नरेन्द्र मोदी र नेपाल सम्बन्ध

छिमेकी मुलुक भारतमा भएको लोकसभाको निर्वाचनबाट अति हिन्दुवादी राजनीति पार्टी भारतीय जनता पार्टीले चमत्कारिक जित हासिल गरेको छ । संसारकै दोश्रो ठूलो जनसंख्या भएको मुलुक भारतमा भएको सात चरणको निर्वाचन नतिजा आएपछि यस पटक पनि नरेन्द्र मोदी प्रधानमन्त्री हुने लगभग पक्कापक्की भइसकेको छ । लोकसभाको लागि कुल ५४२ सिटमध्ये भारतीय जनता पार्टी गठबन्धनले ३५१ सिट जित्न सफल भएको छ । यसपटक नरेन्द्र मोदीलाई सत्तामा जान नदिने भनेर कांग्रेस आई लगायत पार्टीले अर्को ठूलो गठबन्धन बनाएपनि त्यसले सफलता हासिल गर्न सकेन । कांग्रेस आइका अध्यक्ष राहुल गान्धीले निर्वाचनमा हार स्वीकार्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोनमार्फत बधाई दिएका छन् जसलाई राम्रो राजनीति संस्कार मान्नुपर्छ । साँच्चै यसपटक पनि भारतीय निर्वाचनको मत सर्वेक्षण गर्ने संघसंस्था पनि नराम्ररी फेल खान पुगेको छ । अहिले सत्तामा रहेको भारतीय जनता पार्टीको चुनावी रणनीतिको अगाडि कांग्रेस आई लगायतका बिपक्षी त्यति सशक्त भने हुन सकेको देखिएन । जसको फाइदा यसपटक फेरि भाजपाले लिए । आफुलाई कट्टर हिन्दुवादी भनेर चिनाउने भाजपाले यसपटक जुन जित हासिल गरे यसलाई धेरैले यस्तो परिणाम आउने सोचेका थिएनन् ।

सात चरणमा भएको लोकसभाको निर्वाचनले अझै ५ बर्षको लागि नरेन्द्र मोदीको यात्रा एकछत्र कायम हुने निश्चित भएको छ । अब जतिसुकै बल गरेपनि संसदमा समेत खासै प्रभावकारी भुमिका हुने छैन भन्दा फरक नपर्ला । नरेन्द्र मोदीले भारतमा ५ सय र एक हजारको भारू नोटलाई बन्दी गरे त्यसको असर यसपटकको निर्वाचनमा पर्ने भनेर जुन अनुमान लगाएका थिए त्यो अनुमान पनि फेल खाएको छ । निर्वाचनको समयमा नरेन्द्र मोदीले ल्याएको किसानमुखी कार्यक्रम बिपन्न परिवारलाई खाना पकाउने ग्यास घर र शौचालय योजना पनि अहिले भाजपालाई यसपटक जित हासिल गर्न भूमिका खेल्यो भन्दा फरक नपर्ला ।

छिमेकी मुलुक भारतमा फेरि एकपटक भाजपाकै शक्तिशाली सरकार गठन भएपछि नेपाललाई हेर्ने नीति तत्काल बद्लिने संभावना भने देखिदैन । नेपालमा बनेको नयाँ संबिधान २०७२ बन्दै गर्दा भारतीय शासक नरेन्द्र मोदीले देशलाई धर्म निरपेक्ष बनाउन नहुने हिन्दु अधिराज्य बनाउनु पर्ने सुझाव दिँदादिदै पनि सो कुरा नमानेको भन्दै आर्थिक नाकाबन्दी लगाउने काम गरेको दुनियाँ सामु छर्लङ्ग भएको बिषय हो । यहीँ बिषयमा असहमति जनाउँदै माओवादी नेता डा. बाबुराम भट्टराईले पार्टीबाट राजिनामा गरेर नयाँ शक्ति पार्टी नेपाल गठन गरेको पनि धेरै समय भएको छैन । त्यहीँ बेला नयाँ शक्तिका नेताहरूले नयाँ संबिधान अधुरो भएको भन्दै यसमा मधेसी जनताको माग सम्बोधन गर्नुपर्ने भनेर नारा लगाए पनि आखिर प्रभुले गरेको इसारा नै प्रमुख हो र थियोे भनेर यहाँ ब्याख्या गर्न जरुरी छैन ।

