क्विक्स कप अन्तर विद्यालय (छात्रा/छात्र) फुटबल प्रतियोगिता सुरु

प्रतियोगिताको छात्रा तर्फ न्यू एभरेष्ट एकेडेमी र सिद्धार्थ शिक्षा सदन फाइनलमा

बागलुङ, २५ जेठ – क्विक्स कप अन्तर विद्यालय (छात्रा/छात्र) फुटबल प्रतियोगिता शनिबार देखि बागलुङमा सुरु भएको छ । बागलुङ नगरपालिका वडा नं. १ रामरेखा स्थित बाङगेचउर खेलमैदानमा भएको पहिलो दिनको खेलमा छात्रा तर्फका २ खेल सम्पन्न भएको हो । जस अन्र्तगत सिदार्थ शिक्षा सदनले अमर आर्दश आवासीय माबिलाई ‘सदन डेथ’मा हराउँदै फाइनलमा प्रवेश गरेको हो । चार टिमको सहभागिता रहेको प्रतियोगितामा निधारित ५० मिनेटकोे खेलमा दुवै टिम १/१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयमा खेल बराबरीमा टुंगिएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा पनि दुवै टिम ३/३ गोलमा रोकिदा ‘सदन डेथ’मा सिदार्थ शिक्षा सदनले अमर आर्दश माविलाई ४/३ गोलले हराएको हो ।

यसैगरी प्रतियोगिताको दोस्रो खेलमा न्यू एभरेष्ट एकेडेमीले चिल्ड्रेन लाईफ बोडिङ स्कुललाई पनि ‘सदन डेथ’मै हरायो । यो खेलसँगै उसले फाइनल यात्रा तय गरेको छ । खेलको निर्धारित समयसम्म दुवै टिमले कुनै गोल गर्न नसक्दा खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा पनि दवै टिमको हार जितको निर्णय नहुँदा ‘सदन डेथ’मा न्यू एभरेष्ट एकेडेमीले चिल्ड्रेन लाईफलाई ४/३ गोल अन्तरले पराजित गरेको हो । प्रतियोगितमा छात्रा तर्फ ४ विद्यालय र छात्र तर्फ २५ विद्यालयको सहभागिता रहेको जिल्ला फुटवल संघका अध्यक्ष रामराज गुरुङले बताए । छात्रा फुटवल प्रतियोगिताको फाइनल खेल जेठ ३२ गते हुने छ ।

प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले विद्यार्थीमा लुकेको कला कौशललाई प्रष्फुटन गर्ने राम्रो ठाँउ ‘क्विक्स कप’ प्रतियोगिता बनेको बताए । उनले विद्यार्थीलाई मर्यादित र संयम तरीकाले खेल्न आग्रह गरे । प्रमुख पौडेलले रेफीको हातमा बल दिएर प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन समारोह जिल्ला फुटबल संघ बागलुङका उपाध्यक्ष रेशम गोतामेको अध्यक्षत, सदस्य राहुल बोहराको स्वागत र सदस्य जय राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।