गम्भिर अपराधका दोषी कता छन् ?

प्रहरी भन्छ– ‘अनुसन्धान जारी छ’

बागलुङ, १७ जेठ – पाँच बर्षअघि तीजमा माइत गएर फर्केकी काठेखोला–६ की रुपा गौतमको सडकमै हत्या भयो । दिउँसै भएको उक्त हत्याको पाँच बर्ष पुग्दा पनि यहाँको प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन ।
हत्यामा संलग्नको पहिचान समेत नभएको भन्दै अधिकारकर्मी, स्थानीय बासिन्दा र मृतकका परिवारका सदस्यले पटक–पटक प्रहरीमा धाएपनि प्रहरीले केही भन्न सकेको छैन । उक्त घटनापछि जिल्लामा ६ जना प्रमुख फेरिएका छन् । सबैले घटनाको नजिक पुगेको मात्र भन्न छाडेका छैनन् । मृतकका परिवारले अझै दोषीलाई कारवाहीको माग गरिरहेका छन् ।गत साउनमा ढोरपाटन नगरपालिका–१ का २० बर्षिय संगीन जिसीको काठमाण्डौस्थित स्वयम्भूमा हत्या भयो । शरीर काटिएको अवस्थामा भेटिएका जिसीको हत्यामा संलग्नको खोजी गर्नुको साटो लडेर मरेको भन्दै प्रहरी उम्कन खोजेको परिवारको गुनासो छ ।

हरेक बर्ष भएका कतिपय हत्याका घटनामा पनि प्रहरीले अनुसन्धानको क्रम भन्दै पत्ता लगाउन नसकेको पिडितहरु आरोप लगाउँछन् । तत्काल पक्राउ परेका वा किटानी जाहेरी परेका घटनामा मात्र प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको र रहस्यमय भएका घटनामा अनुसन्धान नगरेको अधिकारकर्मीहरुले टिप्पणी गरे । हरेक पटक प्रहरी प्रमुख आएको बेला, मानवअधिकारसँग सम्बन्धीत अभियान र मन्त्रीतहको उपस्थितिमा दुई घटना उठान भैरहेपनि हत्याका संलग्नबारे प्रहरीले केही नबोलेको इन्सेक प्रतिनिधि सिर्जना पन्तले बताईन् । ‘सामान्य घटना र तोकेर उजुरी परेमा मात्र अनुसन्धान गर्ने पद्दती फेरेर हरेक घटनामा प्रहरी जनताको साथी बन्नुपर्छ’ पन्तले भनिन्, ‘हत्यारा पत्ता नलाग्दा किन घटना भयो भन्ने कुरा समेत रहस्यमय बनेका छन् ।’

प्रहरीले भने अनुसन्धान भैरहेको दाबी गरेको छ । ‘अनुसन्धानबाट नजिक पुगेको छ, हत्यामा संलग्न व्यक्ति बिदेशमा भएकोले सार्वजनिक गर्न सकिएन’ प्रहरी उपरिक्षक दिपक रेग्मीले भने, ‘प्रहरीको आन्तरिक रुपमा सर्कुलर गरेर बिदेशसम्म पनि जानकारी पुगेको छ ।’ जिल्ला प्रहरी बागलुङको प्रमुख भएर डेढ बर्ष बसेका रेग्मी हाल अपराध अनुसन्धान महाशाखामा छन् । बागलुङमै २५ बर्षअघि भएको प्रहरी अधिकृत हत्याकाण्ड पनि अहिलेसम्म रहस्यमै छ । जैमिनीमा लागेको माघेसक्रान्ति मेलामा प्रहरी निरिक्षकको हत्या भएको थियो । उक्त घटनामा प्रहरी र प्रशासनले स्थानीयलाई जवरजस्ती कुट्ने, मुद्दा लगाउने गरेको जानकारहरु बताउँछन् । तर वास्तविक हत्यारा पत्ता लगाउन सकेको थिएन । उक्त घटनापछि जैमिनीस्थित कालीगण्डकी किनारमा लाग्ने माघेसक्रान्ति मेला समेत लाग्नै छाडेको छ । हाल स्थानीयले कुश्मीसेरा बजारमा मेला आयोजना गर्न थालेका छन् ।

अपराध अनुसन्धानको क्रममा नेपालको प्रहरीलाई उत्कृष्ठ मान्ने गरिन्छ । तर कतिपय घटनामा प्रहरीले कुनै स्वार्थ समूह र कसैको प्रयोग भएर अनुसन्धान कमजोर बनाउने गरेको अधिकारकर्मी शकुन्तला शर्माले बताईन् । ‘जघन्य प्रकारको अपराध प्रमाणित हुँदा ठूलो सजाय हुने भएकोले अपराधिले धेरै प्रमाण नष्ट गरेकोले पत्ता लागउन नसकिएको समेत पाइन्छ’ शर्माले भनिन्, ‘राजनीतिक नेतृत्वबाट पनि उनीहरु संरक्षित हुँदा अनुसन्धान फितलो हुने गर्छ ।’ हरेक बाहनामा संरक्षण खोज्ने प्रवृत्तिले प्रहरीको अनुसन्धान कमजोर भएको उनले टिप्पणी गरिन् । बागलुङमा भएका घटनाको सन्दर्भमा भने अनुसन्धान र अध्ययन भैरहेको प्रहरी उपरिक्षक कृष्णहरि शर्माले बताए । ‘यसअघि के कस्तो काम भएको छ, त्यसै मैले भन्न सकिन’ शर्माले भने, ‘पुराना फाइल अध्ययन गरेपछि अनुसन्धान कता पुगेको छ बताउन सकिएला ।’ तत्कालै अभियुक्त पक्राउ परेका र किटानी जाहेरी परेका बाहेकका घटनामा हत्या, बलात्कार, बेपत्तामा दोषी पत्ता नलागेको टिप्पणी भने नियमित हुने गरेको छ ।