धौलागिरी क्षेत्रका सहकारी बिच सम्मेलन

बागलुङ, २७ जेठ – धौलागिरी क्षेत्रका सहकारीका संचालक र प्रबन्धक समेतको सहभागिता रहेको पहिलो सहकारी सम्मेलन बागलुङमा सुरु भएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघको अगुवाईमा यो सम्मेलन भएको हो । आइतवार सहकारी बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सम्मेलनको उद्घाटन गरे । उनले अब हरेक सहकारीहरु रोजगारी सिर्जना गर्ने र उत्पादनमुलक बन्नुपर्ने धारणा राखे । नेपालको अर्थतन्त्रमा सहकारीहरुले खेलेको भूमिकाको प्रसंसा गर्दै उनले अब सहकारीहरु राज्यको अपरिहार्य अंग बन्ने वातावरण सहकारीकर्मीले बनाउनु पर्ने समेत बताए । पौडेलले अन्तर सहकारी कारोवार, कर्जा सूचना केन्द्र स्थापना र सहकारी मार्फत रेमिट्यान्स कारोवारको ढोका खोल्न सरकारलाई आग्रह गरेको समेत बताए ।

कार्यक्रममा सहकारी बिभागका रजिष्ट्रार टोकराज पाण्डेले सहकारीहरु ग्रामीण बासिन्दाको आवस्यकता पुरा गर्ने संस्था भएको बताए । तर उनीहरुले जनताको आवस्यकतामा काम गरेका छन् भन्दैमा कानून मिचेर हिड्न नहुने सुझाए । सहकारीलाई अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा स्थापित गर्नका लागि सम्मेलन गरिएको समेत बताइएको छ । सम्मेलनले सबै स्थानीय तहको सहकार्यमा उत्पादन मूलक क्षेत्रमा लगानी गर्ने, रोजगारी बढाउने र अर्थतन्त्रको बिकासमा योगदान दिने लक्ष राखेको संघका अध्यक्ष चण्डीप्रसाद पौडेलले बताए । अब तल्लो स्तरका जनताको जीवन निर्वाह गर्न सक्ने र धनी बनाउने गरी सहकारीहरु आउनुपर्ने सबैको धारणा थियो ।

आयोजकले पनि हरेक जनतालाई धनी बन्ने वातावरणका लागि सम्मेलन गरेको बताएका छन् । सम्मेलनमा २ सय ५० बढी सहकारीकर्मीको सहभागिता छ । दुइ दिनसम्म चल्ने सम्मेलनमा सातवटा कार्यपत्रको प्रस्तुतीकरण गरिने कार्यक्रम छ । केही सहकारीले रकम उठाएर भागेकोले जनतामा परेको नकारात्मक दृष्टीकोण अन्त्य गर्दै बिकास निर्माणमा साझेदार बन्नका लागि पूंजिको एकीकरण गर्ने लक्ष पनि राखिएको राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसीले बताए । बर्षेनी ४ अर्व बढी रकम धौलागिरी क्षेत्रमा मात्र संकलन भएकोले उक्त रकमलाई उत्पादनमा लगानी गर्न सम्मेलनले कार्यदिशा दिने उनले बताए ।

जलविद्युत, घरेलु तथा मझौला उद्योग र व्यवसायमा लगानी गर्न सहकारी आतुर भएको आयोजकले बताए । सम्मेलनका लागि राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष दक्ष पौडेल, सहकारी बिभागका रजिष्ट्रार टोकराज पाण्डे लगायतले कार्यपत्र प्रस्तुत गरेर सहकारीको नियमन, बिकास र जनताको घरदैलोमा लैजान गर्नुपर्ने काम बारे बताएका छन् ।