मधुमेहः समस्या र रोकथाम

स्वास्थ्य क्षेत्रमा जटिल समस्याको रूपमा देखापरेका रोगहरूमध्ये मधुमेह रोग पनि एक हो । यो रोग मानिसको आहार, बिहार, रहनसहन आदिका कारणले संसारभरि नै धनी, गरिब, शिक्षित, अशिक्षित, विकसित, अविकसित सबैमा दिन प्रतिदिन बढ्दै गइरहेको छ । मधुमेह रोग दीर्घकालीन शरीर गाल्ने रोग हो । साधारणतया खाएका खानेकुराहरू पाचनको क्रममा ग्लुकोजमा परिवर्तन भई रगतको माध्यमबाट सम्पूर्ण शरीरका कोषहरूमा पुग्छन् । अग्न्यासय (फियो) भन्ने भित्री ग्रन्थिबाट निस्किने इन्सुलिन हरमोनको सहायताले ग्लुकोज शक्तिमा परिवर्तन हुन्छ । शरीरका लागि आवश्यक शक्ति कोशिकाहरूको तुरुन्त प्रयोग गर्दछन् भने अनावश्यक ग्लुकोज पछिका लागि कलेजोमा सञ्चित रहन्छ । तर, अग्न्यासयबाट निक्लने रसको पूर्णतया अभावको कारणले गर्दा हामीले खाएको पदार्थबाट बनेको ग्लुकोजलाई कोषिकाहरूको शक्तिका लागि प्रयोग गर्न सक्दैनन् र रगतमा जम्मा हुँदै जान्छ । ज्यादै बढी भएमा पिसाबमा समेत गुलियो पदार्थ निक्लनु र पटकपटक पिसाब लाग्ने रोगलाई मधुमेह (चिनी रोग) भनिन्छ ।

कस्ता खालका मानिसलाई मधुमेह हुन सक्छ ? खानमा सौखिन, सुत्नमा सौखिन, अति मोटो, अति मैथुन गर्नेलाई, वंशानुगत रूपमा आफ्ना अग्रजमा यो रोग भएका, स्त्री जसले ९ पौण्डभन्दा बढी वजनको बच्चा जन्माउँछन् आदिलाई यो रोग हुने सम्भावना बढी हुन्छ । यस्तै जुम्ल्याहा दाजुभाइ, दिदीबहिनी, लगातार ओरल कन्ट्रासेप्टिक (आकस्मिक गर्भ निरोधक) प्रयोग गरी पटकपटक गर्भपतन हुने स्त्रीलाई, शारीरिक आघात भएका, अति चिन्ता, शोक गर्ने, बराबर व्यायाम नगरी एकान्तमा बस्ने गर्नाले यो रोग हुन्छ ।

लक्षणः पिसाब धेरैपटक लाग्नु र पिसाबमा कमिलाहरू लाग्नु, तिर्खा बढी लाग्नु, भोक बढी लाग्नु, शरीरको तौल एक्कासी घट्नुरबढ्नु धेरै कमजोरी हुनु, चोटपटक पनि निको हुन लामो समय लाग्नु, मुख सुक्खा हुनु र मुखमा गुलियो भइरहनु, जिब्रो, दाँतमा मैलो जमिरहनु, हातगोडामा जलन (पोलेको अनुभूति) हुनु, मांसपेशीहरूमा शिथिलता तथा पीडा, छालामा रुक्षता–खस्रो तथा संकोच (खुम्चिने) हुनु, लिंग तथा योनिमा संक्रमण हुनु, जसले गर्दा सो ठाउँमा चिलाउँछ । यसरी नै आँखा देख्नमा धमिलो हुनु, यौन क्रियामा शिथिलता आउँछ तथा भ्रम तथा मुर्छा पनि हुन सक्छ साथै चोटपटक चाँडो निको नहुनु पनि यसका लक्षण हुन् । मधुमेह रोगका कारण हुनसक्ने समस्याः यदि चिनीको मात्रा रगतमा धेरै समयसम्म नियन्त्रण नभएमा आँखा देख्नमा कमी क्षति हुने, मुटुसम्बन्धी समस्या उत्पन्न हुने, मिर्गौला कमजोर हुने, घाउ चोटपटक चाँडो निको नहुने, स्नायुसम्बन्धी समस्या भई हातखुट्टा झमझमाउँदै जाने र पछि गएर सड्ने कुहिने समेत हुन जान्छ । मस्तिष्कघातसमेत हुने सम्भावना रहन्छ ।परिक्षणः रगत जाँचः खाली पेटमा रक्त जाँच ८०–१०० मि.ग्रारडि.यल र खाना खाएको २ घण्टापछि १२०–१४० मि.ग्रा.रडि.यल हुनु सामान्य हो र यसभन्दा बढेमा मधुमेह रोग लागेको बुझ्नु पर्दछ । –पिसाब जाँचः पिसाबमा चिनी देखिनु र कमिला लाग्नु पनि मधुमेहको लक्षण हो ।

