अन्नपूर्ण आरोहण र अन्नपूर्ण म्याराथन

आजभन्दा ६९ वर्षअघि फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरे । हिमाल आरोहण इतिहासमा उनले ८ हजारभन्दा अग्लो हिमाल चढेर किर्तिमानी कायम गरे । त्यसको तीन वर्षपछि तेन्जिङ नोर्गे र एडमण्ड हिलारीले सगरमाथामा पाइला टेके । विश्वको अग्लो हिमाल आरोहणको किर्तिमानसँगै नेपाल बाहिरी विश्वसँग परिचित भयो । हर्जोगले अन्नपूर्णको सफल आरोहण मात्रै गरेनन् आरोहणको दुई वर्षछि सन् १९५२ मा अन्नपूर्ण भन्ने किताब नै लेखे । उनले लेखेको किताब सार्वजनिक भएकै हप्ता ४० हजार प्रति बिक्री भयो । सन् २०१२ मा हर्जोगको निधन हुँदासम्म अन्नपूर्ण किताबको बिक्री करोडौँको संख्यामा भइसकेको थियो । किताब बिक्रीसँगै नेपालको आरोहण र पदयात्राको प्रवद्र्धनमा उनले विशेष योगदान दिएका थिए ।

नेपाल बाहिरी विश्वको लागि सन् १९५० मा मात्र खुल्ला भएको हो । नभए यो हिमाली राज्य केही बेलायती र केही घुमन्ते भिक्षुहरुको लागि मात्र स्वर्ग थियो । तर, नेपाल बाहिरी विश्वको लागि खुलेसँगै यसको चर्चा विश्वभर हुन थाल्यो । खासगरी हिमाल र आरोहणकै माध्यमबाट नेपालले विश्वमा चर्चित हुने अवसर पायो । यसको श्रेय पहिलो चरणमा मौरिस र उनको टिमलाई जान्छ । उनले लेखेको किताब पढेर धेरै विदेशीहरु नेपाल घुम्न आए । यसले नेपालको पर्यटन उद्योगको जग पनि बसायो । मौरिस अहिले हामीमाझ छैनन् । तर, नेपाल पर्यटकीय गन्तब्यको रुपमा विश्वमा चर्चित बनेको छ । आरोहण र हिमाली पदयात्राकै माध्यमबाट नेपालको अर्थतन्त्रमा योगदान पनि भएको छ । अझ खुलेर भन्दा, अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनमा त उनको अतुलनीय योगदान रहेको छ । मौरिसकको यो योगदानको हिजोआज बढी चर्चा हुन थालेको छ । केही वर्षदेखि यहाँका पर्यटन व्यवसायीहरुले अंग्रेजी महिनाको जुन ३ लाई अन्नपूर्ण दिवसको रुपमा मनाउन थालेका छन् । औपचारिक कार्यक्रममा समेटिएको अन्नपूर्ण दिवसले कति सार्थकता देला ? यसै भन्न सकिँदैन । तर, प्रवद्र्धनात्मक गतिबिधिहरु सधैँ सह्रानीय नै हुन्छन् ।

अघिल्लो वर्ष स्थानीय निकायले जनप्रतिनिधि पायो । अन्नपूर्ण हिमालकै नामबाट कास्कीको उत्तरी भेगमा गाउँपालिकाको स्थापना भयो । अन्नपूर्ण समेत पर्ने सो गाउँपालिकाको सहयोग तथा अन्नपूर्ण सेन्चुरी पर्यटन विकास समितिले अन्नपूर्ण आधार शिविरबाट म्याराथन प्रतियोगिताकै आयोजना ग¥यो । धावकहरु हिँडेर अन्नपूर्ण आधार शिविर पुगे र त्यहाँबाट म्याराथनको निर्धारित दूरी पूरा गर्न तलतिर दौडे । म्याराथन पर्यटकीय गाउँ घान्द्रकुमा समापन भयो । अन्नपूर्ण सेन्चुरी पर्यटन विकास समितिले यो वर्ष पनि जुन ३ कै दिन म्याराथनको सफल आयोजना ग¥यो । म्याराथनमा उल्लेख्य सहभागिता रह्यो ।अघिल्लो वर्ष अन्नपूर्ण आधार शिविरमा होटलहरु थिए । तर, यो वर्ष आएको हिउँआँधिले त्यहाँका होटल भत्काइदियो । होटल नहुँदा यो हिउँदमा सो ठाउँमा पर्यटक पुगेनन् । बस्ने र खाने ठाउँको जोहो नभएको ठाउँमा सेन्चुरी पर्यटन समितिले खेलाडी, अफिसियल र स्वास्थ्यकर्मीको टोली पु¥याएर कठिनाईका बीच म्याराथन आयोजना गरेर प्रवद्र्धानात्मक गतिबिधिलाई प्रोत्साहन मात्रै गरेन, मौरिसलाई पनि सम्झ्यो । समितिकै अगुवाईमा आधार शिविरमा निर्माण भएको मौरिसको शालिक भने अनावरण हुन सकेन । समयक्रममा त्यसको अनावरण पनि होला । खासमा अन्नपूर्ण क्षेत्रमा साहशिक म्याराथन आयोजना गर्नु नै चुनौतिसँग खेल्नु हो । आफ्नो ठाउँको प्रवद्र्धनको लागि अन्नपूर्ण सेन्चुरी पर्यटन विकास समितिले जुन पहल गरेको छ,त्यो आफैमा स्तूत्य छ । म्याराथनका निश्चित नियमहरु हुन्छन् । अग्लो भागमा हुने म्याराथनको आफ्नै खालको महत्व हुन्छ । अन्नपूर्ण म्याराथन वार्षिक रुपले आयोजना गर्ने लक्ष्य लिइएकोमा अब यसको व्यवस्थापन र प्रचारप्रसारलाई व्यापक बनाउनुपर्छ । राष्ट्रिय खेलकुद परिषदले निश्चित उदेश्य सहित हिमाली क्षेत्रमा आयोजना हुने यो म्याराथनलाई वार्षिक क्यालेण्डरमा राख्नुपर्छ र देश चिनाउने अभियानलाई सघाउनुपर्छ ।