गणतन्त्र दिवस र मनन गर्नुपर्ने कुरा

पूर्वीय दर्शनमा दिव्य १२ वर्षको विशेष महत्व छ । बाह्र वर्षमा खोला पनि फर्कन्छ भन्ने लोकोक्ति छँदैछ । देशमा गणतन्त्र आएको दिव्य १२ वर्ष भएछ । संविधानसभाको पहिलो बैठकबाट २०६५ साल जेठ १५ गते घोषित ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ले नागरिकलाई रैतिको दर्जाबाट माथि उकालेको हो । २ सय ३८ वर्ष लामो राजवंशको जरो उखालेर जनताको छोरी÷छोरा राष्ट्रप्रमुख हुने बाटो बनाउन नेपालले लामो यात्रा तय गरेको छ । १ सय ४ वर्षे राणा शासन, पञ्चायत र शाहीकालमा धेरै नेपालीहरुले गणतन्त्रको लागि रगत बगाएका छन् । गणतन्त्र दिवसको उपलक्ष्यमा ती सबैको योगदान स्तूत्य छ । उनीहरु नै अहिलको परिवर्तनका सूत्रधार र द्योतक हुन् । उनीहरुकै त्यागबाट अहिले नेपालले धेरै कुरा पाएको छ । यो प्राप्तिको रक्षागर्दै समुन्नत, अझ बढी समावेशी र लोकतान्त्रिक चरित्रको राष्ट्र बनाउने दिशामा गणतन्त्र दिवसले सबैलाई प्रेरणा देओस् !

२०६२÷०६३ को आन्दोलनले गणतन्त्रको जग बसायो । संविधानसभाको निर्वाचन भयो र संविधानसभाले गणतन्त्र घोषणा ग¥यो । गणतन्त्रलाई संस्थागत गर्ने क्रममा २०७२ सालमा संविधान लेखियो । संविधानले नागरिकलाई अधिकार त दियो तर संविधानप्रति सबै सन्तुष्ट हुन सकेनन् । असन्तुष्टीको स्वर अहिले पनि छँदैछ । गणतन्त्र नै अस्वीकार गर्नेहरुको कुरा बेग्लै ! जे होस्, यतिबेला हामी गणतन्त्र नेपालका नागरिक भएका छौँ । हिजोका राजा अहिले जनता बनेका छन् । उनको त हैन, त्यस्तै कुर्चीमा जनताका छोरी÷छोरा बिराजमान छन्÷ भए । गणतन्त्र नै सबै समस्याको समाधान हो भन्ने नारा अलापेका नेताहरुले सिँहदरबारमा फरक किसिमले शक्तिको उपभोग गरे÷गर्दै आएका छन् । तर, जनताका आकांक्षाहरु भने गणतन्त्रले अझै पूरा गर्न सकेको छैन । गणतन्त्रले दिएका अधिकार केही मुठ्ठीभरका व्यक्तिको हातमा गएको छ । आम नागरिकको दैनन्दिन खासै बदलिएको छैन । बरु, असन्तुष्टीहरुका स्वरुहरु उँचो हुन थालेका छन्, बन्दुक र बारुदमा विश्वास गर्नेहरुको क्रियाशिलता बढ्न थालेको छ । यो गणतन्त्रको लागि राम्रो लक्षण होइन ।

गणतन्त्रपछिका वर्षहरुमा बागमतीमा धेरै धमिलो पानी बगिसकेको छ । धमिलो पानीसँग यहाँका विकृतिहरु बग्न नसक्दा असन्तुष्टीहरु चुलिएका हुन् । जनताले खोजेको परिवर्तन दिन नसक्दा व्यवस्थाप्रतिको आस्था घट्छ कि भन्ने पीर थपिएको हो । यो कुरा सत्ताधारीहरुले बुझेका छैनन् । गणतन्त्र भनेको एउटाले उपभोग गरेको अधिकार अर्को व्यक्तिले उपभोग गर्न ल्याइएको हैन । गणतन्त्रपछिका वर्षहरुमा जनताले यस्तै कटु यथार्थताको अनुभूति गर्न पुगे । राजाको सट्टामा ल्याइएका राष्ट्रपतिको शान उस्तै रह्यो । सत्तामा बस्नेहरुले राज्यकोषको दोहन गर्न छाडेनन् । समाजलाई भावनात्मक एकतामा बाँध्दै राष्ट्रिय एकता मजबुत बनाउने प्रयत्न पनि सुस्त रह्यो । बरु, यो १२ वर्षमा भ्रष्टाचारले नयाँ उचाई कायम ग¥यो । अराजकता बढ्यो । राजनीतिक ध्रुविकरण झांगियो । सत्ताधारीहरु उदार लोकतन्त्रको विपक्षीजस्ता बन्न पुगे । प्रेससहित न्यायपालिकाको मानमर्दन गरियो । भ्रष्टाचारको दुरुपयोग बढ्दै गर्दा अख्तियारजस्तो संस्थालाई अपाङ्ग बनाइयो । यी र यस्ता कामले गर्दा जनतामा गणतन्त्रप्रतिको आस्था तिरोहित भयो÷हुँदैछ । परिवर्तन पश्चगामी हुन सक्दैन र हुनुहुँदैन । गणतन्त्रको हममा पनि यही सर्त लागु हुन्छ । यो वा त्यो बहानामा गणतन्त्रलाई नै कमजोर बनाउने र लुटतन्त्र फैलाउने छुट कसैलाई छैन । समावेशी, समानुपातिक र जनताका आधारभूत आवश्यकता पूरा गर्न सकेमात्र गणतन्त्रको सुदृढ हुन्छ । गणतन्त्र जोगाउन र संस्थागत गर्न उच्च नैतिकवान, राज्य र कानूनप्रति वफादार लोकतान्त्रिक चरित्रका नेताहरु चाहिन्छ । वास्तवमा जनअपेक्षा पनि यही हो र गणतन्त्र दिवस मनाउँदै गर्दा मनन गर्नुपर्ने कुरै यही हो । दिवसको नाममा दिवस मनाएर केही हुँदैन ।