‘विधेयक संविधानको मर्म विपरित ल्याईयो’

बागलुङ, २३ जेठ – सरकारले ल्याएको मिडिया काउन्सिल बिधेयक नेपालको संबिधानले नागरिकलाई प्रदान गरेको अधिकार खोस्ने मनसायबाट आएको बागलुङमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । नेपालको संबिधान–२०७२ को मर्म विपरित बिधेयक आएको भन्दै बक्ताहरुले तत्काल बिधेयकमा रहेका कमजोरी सच्चाउनु पर्नेमा जोड दिए । नेपालको संबिधानले प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रतालाई अधिकारको रुपमा स्थापित गरेको भएपनि त्यसलाई कुण्ठित गर्नेगरी विधेयक आएको उनीहरुको भनाई थियो । नेपाल पत्रकार महांघले बुधबार आयोजना गरेको मिडिया काउन्सिल विधेयक विषयक अन्तरक्रिया कार्यक्रमा सहभागीले सरकारले राष्ट्रियसभा सचिवालयमा दर्ता गरेको ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा पत्रकारिता क्षेत्रलाई अंकुश लगाउन खोजेको आरोप लगाए । उनीहरुले विधेयक तत्काल खारेज गर्न माग गरे ।

प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने गरि ल्याईएको विधेयकमा कयौं कमजोरी रहेको बताउँदै वक्ताहरुले नेपालको परिवर्तित आन्दोलनमा सञ्चार माध्यमले खेलेको सकारात्मक भूमिकालाई स्मरण गर्न आग्रह गरे । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका बागलुङका सचिव ज्ञामनाथ गैरे, नेपाली कांग्रेसका पार्टी सभापति दिपेन्द्र थापा, राष्ट्रिय जनमोर्चाका सचिव भीमलाल पोख्रेल, संघीय समाजवादी पार्टीका संयोजक चित्र सापकोटा, नागरिक समाजका अध्यक्ष काजी गाउँले श्रेष्ठ, नेपाल पत्रकार महासंघका पुर्वअध्यक्ष रामबहादुर जिसी, पत्रकार ज्ञानेन्द्र गौतम, तारानाथ आचार्य, नविन विक लगायतले बोलेका थिए । नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कोषध्यक्ष विजय राना र सञ्चालन सह–सचिव सुवास आचार्यले गरेका थिए । –प्रशिक्षार्थी