समाजवादी क्रान्ति शान्तिपूर्ण तरिकाबाट

अहिले नेपालमा समाजवादको निकै चर्चा छ । कैयौं ‘बुद्विजीवी तथा राजनीतीज्ञ’हरुले समाजवादको बहस गरिरहेका छन् । तर, उनीहरुमध्ये अधिकांशले शान्तिपूर्ण सहअस्तित्व कै आधारमा समाजवाद आउने बताइरहेका छन् । आजसम्मको विश्व राजनीति र क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको अनुभव, माक्र्सवादी लेनिनवादी अध्ययन र सामाजिक विज्ञान अनुरुप समाजवाद एउटा उथलपुथल क्रान्तिकारी युद्व बिना सम्भव छैन । समाजवाद न बाजा बजाएर आउँछ न त दबाब दिएर । समाजवादको लागि त क्रान्ति सम्पन्न हुनुपर्दछ र सर्वाहारा वर्गको अधिनायकत्व स्थापित हुनुपर्दछ । क्रान्ति बिना आजको दुनियाँमा समाजवाद सम्भव नै छैन । नेकपा र नेकाले भनेको समाजवाद उत्पीडित जनसमुदायलाई लुट्ने समाजवाद हो, त्यो समाजवाद नै होइन । प्रश्न यति मात्र होइन, आज कतिपय राजनीतिक दल र तिनका नेताले सरकारलाई दबाद दिएर पनि समाजवाद आउँछ भन्ने गरेका छन् । त्यो समाजवाद प्रतिको झन् गम्भीर कमजोरी हो ।

आजको नेपालको वर्तमान परिस्थितिमा क्रान्तिकारी शक्तीले प्रतिक्रियावादी सत्ताका विरुद्ध सिधै हस्तक्षेप गरेर समाजवादमा पुग्ने स्थिति छैन । मुख्य गरेर क्रान्तिकारी कम्युनिष्ट पार्टीको कमजोर आत्मगत परिस्थिति, अन्तर्राष्ट्रिय रुपमा एक धुर्वीय विश्व साम्राज्यवाद र स्वयम् कम्युनिष्ट आन्दोलनभित्र रुप पक्षमा क्रान्तिकारी देखिएर सारमा दक्षिणपन्थी अवसरवाद क्रान्तिको लागि समस्याहरु हुन् । नेपाल जस्तो एउट अर्धसामन्ती र अर्धऔपनिवेशिक देशमा नयाँ जनवादी क्रान्तीमार्फत नै समाजवादमा जान सकिन्छ । आजसम्मको विकसित समाजिक विज्ञानको आधारमा नयाँ जनवादी क्रान्तीमार्फत नै समाजवादमा पुग्न सकिन्छ । नयाँ जनवादी क्रान्ति क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमा मात्र सम्भव छ । अहिले नेकपाको दुई तिहाइको सरकारले सविधानमा उल्लेख भएको समाजवाद उन्मुख (जो पुँजिवादी नै हो) नीति तथा कार्यक्रम पनि लिन सकेन । कम्युनिष्ट पार्टीको प्लेटफर्ममा चुनावी विजय हासिल गरेको नेकपाले वास्तवमा राष्ट्रिय पूँजिपति वर्गको प्रतिनिधित्व गर्न नसक्ने भएपछि लोकतान्त्रिक गणतन्त्रको आवरणमा दलाल पुँजिवादको सेवा गरिरहेको छ । दलाल पुँजिवादको सेवा गर्ने नेकपाको सरकारले समाजवाद उन्मुख नीति तथा कार्यक्रम नलिनु कुनै आश्चर्यको विषय भने पक्कै होइन ।

