बजेट बनाउँदा ठूला योजनालाई प्राथमिकता दिन उपभोक्ताको माग

बागलुङ, १३ जेठ – आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट बनाउँदा ठुला योजनालाई प्राथमिकता दिन उपभोेक्ताको तहबाट माग हुन थालेको छ । बागलुङ जिल्लाका दशवटै स्थानीय तहले शुरु गरेको योजना छनौटका क्रममा सर्वसाधारणले दिर्घकालिन योजनाहरुलाई प्राथमिकतामा राखेर काम गर्न माग गरेका छन् । पालिकाहरुले वडा कार्यालयमार्फत योजना माग गरेपछि अहिले बागलुङका दशवटै गाउँ तथा नगरपालिकाका वडामा योजना छनौटको काम चलिरहेको छ । ‘हामीले वडाभित्रका गाउँहरुलाई क्लष्टरमा बिभाजन गरेर छलफलमार्फत योजना माग गरेका छौं’ बागलुङ नगरपालिका–६ का वडा अध्यक्ष खिमराज सापकोटाले भने– ‘टोलबासीले योजना छनौट गर्दा अधिकांश ठुला योजना मागेका छन् ।’ अत्यावश्यक बाहेकका साना योजनामा खर्च नगर्न उनीहरुले सुझाव दिएका छन् ।

साना र टुक्रे योजनाहरुमा बजेट खर्च हुने तर कामको प्रभावकारिता कम हुने भएकाले सर्वसाधारणको रोजाईमा ठुला र दिर्घकालिन योजना पर्ने गरेका छन् । ‘वडा तहबाट सिफारिस गर्ने योजनाहरुको लागि हामीले टोल–टोलमा छलफल चलाएर योजना माग्ने गरेका छौं’ काठेखोला गाउँ पालिका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले भने– ‘अहिले धेरैको सुझाव सबैको पहुँचमा रहने ठुला योजना सिफारिस गर्नुपर्छ भन्ने छ ।’ टुक्रे योजनामा बजेट जाँदा केही सडक, खानेपानी, विद्यालय भवन लगायतका योजनमा सम्पन्न हुन बर्षौं लाग्ने भएपछि साना योजनामा सर्वसाधारणको चासो घटेको हो । बजेट निर्माणका बेला योजना माग्ने र सम्झौताको समयमा बजेट कम भएको भन्दै सम्झौता नै नभई कतिपय योजनाको बजेट फ्रिज समेत हुने गरेको छ । बागलुङका पालिका तथा वडा स्तरका गौरवका योजना बनाएर समेत सञ्चालन गर्दै आएका छन् । सर्वसाधारणको मागका आधारमा गत बर्षदेखि नै पालिका तथा वडास्तरीय गौरवका आयोजना घोषणा गरेर काम भैरहेको जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले बताए ।

आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा टोल तथा वडा स्तरबाट आएका योजनाकै आधारमा बजेटको व्यवस्थापन गरिने उनले बताए । यहाँका वडाहरुले चालु आर्थिक बर्षमा ३५ देखि १ सय वटासम्म स–साना योजना बनाएर उपभोक्ता समितिमार्फत काम गरेका थिए । अधिकांश सडक, खानेपानी, सिंचाईका योजना माग हुने गरेका छन् ।
‘चालु आर्थिक बर्षको लागि पनि सडक, खानेपानी र सिंचाई तथा शिक्षा र स्वास्थ्य क्षेत्रका योजना धेरै थिए’ वडिगाड गाउँपालिका–५ का वडाअध्यक्ष अर्जुन प्रसाद खरेलले भने ‘अहिले साविकको वडाहरुमा पुग्ने सडकलाई उपभोक्ताले जोड दिएका छन् । दशवटै पालिका घोषणा हुँदा साविकको गाउँविकस समितिहरुलाई जोडेर बनाईएको थियो । स्थानीय उपभोक्ताले साविकको गाउँविकास समितिका वडाहरुमा सडक, सिंचाई र खानेपानी पुग्ने गरी योजनालाई प्राथमिकतामा राख्ने गरेका हुन् ।

साना र टुक्र योजनाकै कारण बागलुङ नगरपालिका वडा नम्बर ३ मा चालु आर्थिक बर्षमा कतिपय बजेट भएका योजनाको उपभोक्ता समिति गठन भएर पनि काम अगाडि बढ्न नसकेको वडा सचिव भीमसेन पन्तले बताए । काम नभएकै कारण बजेट पनि देखिने र काम पनि हुने खालका योजना सर्वसाधारणको छनौटमा परेका हुन् ।
पालिकाहरुमा योजनाको काम रेखदेख गर्ने र अनुगमन तथा नियमन गर्ने दक्ष प्राबिधिकको अभावका कारण टुक्रे योजनामा अनियमितता हुने सक्ने समेत सर्वसाधारणको बुझाई छ । ‘कयौं साना योजनाका काम हुन्छन् या हुँदैनन् भनेर हेर्ने कर्मचारी खोई’ जैमिनी नगरपालिका–१ कुश्मीशेराका पूर्णप्रसाद आचार्यले भने ‘काम गर्नेले भ्याउने जति मात्रै योजना बनाएर काम गर्नुपर्छ तब मात्रै जनताको करको सदुपयोग हुन्छ ।’ कागजी प्रकृयाले काम पनि नहुने र बजेट पनि सकिने हुने गरेको उनले औल्याए ।