यान दिन आग्रह गरे । पर्यटकको आवागमनले मात्र केही नहुने भएकोले उनीहरु रमाउने ,भुल्ने र खर्च गर्ने वातावरण सृजना गर्नुपर्नेमा पहारीले जोड दिए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणि लामिछानेले भ्रमण वर्ष सफल बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए । बर्दिया भ्रमण वर्ष सफल बनाउन गरिको कार ¥याली र छलफल कार्यक्रमबाट एक आपसमा अनुभव लिएर अघि बढनुपर्ने उनले बताए ।
पर्या पर्यटन विकास मँच बर्दियाका अध्यक्ष मोहनलाल थारुले संसारले चिनेको बर्दिया आन्तरिक पर्यटनमा पछि परेको कारण बर्दिया भ्रमण वर्षमार्फत प्रचार प्रसार गरी आन्तरिक पर्यटक भित्राउने अभियानमा जुटेको बताए । बर्दिया राष्ट्रिय निकुन्जमा विदेशीहरु आउने गरे पनि नेपालीहरुको ध्यान पुग्न नसक्नु बिडम्बना भएको उनले बताए । बाघ ,हात्ती ,गैडा जस्ता जनावरको प्रत्यक्ष अवलोकन र जंगल सफारीको लागि बर्दिया महत्वपूर्ण गन्तब्य भएको उनले जानकारी दिए ।

सो अवसरमा पर्यटन परिषद् पोखरा र पर्या पर्यटन विकास मँच बर्दियाकाबीच मितेरी समन्ध समेत गासिएको छ । पर्यटन परिषद् पोखराका अध्यक्ष चिरंजीवी पोखरेल र पर्या पर्यटन विकास मँच बर्दियाका अध्यक्ष मोहनलाल थारुले अंगालो मारेर समन्ध गासेका थिए । उनीहरूले एक आपसमा प्रचारमा सहयोग गरेर पर्यटक भिताउन सहयोग गर्ने प्रतिबद्दता जाहेर गरे । पर्यटन परिषद् पोखराका अध्यक्ष चिरंजीवी पोखरेलले पोखरा आएका पर्यटकलाइ बर्दिया सम्म पुग्ने वातावरण निर्माण गर्ने बताए । नियमित सम्पर्कमार्फत हातेमालो र अनुभव साटेर अघि बढ्ने उनले बताए । कार्यक्रममा सहभागीहरुले पर्यटन विकासको अवस्था ,सम्भावना र सरकारको पर्यटकीय गतिविधि तथा पोखराको र बर्दियाको पर्यटन गतिविधिको वारेमा सुझाव तथा जिज्ञासा राखेका थिए।