नयाँ जनवादी क्रान्ती बिना समाजवादी नीति तथा कार्यक्रम लागू गर्ने आश्वासन राजनीतिक आन्दोलन माथिकै भद्दा मजाक हो । माक्र्सवादका आधारभूत सिद्धान्तहरुको परित्याग गरिसकेको नेकपाले समाजवादको गर्भधारण गर्न सक्दैन । नेकपा कम्युनिस्ट आन्दोलनको एउटा भ्रम मात्र हो । त्यो एउटा बुर्जुवा दलमा रुपान्तरण भैसक्यो । समाजवादमा पुग्न हामीले नयाँ जनवादी क्रान्ती सम्पन्न गर्नैपर्छ । आजको युगमा नया जनवादी क्रान्तिमार्फत नै समाजवादको यात्रा तय गर्न सकिन्छ । त्यो चुनाव र बुर्जुवा राज्यसत्ताको चौकिदार बनेर सम्भव छैन । बुर्जुवाहरुको प्रतिक्रियावादी राज्यसत्तामा आमूल परिवर्तन नगरिकन आजको युगमा समाजवादको सपना केवल सपना मात्र, अवसरवादीहरुले खेल्ने खेलको एउटा अङ्ग मात्र हो ।

खुस्चेवपन्थीहरुले समाजवादी यात्रा तय गर्न सक्दैनन् । त्यसकारण, नयाँ जनवादी क्रान्तिको लागि हामी सर्वाहारा शिबिरमा गोलबन्द भएर नै समाजवादको लक्षमा पुग्न सक्छौँ । आमूल परिवर्तन बिना समाजवादको गर्भधारण फगत गफ मात्रै हुन् । क्रान्तिको सफलता बिना समाजवाद यो दुनियाँमा कतै उदाएको छैन । ब्यालेटबाट समाजवादको सपना बाँड्नेहरु अवसरवादका नाङ्गा पात्रहरु मात्र हुन् । विचारशुन्यहरुले व्यालेटबाट समाजवादमा पुग्ने भ्रम छरेर लोकतान्त्रिक गणतन्त्रको आवरणमा देश लुट्ने व्यवसाय सन्चालन गरिरहेका छन् ।

नेपालको सविधानमा स्वीकृत समाजवाद उन्मुखको अर्थ वैज्ञानिक समाजवाद उन्मुख भनेको होइन, त्यो बुर्जुवाहरुले जनतालाई ढाट्नको लागि प्रयोग गरिने समाजवादको जलप हो । क्षणिक समयको लागि लगाइने क्यारिरिष्ट नारा मात्र हो । देशको वर्तमान राज्य सत्ताको जुन चरित्र छ, यहाँ समाजवादका प्रारम्भिक कार्यहरु हुने होइनन्, खाली त्यसको रुझानमा पँुजिवाद उन्मुख सानातिना काम मात्र हुन सक्दछन् तर त्यो दलाल प्रकृतिको नै हुने छ । नयाँ जनवादी क्रान्ति सम्पन्न नगरिकन समाजवाद उन्मुख नीति तथा कार्यक्रम बुर्जुवा राज्यसत्ताले लागू गर्न वा त्यो प्रकारको योजना बनाउन सक्दैन । नयाँ जनवादी क्रान्ति आजको आधारभूत आवश्यकता हो । त्यो मूल रुपमा पूँजीवादी प्रजातान्त्रिक क्रान्ति नै हो । तर आजको विश्व साम्राज्यवादि भुमण्डलीकरणको युगमा त्यो क्रान्ति पूँजीपति वर्गको नेतृत्वमा सम्पन्न हुन सक्दैन र खाली सर्वहारा वर्गको पार्टीको नेतृत्वमा नै त्यसको स्थापना हुन सक्दछ । कम्युनिष्ट पार्टीको नेतृत्वमा क्रान्तिकारी वर्गहरुको संयुक्त मोर्चा र दीर्घकालीन जनयुद्ध त्यसका लागि निर्णयात्मक शर्तहरु हुन् । त्यसको तयारी अबको राजनीतिक कार्यदिशा हो । नेपालमा क्रान्ति अरु देशमा भएको क्रान्तिको नक्कल स्वरुप होइन, यहाँको ठोस धरातलमा हुनेछ । त्यस आधारमा अबको सघर्षको दिशा निर्धारण गर्नुपर्दछ ।