आध्यात्मिकता

आजको युग विज्ञान र प्रविधिको युग हो र यहाँ आध्यात्मिकता प्रायः लोप भइरहेको छ साथै कैयौं भौतिकवादीहरु त आध्यात्मिकतालाई कल्पनाको रुपमा लिन्छन् । त्यसैले आज आध्यात्मिकतालाई जागृत गर्न आवश्यक भै सकेको छ अनि यो कार्य केवल एक परमशक्ति परमात्माद्वारा नै सम्भव छ । आध्यात्मिकता विना कुनै पनि कार्य चाहे सैैद्वान्तिक होस् वा व्यवहारिक चाहे राजनैतिक नै किन नहोस् सही रुपले सफल हुन सक्दैन । त्यसैले आज यो जान्नु आवश्यक छ कि आखीर यो आध्यात्मिकता के हो ?
आध्यात्मिकता त्यसलाई भनिन्छ जसले आत्मा, परमात्मा र वास्तविक कर्तव्यको बोध गराउँछ । आत्माबोध भन्नाले आत्माको सही एवं यथार्थ परिचय भन्ने बुझिन्छ । आत्मा एक अजर, अमर, अविनाशी सत्ता हो जो यस शरीरमा प्रवेश गरेर शरीरलाई संचालन गर्दछ । आत्माको ज्ञान नहुनुको कारण नै संसारमा अशान्ति फैलिरहेको छ । कालो–गोरो वर्ण, धर्म, भाषा आदिको विचमा अनेकानेक लडाई भइरहेको छ । कर्तव्यबोध भन्नाले आफ्नो कर्मको जानकारी भन्ने अर्थ हुन्छ । कस्तो कर्मको कस्तो फल हुन्छ, कर्मद्वारा संस्कार कसरी निर्माण हुन्छ, कर्मको गुह्यगति के हो ? आदि कुराहरुको ज्ञान हुनु नै कर्तव्य बोध हो ।

परमात्मा बोध भन्नाले परमात्माको वास्तविक नाम, रुप के हो ? परमात्माको निवास कहाँ छ, उहाँलाई त्रिलोकीनाथ भन्नुको अभिप्राय के हो ? आदि जस्ता कुराहरु परमात्मा बोध अन्तर्गत पर्दछन् । आज हामी यो अनुभव गर्दछौं कि हाम्रो जीवनबाट आध्यात्मिकता प्रायः लोप भइसकेको छ । हुनत आज मनुष्यहरु आध्यात्मिकताको लागि अनेक मार्गहरु अपनाइरहेका छन् । जस्तै भक्ति, जप, तप, दान, पुण्य, शास्त्रार्थ आदिको अध्ययन आदि आदि । के यसबाट आध्यात्म प्राप्त हुन्छ त ? हामीलाई थाहा छ कि उपरोक्त कार्यहरु अन्धश्रद्धा भावनाबाट अपनाइएका छन् । के हामी यसबाट सन्तुष्ट छौं ? के अन्य व्यक्तिहरुको यस प्रति आस्था छ ? के आज प्रचलित धार्मिक रीति रिवाज वर्तमान समाजको लागि कल्याणकारी छन् ? यी सबै प्रश्हरुको एउटै उत्तर हो – छैन । आज हामीले पुराना कुराहरुलाई समातेर राखेका छौं । त्यसैले समाजलाई केही दिन सकेका छैनौ किनकि हाम्रो आफ्नै जीवन सन्तुलित र मर्यादित छैन वा भन्नु र गर्नुमा एकरुपता छैन । त्यसैले स्पष्ट छ कि हाम्रो वर्तमान मान्यताहरु र विवेक रहीत अन्धवादी कथित धार्मिकता, आध्यात्मिकता होइन । साच्चै भन्नु पर्दा आध्यात्मिकताको अन्धविश्वास र साम्प्रदायिकतासँग ‘गोरु’ बेचेको र ‘बिरालो’ थुनेको सम्बन्ध पनि छैन । जस्तोकी पहिले नै उल्लेख गरिसकियो आध्यात्म अर्थात् ‘अध्य+आत्मा’ अथवा आत्माको आदि मध्य र अन्त तिनै कालको यथा सत्य निरुपण नै आध्यात्मको मुख्य विषय वस्तु हो । हाम्रो आज समयको दर्शन आत्माको यथासत्य र स्पष्ट परिचय दिन पनि अधुरो मात्रै नभई असफल नै रहेको छ । विश्वमा दुई सय भन्दा बढी धार्मिक सम्प्रदायहरु छन् । तर विश्वका आधा भन्दा बढी जनसंख्या आत्मा र परमात्मा भन्ने शव्द सुन्दै चिढिन्छन् ।

