भवनको मापदण्ड कहिले ?

प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा एक होटलमा खाना खाए, आराम गरे तर त्यो होटलको उद्घाटन गरेनन् । उनले उद्घाटन गर्ने कार्यक्रम तय भएको होटल भवन पोखरा महानगरको मापडण्ड बिपरित निर्माण भएको छ । बस्ती विकास निर्देशिकाले जमिनको अनुपातमा भवन बनाउन सकिने प्रावधान राखेको छ । तर, पोखरामा यो नियम लागु भएको छैन । पोखरा महानगरपालिकाले पोखरा नगर क्षेत्रमा साडे ३ तलाभन्दा अग्लो घर बनाउन नपाइने नियम छ । पर्यटकीय क्षेत्रमा त अझ साडे २ तलाको भवन मात्र बनाउन पाइन्छ । तर, प्रधानमन्त्रीले उद्घाटन गर्ने भनिएको भवन ९ तले रहेको छ । होटल स्वीस इन्टर नेसनलका संचालक स्वयं महानगरले गठन गरेको भवन मापडण्ड निर्धारण समितिका संयोजक हुन् । उनले पोखरामा अग्ला घर बनाउन मिल्ने सिफारिस महानगरलाई बुझाएका थिए । तर, उनको सिफारिस कार्यान्वयनमा आउन सकेको छैन । चर्को बिरोधपछि उनले दिएको सिफारिस कार्यान्वयन नआएको हो ।
पोखरा भौगोलिक रुपले संवेदनशील क्षेत्र मानिन्छ । भूगर्भवविदहरुले पोखरामा अग्ला घर नबनाउन सिफारिस गरेका छन् भने भूकम्पीय दृष्टिले पनि पोखरा संवेदनशील नै मानिन्छ । यो क्षेत्रमा ठूलो भुईँचालो जान सक्ने भन्दै विज्ञहरुले पटक पटक सचेत गराउँदै आएका छन् ।

यहाँको भूमिको तल्लो भाग बलियो नभएको पनि उनीहरुले औंल्याएका छन् । तर, दुर्भाग्य, उनीहरुको सुझावलाई सरोकारवाला निकायहरुले वास्ता गरेका छैनन् । नियमनकारी निकाय पोखरा महानगरकै अगाडि अग्ला–अग्ला घर बनेका छन् । २०७२ सालको भूकम्पपछि पोखरामा अग्ला घर बनाउन हुने कि नहुने भन्नबारे बहस सुरु भयो । महानगरले पोखरामा मापडण्ड बिपरित बनेका घरहरुको लगत संकलन पनि ग¥यो । तर, त्यो लगत कतै लगेर थन्क्याइयो । मापडण्ड बिपरित बनेका संरचना भत्काउने वा उनीहरुलाई कारबाही गर्नेतर्फ कसैले पहलकदमी गरेन । पोखरा पर्यटकीय दृष्टिले पनि नेपालको राजधानी हो । होँचो ठाउँमा बसेर अग्ला हिमाल हेर्न सकिने संसारको एकमात्र ठाउँ पनि हो पोखरा । अग्ला भवन निर्माण हुँदा पोखरालाई प्रकृतिले दिएको यो उपहारको पनि अवहेलना भएको छ । हिजो पोखराको सबै ठाउँमा बसेर हिमाल हेर्न सकिन्थ्यो । अग्ला घर बनेसँगै त्यो अवसर पोखरेलीबाट खोसिएको छ । पोखरा यतिबेला क्रंक्रिटको जंगल मात्रै बनेको छैन, सुरक्षाको दृष्टिकोणले खतराको सूचिमा पनि सामेल भएको छ । यो दुखद पक्ष हो ।

यतिबेला देशमा सम्मृद्धिको नारा उचालिएको छ । अग्ला घर बनाउँदैमा सम्मृद्धि आउने होइन । प्रकृतिले दिएको उपहारलाई बचाउँदै अगाडि बढ्न सके सम्मृद्धि सम्भव छ । अर्को शब्दमा भन्दा पोखरालाई सुन्दर बनाउन तथा पर्यटकीय नगरीको रुपमा कायमै राख्न यसको दोहन रोकिनुपर्छ । यहाँ बन्ने संरचनाहरुको प्रकृतिमैत्री हुुनुपर्छ । यहाँको भौगोलिक संवेदनशीलतालाई उपेक्षा गरिनु हुँदैन । यसो भनिरहँदा, यतिबेला पोखरा कुरुप हुने अवस्थामा छ । हिजो औलोको डर भएको पोखरा अहिले मानवीय अतिक्रमणमा परेको छ । मानवीय अतिक्रमण तथा अव्यवस्थित बस्ती विकासले यो कुरुप हुँदै गएको छ । नियमकारी निकाय कानमा तेल हालेर बसेको छ । आफैले निर्धारण गरेको मापडण्ड कार्यान्वय गर्न नसक्ने एवं भित्रभित्रै आर्थिक चलखेल गरेर त्यस्ता संरचनालाई वैधानिकता दिने प्रवृत्तिले महानगर ग्रस्त बनेको छ ।

महानगरले अलिकति मात्रै ध्यान दिन सक्यो भने वा हिम्मत ग¥यो भने यहाँ अवैधानिक संरचनाहरु बन्ने क्रम रोकिन्छ । बनेका संरचनाहरुमा कडाइकासाथ कारवाही गर्ने नैतिकता देखाउन सके, त्यस्ता संरचनाहरु भत्काउन पनि सकिन्छ । तर, यहाँ नैतिकताको खडेरी छ, कार्यान्वयन गर्ने हिम्मतको कमी छ अनि टेबुलमुनिबाट आर्थिक लाभ लिएर कानून मिच्नेहरुको राज छ । यही कारणले पोखरामा मापडण्ड लागु हुन सकेको छैन । घाम जत्तिकै छर्लङ्ग भएको यो विषयमा सबै जानकार छन् । हिजो उपराष्ट्रपतिले पोखरामा यस्तै अग्लो घरको उद्घाटन गरेपछि आलोचना भोगेका थिए । प्रधानमन्त्री पनि उद्घाटनका लागि त पुगे तर आलोचनाको डरले उनले उद्घाटन गरेनन् । उनले उद्घाटन नगर्नु एउटा कुरा हो ,भवन निर्माण मापडण्ड नमान्नेलाई कारवाही गर्नु अर्को कुरा हो । प्रधानमन्त्री आलोचनाबाट बचे तर नियमनकारी निकायलाई मापडण्ड कार्यान्वयन गराउने निर्देशन दिन सकेनन् । प्रधानमन्त्रीले नभने पनि अब बेला आएको छ । पोखरामा कस्तो भवन निर्माण मापडण्ड निर्धारण गर्ने भन्ने बहस पनि सुरु भएको छ । मापडण्ड अव्यहारिक भए सच्याउनुपर्छ । तर, मापडण्ड नै लागु नगर्ने प्रवृत्तिको भने अन्य हुनुपर्छ ।