बोल्न सिक्दै रायडाँडाका अगुवा

बागलुङ, १८ जेठ – बागलुङ नगरपालिका–११ की गुमादेवी गौतम केही दिनदेखी वडा कार्यालय धाईरहेकी छन् । गौतम कुनै कामको लागि नभएर बोल्न सिक्नको लागि वडा कार्यालय धाएकी हुन् । समुह र घरपरिवारको बिचमा खुलेर बहस गर्न सक्ने गौतम खुल्ला मञ्चहरुमा बोल्न सिक्ने सपना बोकेर वडा कार्यालय धाएको चार दिन भयो । अपाङ्ग सञ्जाल वडा कमिटि अध्यक्ष रहेकी गौतम उमेरले झण्डै चालिस काटिन तर बोल्ने रहर पलाएर उनले नेतृत्व बिकास तथा वाक कला सिक्न थालेकी हुन् । उनी जस्तै २५ जना महिला, युवा र बृद्धबृद्धा समेत तालिममा सहभागि छन् । अपाङ्ग सञ्जाल, दलित सञ्जाल, महिला सञ्जाल र जनजाती सञ्जाल वडा कमिटिले मिलेर यो बर्ष नेतृत्व विकास तथा वाककला तालिमको आयोजना गरेका हुन् । प्रत्येक सञ्जालबाट पाँच जनाको दरले तालिममा सहभागि पठाईएको छ । तालिममा सहभागीमध्ये अधिकांश वडामा क्रियाशिल अधिकारकर्मी र अगुवाहरु हुन् । अरु केही समाजका अगुवाहरु पनि बोल्न सिकिरहेका छन् । बोलेरै अधिकारको बिषयमा बहस गर्ने उनीहरु बसेर आफ्ना कुरा राख्न कुनै हिचकिचावट छैन । उनीहरुलाई उठेर बोल्न नसकेकै कारण बोल्न सिक्नु परेको गौतमले बताईन् ।

लक्षित वर्गका लागि बागलुङ नगरपालिकाले छुट्टाएको बजेटको सदुपयोग गर्दै उनीहरुले तालिमको आयोजना गरेका हुन् । ‘हक अधिकारका कुरा नबोलेसम्म कसैले सुन्दैन’ गौतमले भनिन् ‘खुल्ला मञ्चमा बोल्न नजानेकै कारण हाम्रा कुरा कसैले सुन्दैनन् ।’ आँफ्नै सञ्जालले आयोजना गरेका कार्यक्रममा स्वागत भाषणसम्म गर्न नसकेका कारण तालिम लिनुपरेको सहभागीहरुले बताए । जिल्लामा क्रियाशिल रेडियोकर्मी तथा पत्रकारहरुले उनीहरुलाई बोल्न सिकाई रहेका छन् । केही समाजिक संघ संस्थाहरुले समेत बोल्ने कलाको बिषयमा प्रयोगात्मक अभ्यास गराईरहेका छन् ।

एक साता लामो तालिमको सकिनै लाग्दा उनीहरुले उठेर बोल्न सक्ने भएको वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । ‘हामी बोल्न नसक्ने होईन तर खुल्ला फोरममा आफ्ना कुरा राख्न सक्दैनौं’ गौतमले भने ‘उहाँहरुको नेतृत्व विकासका लागि यो तालिम महत्वपूर्ण छ ।’ लक्षित बर्गका लागि छुट्टिएको सानो रकमलाई गोष्ठि र बैठकहरुमा भत्ता बुझेर सक्ने र सिपमुलक तथा नेतृत्व विकास हुने खालका कार्यक्रम आयोजनानै नहुने परिपाठिको अन्त्यका लागि यो प्रयास थालिएको उनले बताए । सहभागी सबैलाई कार्यक्रमको सञ्चालनदेखि स्वागत भाषण, भाषण र धन्यवाद मन्तव्य सम्मका प्रकृयाको बिषयमा अभ्यास गराएर सिकाउने गरिएको छ । ‘उठेर बोल्न कठिन हुने गरेको थियो’ दलित सञ्जालका अध्यक्ष गंगा बस्यालले भने ‘कम्तिमा उठेर बोल्ने भईयो बाँकी प्रयास गरिन्छ ।’ उनीहरुले समय निकालेर तालिम लिएकका छन् ।