क्विक्स कप फुटबल प्रतियोगिता आजदेखि

बागलुङ, २५ जेठ – जिल्ला फुटबल संघ बागलुङको आयोजनामा शनिबारदेखि रामरेखास्थित बाङ्गेचौर खेल मैदानमा क्विक्स कप अन्तरस्कुल स्तरीय छात्र तथा छात्रा फुटबल प्रतियोगिताको शुरु हुँदैछ । शुक्रबार एन्फाले गोलाप्रथामार्फत खेल तालिका निकालेको छ । एन्फाले छात्रतर्फ शनिबारदेखि बागलुङ हुने प्रतियोगितामा २० टिम र सोमबार र मंगलबार गल्कोट नगरपालिका–११ रिघामा भएको इलाका छनौटमा सहभागी ५ टिम गरि २५ विद्यालयले सहभागिता जनाउन लागेको जनाएको छ । यस्तै, छात्रातर्फको प्रतिष्पर्धामा ४ विद्यालय सहभागि छन् ।

शनिबार अमर आदर्श मावि र सिद्वार्थ शिक्षा सदनको छात्रा टिमबीच उद्घाटन हुने एन्फा बागलुङले जनाएको छ । यस्तै दोस्रो खेलमा छात्रातर्फ नै चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलविरुद्ध न्यू एभरेष्ट एकेडेमीबीच हुनेछ । प्रतियोगिताका विजेता टिमले जेठ ३२ गते फाइनल खेल खेल्नेछन् । यस्तै एन्फाले सार्वजनिक गरेको खेल तालिकाअन्तर्गत आईतबारदेखि समुह चरणमा छात्रतर्फ ३ समुहको खेल हुने जनाईएको छ । एक समुहको खेल इलाका छनौटको रुपमा मंगलबार गल्कोट नगरपालिका–११ रिघामा सम्पन्न प्रतियोगिताको विजेता रत्नलक्ष्मी मावि सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

छात्र तर्फको खेल आईतबारदेखि हुने एन्फा बागलुङले जनाएको छ । प्रतियोगितामा छात्र तर्फको विजेताले नगद १५ हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, छात्रा तर्फको विजेता टिमले ५ हजार रुपैयाँ र उपविजेता टिमले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । एन्फाको बार्षिक क्यालेन्डरअन्तर्गत हुन लागेको प्रतियोगिता जेठ ३२ गतेसम्म संचालन हुनेछ ।