मिडिया काउन्सिल विधेयक संशोधन गर्नुपर्छ : थापा

बागलुङ, २७ जेठ – सरकारले हालै ल्याउन लागेको मिडिया काउम्सिल बिधेयकलाई संशोधन सहित पारित गर्न राप्रपाले माग गरेको छ । राप्रपाका अध्यक्ष कमल थापाले बागलुङमा आयोजित पत्रकार सम्मेलन मार्फत विधेयक फिर्ता गर्न आग्रह गरेका हुन् । आइतबार मिडिया नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले सरकारको ध्यानाकर्षण गराउन पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले निर्णय समेत गरिसकेको सुनाएका थिए । थापाले वर्तमान सरकारले बिधेयक मात्र नभई हरेक क्रियाकलाप लोकतन्त्र बिरोधी गरिरहेको आरोप समेत लगाए ।

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रबादी भएपनि सहयोगीहरुको कारणले एक पछि अर्को घटनामा अधिनायकबादी र देश बिरोधी क्रियाकलाप देखिएको बताए । उनले सबैको अस्तित्व स्विकार गर्ने संविधान र सरकार बनाउन पनि आग्रह गरे । थापाले राजा देखि बिप्लब माओवादी समेत अटाउने लोकतन्त्रको बैकल्पिक बाटोको खोजी गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।