अहिले निर्वाचनको नतिजा बाहिर आउँदा नआउँदै नेपालका प्रधानमन्त्री केपी ओलीले आफ्नो समकक्षी मोदीलाई फोन गरेर बधाई दिएका छन् । जुन एउटा राजनीति संस्कार र संस्कृति पनि हो, जसलाई निभाए यसलाई सकारात्मक रूपमा लिनुपर्छ । अब नेपाल र भारतको सम्बन्ध कस्तो हुन्छ, हिजो जुन अबिश्वासको नजरले हेर्ने काम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरे अब यसमा क्रम भंग हुन्छ कि पुरानो कुरालाई नै निरन्तरता दिन्छ त्यो भने केही समयपछि थाहा हुने नै छ । एकातिर कट्टर हिन्दु राष्ट्रवाद अर्काेतिर कम्युनिस्ट पार्टीको इतिहासमै शक्तिशाली सरकार जसले हिन्दु राष्ट्र भनेको हेर्न सुन्न चाहदैन किनभने हिजो मुलुकलाई धर्म निरपेक्ष घोषणा गर्दा धेरै बिदेशी प्रभुको दबाब र प्रभाव परेको छ यसलाई सजिलोसँग छोड्न लक्षण देखिदैन । ठिक बिपरित ध्रुबका शक्तिबीच फेरि समझदारी, एकता र बिश्वास भन्ने कुरा गाह्रो कुरा पनि हो, राजनीतिमा यो सजिलो कुरा पनि हो । राजनीतिमा असंभव भन्ने कुरा केही पनि हुदैन भन्ने कुरा मनन गर्न सकेको खण्डमा अबश्य पनि छिमेकी मुलुक भारत संगको सम्बन्ध नयाँ ढंगले अगाडि बढ्न सक्छ । भारतीय प्रधानमन्त्री मोदीले हिजोको दिनमा ४ पटक नेपालको भ्रमण गरे जुन भ्रमणलाई धेरैले धेरै किसिमले ब्याख्या गरेपनि खास मकसद भने नेपालमा हिन्दू राज्य घोषणा गराउने नै हो भन्ने कुरा छर्लङ्ग छ ।

अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि एकपटक सक्तामा आएका छन् । भारत भनेको हिन्दुहरूको बाहुल्यता भएको देश हो, अब भने सरकारले भारतलाई हिन्दु अधिराज्य घोषणा गरेर देखाउन जरुरी छ । सबैभन्दा पहिला भारतलाई हिन्दु अधिराज्य घोषणा गरेपछि नेपाललाई पनि हिन्दु राज्य घोषणा गर्न दबाब दिन सान्दर्भिक हुनेछ । अहिले नेपालमा हिन्दु अधिराज्य बनाउनु पर्छ भनेर माग गर्ने राप्रपा नेपाल लगायतका राजनीतिक पार्टीहरूले भाजपाका नेताहरूलाई अब भारतमा हिन्दु राज्य घोषणा गर्न केहीले पनि रोक्दैन भन्ने सन्देश पनि पुर्‍याउन जरुरी छ । भारतीय जनता पार्टी कट्टर हिन्दूबादी भएको हुनाले पनि सहज हुन्छ भन्ने लाग्छ । अहिले फेरि सत्तामा भाजपा नै आएको हुनाले अब नेपालमा हिन्दू राष्ट्रको नारा झन चर्को रूपमा लाग्ने निश्चित छ । अहिले केपी ओली सरकारलाई छिमेकी मुलुक भारतको दबाब यथावत रहने निश्चित छ । एकातिर पुर्व राजाको नेपालको विभिन्न जिल्लामा रहेका शक्तिपिठमा धार्मिक भ्रमण अर्काेतिर छिमेकी भारतीय शासक संगको राम्रो सम्बन्ध कै कारणले पनि उनको चलखेल अब झन् बढ्ने देखिन्छ । पुर्व राजाले पनि हिजो गुमेको आफ्नो शक्ति पुन फर्काउन सकिन्छ कि भनेर कोशिस गरिरहेका थिए, अब झन् बढ्ने निश्चित छ । अब राजतन्त्र र हिन्दू अधिराज्यको मुद्दा पेचिलो भएर आउने छ । अहिले नेपाली कांग्रेसका महामन्त्री सशांक कोइराला, नेता शंकर भण्डारी लगायतका नेताले नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्ने धारणा ल्याउनुमा केही न केही तारताम्य छ कि भन्नु पर्ने बेला आएको छ ।