आरोहणमा सीमा र मापदण्ड जरुरी

यो वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण क्रममा १६ जनाको मृत्यु भयो । आरोहणको क्रममा चुचुरोतिर जाने लामो लाइनको तस्वीर अन्तर्राष्ट्रिय संचारमाध्यममा छाउन पुग्यो । सगरमाथा उक्लने मान्छे धेरै हुँदा बाटोमा भीडभाड बढेको र ट्राफिक जामको अवस्था आएको समेत सार्वजनिक भयो । खासगरी २२ र २३ मेमा सगरमाथा चढ्ने आरोही बढी भएकोले धेरैले ज्यान गुमाएको भन्दै हिमाल आरोहणको लागि नेपालले दिएको स्वीकृति र चढ्ने प्रक्रियाबारे विश्वब्यापी बहस छेडियो । यो सिजनमा सगरमाथा आरोहणको लागि ३ सय ८१ जनाले अनुमति लिएका थिए भने देशका बिभिन्न हिमाल आरोहण अनुमति लिनेको संख्या ८ सय ९५ रहेको थियो ।

आरोहण आफैमा साहसिक कार्य हो । आरोहणको क्रममा मृत्यु हुनेको संख्या ठूलो रहेको छ । संसारकै अग्लो हिमालको चुचुरोमा पुग्नु चानचुने कुरा पनि होइन । हिमाल चढ्नु भनेको मृत्युलाई आत्मसाथ गर्नु पनि हो । तर, हिमाल चढ्दा प्रकृतिले नभई मानिसकै भीडका कारण ज्यान गुमाएको समाचार आफैमा डरलाग्दो हो । आरोहणको क्रममा ट्राफिक जाम भएको समाचार विश्वब्यापी बनेसँगै नेपालको आरोहण ब्यवस्थापनबारे बिभिन्न कोणबाट टिकाटिप्पणी गरिएको छ । किन यति धेरै व्यक्तिलाई एकै सिजनमा आरोहण अनुमति दिइयो र के कारणले ट्राफिक जामलाई व्यवस्थि तगर्न सकिएन भन्ने प्रश्नहरु विश्वभरबाट उठिरहेको छ । विश्वप्रसिद्ध समाचार संस्थाहरुले आरोहण र सगरमाथामा भएको ट्राफिक जामबारे विभिन्न कोणबाट व्याख्या गरिएको छ । यो विवादकै बीच पर्यटन विभागले आरोहीको मृत्युको कारण ट्राफिक जाम नभएको दावी गरेको छ । विभागले मृत्युको कारण खोजिने जानकारी पनि दिएको छ । जे होस्, यतिबेला सगरमाथाले पुनः एकपटक विश्वको ध्यान खिचेको छ ।

अघिल्लो वर्ष नेपाल फेक रेस्क्युको कारण संसारका ठूला मिडियामा छायो । नेपालको आरोहण र पदयात्रामा जाने पर्यटकहरुलाई नक्कली उद्धारको नाममा बीमा कम्पनीहरुसँग ठूलो रकम असुलिने गरेको सो समाचारका कारण नेपाल आउने पर्यटकहरुलाई धेरै बीमा कम्पनीले बीमा नै गरेनन् । टे«किङ कम्पनी, हेलिकोप्टर कम्पनी र अस्पतालको मिलेमतोमा नक्कली उद्धार हुने विषय सार्वजनिक भएपछि सरकारबाट छानबिन र कारबाहीको घोषणा भयो तर त्यो व्यवहारमा लागु भएन । त्यो घटनाले नेपालको पर्यटन उद्योग विश्वबजारमा असुरक्षित दरियो । अहिले सगरमाथामा त्यस्तै काण्ड दोहोरिएको छ । आरोहणको व्यवस्थापनमा उठेका अनगिन्ती प्रश्नहरुको जवाफ ‘भएको छैन’ भन्ने हुन सक्दैन । आखिर मे २२ र २३ मा सगरमाथाको चुलीतर्फ लम्किएकाहरुको ‘क्याराभान’ विश्वभर पुगेको छ । अर्कालाई उछिन्न पनि नसकिने र पछाडि फर्कन पनि नमिल्ने त्यो कठिन बाटोमा रोकिनुपर्दा धेरैलाई समस्या परेन भन्न सकिँदैन । मुख्य कुरा त के हो भने कठिन यात्राको क्रममा किन त्यहाँ नियमन गरिएन र ट्राफिक जामको सृजना भयो भन्ने हो ।

नेपाल सरकारले अब यो घटनाको मिहिन अध्ययन गर्नुपर्छ । ट्राफिक जाम हुने स्थिति सृजना किन भयो भन्नेबारे विश्वलाई जानकारी गराउनुपर्छ र अब आइन्दा त्यस्तो स्थिति आउन नदिने ग्यारेण्टी गर्नुपर्छ । किनकि, नेपालको पर्यटन आरोहणमै अडिएको छ । आरोहणका गतिबिधिहरु सुरक्षित भएनन् भने राज्यले करोडौँ रकम गुमाउने मात्र हैन, अन्तर्राष्ट्रिय छवि समेत बिग्रने छ । नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा भएको यो घटना सामान्य हुँदै होइन । अतः अनुमति मागे भन्दैमा सबैलाई एउटै समयमा आरोहण अनुमति दिने व्यवस्था अब बन्द गर्नुपर्छ । एउटा सिजनमा कति जनालाई कुन हिमाल चढ्न अनुमति दिने भन्ने मापडण्ड बनाउन ढिलाई गर्नुहुँदैन । हिमाल दोहन गर्ने पूर्वाधार होइन भन्नेबारे पनि अब विमर्श थाल्नैपर्छ । सगरमाथा चढ्न जाने व्यक्तिको हकमा पनि निश्चित मापडण्ड र स्वास्थ्य स्थितिको नियम बनाउनै पर्छ ।