कांग्रेस कमजोर हुँदा गणतन्त्र पनि कमजोर :भण्डारी

कांग्रेसको एक महिने जागरण अभियानको समापन

बागलुङ, २६ जेठ – कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले नेपालमा कांग्रेस कमजोर हुँदा लोकतन्त्र र गणतन्त्र कमजोर बनेको बताएका छन् । कांग्रेसले एक महिना देखि संचालन गरेको पहिलो चरणको राष्ट्रिय जागरण अभियानको समापन गर्दै भण्डारीले गणतन्त्रको रक्षाका लागि पनि कांग्रेस बलियो बन्नुपर्ने धारणा राखे । उनले ईतिहासमा अन्य कालखण्डमा पनि कांग्रेस कमजोर भएकै बेला नेपाली जनताका अधिकार खोसिएको दृष्टान्ट दिए । भण्डारीले देशमा पछिल्लो समय बढेको अत्याचार, बलात्कार, भ्रष्ट्राचार जस्ता जघन्य अपराधमा सरकार मौन बस्दा अपराधिहरुले प्रसय पाएको भन्दै चिन्ता व्यक्त गरे ।

त्यस्ता अपराध र जनता बिरोधी कामलाई चिर्दै जनतालाई कांग्रेसको सिद्धान्त र मान्यता बुझाउन अभियान गरिएको समेत उनले प्रष्ट पारेका थिए । कांग्रेसले गत वैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म देश भर एक महिने पहिलो चरणको जागरण अभियान चलाएको थियो । यो अभियान अन्र्तगत हरेक जिल्लामा एक एक जना केन्द्रीय प्रतिनिधि खटाएर वडा तह सम्म जागरण अभियानका कार्यक्रम संचालन गरिएको थियो । कांग्रेसले राष्ट्रिय जागरण अभियान नाम दिएको यो अभियान मार्फत बागलुङका ८५ वटै वडामा विभिन्न प्रकारका कार्यक्रम सम्पन्न भएको पार्टी सभापति दिपेन्द्रबहादुर थापाले जानकारी दिए । शनिवार बागलुङ बजारमा आयोजित समापनमा बोल्दै थापाले सबै भातृ संगठन समेत चलायमान हुने गरी जागरण अभियान सम्पन्न भएको दावी गरे ।

उनले जिल्लाको बिकास निर्माण, खानेपानीको समस्या जस्ता बिषयमा पनि स्थानीय सरकार र संघिय सरकारले चासो नदिएको टिप्पणी गरे । अब जनताको दैनिक जीवन निर्वाहका क्षेत्रमा पनि कांग्रेसले अभियान चाल्नुपर्ने आवस्यकतामा उनले जोड दिएका थिए । कार्यक्रममा सांसद ज्ञानकुमारी छन्त्यालले प्रतिपक्ष कांग्रेसले सत्तापक्ष नेकपाको हरेक गल्तीमा खवरदारी गर्ने बताइन् । नेपाली कांग्रेस बागलुङका सभापति दिपेन्द्रबहादुर थापाको अध्यक्षता, कोषाध्यक्ष उमेश गौतमको स्वागत र सचिव नवराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।