यस्तो अवस्था नै वास्तवमा गितामा वर्णित धर्म ग्लानिको समय हो । आध्यात्मिक शिक्षाको एक मात्र श्रोत एक परमात्मा हुनुहुन्छ अथवा परमपिता परमात्माले दिएको ज्ञान नै आध्यात्म हो र यही आध्यात्मले मानवमात्रमा आन्तरिक परिवर्तन र उसमा भएका जस्तै भय, ईष्र्या, द्वैष, घृणा एवं वैमनष्यतालाई समाप्त गर्न सक्दछ । मानवले दैवी गुण र मानसिक शक्तिहरुको संचय गरेर यो मानव जीवनलाई आदर्श बनाउन सक्दछ । यो परमात्मा प्रदत्त आध्यात्मिक शिक्षा कुनै हरेक धर्मको सर्वसामान्य तत्वको रुपमा रहेको विस्मृत तथ्य हो । यसैले आध्यात्मिक ज्ञानको श्रोत परमात्मा सृष्टिको पहिलो मानवलाई उनीहरुको वास्तविकताको परिचय दिनुहुन्छ र अनुभव पनि गराउँनुहुन्छ कि मानवको यो जीवन केवल भौतिक शरीर मात्र होइन बरु यो भौतिक शरीर रुपी गाडीलाई चलाउने आत्मामा नै मानवको वास्तविकता निहीत छ । यो आत्माले नै आफूलाई शरीरद्वारा अभिव्यक्त गर्दछ । मन, बुद्धि, संस्कार सहित यो आत्मा एक प्रकाशवान हो र परमात्माको अमर सन्तान हो । यदि वास्तविकतालाई महसुस गर्ने हो भने सबै मानिसहरुले परमात्मालाई पिता मानेर भातृत्व भावले विश्वलाई एक वृहद परिवार बनाउन सक्दछन् । परमात्माको सत्य धर्म स्थापनाको कार्य “वसुदैव कुटुम्बकम” बाट नै आरम्भ हुन्छ । संसारभरीमा व्याप्त सारा भेद–विभेद, संघर्षको अन्त आध्यात्मिक शिक्षाको प्रथम पाठबाट मात्र सम्भव छ । यस्तो कार्य कुनै पनि वैज्ञानिक, राजनिति वा धर्मस्थापक आदिले गर्न सक्दैनन् । किनकि सृष्टिको जन्ममरण वा काल चक्रको अधिन कुनै पनि व्यक्ति विशेषले मनुष्य सृष्टिको आदि मध्य र अन्त्य वा आत्मारुपी अभिनेताको सृष्टि चक्रसँगको सम्बन्धबारे केही ज्ञान दिन सक्दैन । परमात्मा नै जन्म मरणबाट अलग हुनुहुन्छ र यसैले वहाँ नै सत्यज्ञानको श्रोत हुनुहुन्छ र वहाँले नै यी सारा समस्याहरुको समाधान गर्न सक्षम हुनुहुन्छ । यसरी हामीले देख्दछौं वर्तमान संसार जो कि अत्यन्त विकट समस्याहरुले ग्रसित छ । यस्तो दुःखमय संसारलाई सुखमय संसार बनाउने एवं सुसंस्कृति बनाउने एक मात्र उपाय हो आध्यात्मिक जागरण ।

आध्यात्मिक शिक्षाबाट नै चरित्रको उत्थान
वर्तमान शिक्षा प्रणाली अन्तर्गत अनेकौ विषयहरुमा शिक्षा दिइन्छ, निसन्देह ती सबै विषयहरुको आ–आफ्नो उपयोगीता छ तर आजको समाजलाई भौतिक साधनहरुले सम्पन्न बनाउनको साथै यस समाजलाई सुसंस्कृत सहज व्यवहारयुक्त र शान्तिमय वातावरणयुक्त समाज बनाउन पनि त्यतिकै महत्वपूर्ण एवं आवश्यक छ । यसको लागि मानव नै यस सृष्टिको प्रमुख पात्र हो भने उसले नै समाजमा बसेर निभाउने चारित्रीक विशेषताहरु नै मानव जीवनको प्रमुख गहना हो । यसैले भनिन्छ कि चरित्र गयो त सबै चिज गयो । यसर्थ चरित्र जीवनको अमूल्य गहना हो र त्यसलाई सम्भाल गर्ने हाम्रो परम कर्तव्य हो । वास्तवमा कुनै पनि व्यक्ति, धन, रुप, बल वा विद्धताले भरिएको होस् तर उसमा चरित्र रुपी गहना छैन भने उ शक्तिहीन निधन हो । साधारण तथा कुनै पनि व्यक्ति धन वा सुन्दरताले मात्र महान् बन्न सक्दैन तर निष्ठ कर्म सत् चरित्रद्वारा महान् वा गायन योग्य बन्न सक्दछ । ओम् शान्ति