बागलुङमा ३ दिने योग शिविर संचालन

बागलुङ, ३१ जेठ – स्वास्थ्य जीवन अभियान भन्ने नाराका साथ बागलुङमा तीन दिने वृहत योग शिविर संचालन गरिएको छ । बिहिवार देखि शुरु भएको शिविर शनिवार सम्म चल्ने बताइएको छ । गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालय र यहाँको धौलागिरी अञ्चल आर्युवेद औषधालयले तीन दिने योग शिविर संचालन गरेको हो । निशुल्क शिविरमा जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, सामाजिक अगुवा, कर्मचारी र बिद्यार्थी समेत गरी ५ सयले भाग लिएका छन् । योगका गुरु बिकासानन्दले शिविरमा प्रशिक्षण दिएका छन् ।

पद्दती मिलाएर योग गरेमा औषधिको बिकल्पको रुपमा शरिरका धेरै रोग निको पार्न सकिने भन्दै उनले तालिम दिएका छन् । मिलाउन नसक्दा योग बाट बिरामी झनै बल्झने पनि उनले बताए । योगबाट स्वस्थ्य रहने मात्र नभई मानवबाट महामानव बन्न सहयोग पुग्ने उनले बताए । कार्यक्रममा नगरका प्रमुख जनकराज पौडेल, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री लगायतले पनि सहभागिता जनाएका छन् । तीन दिन सिकाईने योग शिविरमा उठेर, बसेर र सुतेर गरिने योगका चरणहरु सिकाईने छ ।