भगतसर्वजित विश्वकर्मा संग्राहलय बनाईने

बागलुङ, २६ जेठ – भगतसर्वजित विश्वकर्मा प्रतिष्ठानको अगुवाईमा बागलुङ नगरपालिका ७ कालीमाटीमा संग्राहलय बनाईने भएको छ । दलीत आन्दोलनका अगुवा तथा हिन्दु धर्मसंस्कृतिको अध्ययन र व्यख्या समेत गर्न सक्ने क्षमता राख्ने भगत सर्वजितको जन्म भएकै स्थानमा संग्राहलय बनाइन लागिएको हो । शनिवार एक कार्यक्रमका बीच संग्राहलय निर्माणको शिलान्यास भएको छ । गण्डकी प्रदेशसभाका सदस्य इन्द्रलाल सापकोटाले संग्राहलयको शिलान्यास गरेका हुन् ।

उक्त अवसरमा बोल्दै सापकोटाले भगतसर्वजित बिश्वकर्मा जातले विश्वकर्मा भएपनि नेपाली भाषा, साहित्य र संस्कृतिको क्षेत्रका उज्वल नक्षत्र भएको बताए । भाषा संस्कृति संरक्षण गर्नकै लागि उनले दलीत समुदायबाट माथी उठेर पढ्नेलेख्ने मात्र नभई संस्कृत र बेदपुराणको अध्ययन समेत गरेको सापकोटाले बताए । कार्यक्रममा जिल्ला खेलकुँद बिकास समितिका अध्यक्ष धनबहादुर परियारले दलीत प्रति गरिने भेदभाव बिरुद्धका व्यक्तिको अभियानमा अझै सम्मान गर्न नसकिएको बताए । स्थानीय तह र राज्यका सबै निकायले प्रतिष्ठानलाई सहयोग गरेर ईतिहास संरक्षणमा लगानी गर्नुपर्ने बताए ।

अन्य जिल्लामा समेत प्रतिष्ठान बनेर काम भएको भन्दै आफ्नै माटोमा अझै लगानी गर्न नसक्दा भगतसर्वजितको योगदान ओझेलमा परेको बताए । प्रतिष्ठानका अध्यक्ष ओमबहादुर बिकको अध्यक्षता, महासचिव परशुराम बिकको संचालन र चन्द्र बिकको स्वागतमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष खेमराज पाण्डे, देवीराम बिक, शशिधर गौतम र मेघनाथ गैह्रेले भगत सर्वजितको योगदानको चर्चा गरेका थिए ।