घर टहरा भत्काउन भन्दै टाँसिने सूचनाबाट स्थानीय त्रसिद

बागलुङ, १७ जेठ – पटक–पटक घर टहरा भत्काउन भन्दै टाँसिने सूचनाबाट स्थानीय त्रसिद हुने गरेको गुनासो गरेका छन् । केही बर्षदेखि सूचना टाँस गरेपनि अतिक्रमण गर्ने को हो भनेर खुलाइएको छैन ।
तर आरक्षमा सयौं रोपनी जमिन अतिक्रमणमा परेको तथ्यांक छ । अतिक्रमण गर्नेलाई भने सरकारले हटाउन सकेको छैन । अतिक्रमण बढेको भन्दै केही समयअघि सेना पठाएपछि त्यो क्रम रोकिएको आरक्ष कार्यालयले जनाएको छ । चालु बर्ष पनि यहाँ सूचना जारी गरिएको छ । अतिक्रमण गर्ने को हुन् भनेर यकिन नगरेकोले सूचनाले किसानहरु त्रसिद भएको स्थानीय शिक्षक चकबहादुर अदैले बताए । ‘हरेक बर्ष बस्तीमा लगेर सूचना टाँसिन्छ, तर व्यक्ति तोकिएको छैन’ अदैले भने, ‘सेना लगाएर हटाइन्छ भन्ने सूचनाले किसान डराएका छन् ।’  मुख्य कार्यालय बागलुङमा भएपनि यो आरक्ष रुकुम र म्याग्दी जिल्लामा पनि फैलिएको छ । २०४७ को परिवर्तनपछि यहाँ अतिक्रमण बढेको आरक्षको ठहर छ ।

तीन बर्षदेखि भने सेना खटाइएकोले थप अतिक्रमण नभएको, यस अघिको अतिक्रमण हटाउने योजना जारी रहेको प्रमुख संरक्षण अधिकृत सरस्वती सापकोटाले बताईन् । आरक्ष कार्यालयको तथ्यांकमा ५५ वटा बस्ती छेउको दुई सय ४० हेक्टर जमिन गुमिसकेको छ । कार्यालयले तयार गरेको तथ्यांङ्क अनुसार बागलुङमा सबैभन्दा धेरै एकसय ७७ हेक्टर, म्याग्दीमा ४० हेक्टर र रुकुममा १६ हेक्टर जग्गा अतिक्रमण भएको हो । तर व्यक्तिगत रुपमा कसले कति भनेर नाम तोकिएको छैन । यहाँ हरेक बर्ष युरोप, अमेरिका र अष्ट्रेलिया लगायतका सिकारी लाखौं रुपैयाँ राजश्व तिरेर नाउर र झारलको सिकार गर्न आउँछन् । २०३३ सालमा नेपाल सरकारले १ हजार ३ सय २५ बर्गकिमी क्षेत्रफललाई सिकारका लागि छुट्टाएर आरक्षको स्थापना गरेको थियो ।