–  मधुमेहीले खान नहुने खानेकुरा गुलिया पदार्थहरूः चिनी, मिठाई, सक्खर, जाम, केक, कोकाकोला, फेन्टा, स्प्राइट, पेप्सी, आइसक्रिम आदि । खाना पकाउँदा धेरै तेलघ्युको प्रयोग नगर्ने । बोसो लागेका मासु वा घ्युतेलमा तारेका खानेकुराहरू (पुरी, पकौडा, समोसा, पुलाउ, आलुचिप्स आदि) प्रयोग नगर्ने । आलुबाट बनेका खाद्य पदार्थ, तरुल, पिडालु, सखरखण्ड नखाने । मादक पदार्थहरूस् रक्सी, बियर आदि तथा हर्लिक्स, बोर्नभिटा, बढी मात्रामा नुनसमेत नखाने । थोरै खान हुने वस्तुहरू भात, मकै, चिउरा, गहुँ, चिनी नभएको बिस्कुट खान हुन्छ । मुला, सलगम, रामतोरिया, तेलघिउ, प्याज, बकुल्ला पनि खान हुन्छ । दाल गेडागुडी (रहर, मास, चना, मटर, भटमास, मुग), फलफूलहरू (सुन्तला, मेवा, अंगुर, स्याउ, केरा, नासपती), दूधको परिकार, माछा, मासु र फूल आदि । इच्छा लागे जति खान हुने चिज तरकारीमा परबल, कुरिलो, भन्टा, हरियो लसुन, मेथी, बन्दागोभी, फूलगोभी, सिमी, मुगी, काँक्रो, भोगटे, हरियो खुर्सानी, गोलभेंडा खान हुन्छ । यसरी नै फलफूल जामुन, बयर, कागती, अमला, काफल, अंगुर पनि खान हुन्छ । पेय पदार्थमा चिनीबिनाको चिया, कफी, भेजिटेबल सुपहरू, नरिबलको रस, निमको पातको रस, विजयसालको गिलासमा राखेको पानी आदि खान हुन्छ । सलादमा जिरा, मसला, गेडागुडी, गोलभेंडा, मरिच र धनियाँको पात खान हुन्छ ।

उपचार खाद्यपदार्थमा परहेज
व्याक्तिको उमेर, लिंग (महिला, पुरुष) हेरेर पर्याप्त क्यालोरीयुक्त भोजन गर्नुपर्दछ । बिहानको नास्तामा दूध १ गिलास, पाउरोटी १ स्लाइस यदि फूल लिन चाहेमा १ वटा मात्र । बिहानको खानामा पुरानो चामल वा उसिना चामलको वा मकैको आटाको भात २ गिलास र आधा (सिसाको चिया गिलास बराबर) दाल १ गिलास, तरकारी साग सब्जी इच्छाअनुसार खान सकिन्छ । गेडागुडी ४÷५ चम्चा, दही १ गिलास, सलाद इच्छाअनुसार, टमाटर, तितेकरेला इच्छाअनुसार । रात्रीको खानामा गहुँ वा जौको रोटी ३÷४ वटा, दाल १ गिलास, तरकारी (सागसब्जी हरियो) इच्छाअनुसार, दूध १ गिलास, यदि मांसाहारी भएमा मासु ५०÷६० ग्राम, सलाद, तितेकरेला, टमाटर इच्छाअनुसार । बढी भोक भएमा पेट नभरेमा, बन्दागोभी, हरियो सागपातजस्ता खाद्य पदार्थ खाने ।

व्यायाम नियमित प्रातः भ्रमण, योगासन, व्यायाम मधुमेह रोगीको महत्वपूर्ण उपचार पद्धति हो । व्यायाम, योगासन दैनिक गर्नाले मोटो मान्छेको तौल घट्छ । दुब्लो मानिसको तौल साविक अनुसारको हुन्छ र रक्तचापलाई घटाउन तथा रक्तसञ्चार यथावत् राख्न तथा हानिकारक कोलेस्ट्रोल घटाउन मद्दत पुर्याउँछ । शरीरमा उपलब्ध इन्सुलिनलाई राम्रो प्रयोग हुनुको साथै रगतमा ग्लुकोजको मात्रालाई नियन्त्रणमा राख्न सकिन्छ । प्रातः भ्रमण र व्यायाम गर्दा जुत्ता तथा लुगा खुकुलो लगाउनुपर्दछ । शरीरले नसक्दा पनि चिकित्सकको सल्लाहमा हेल्परको सहयोगले सजिला योगासन गर्नुपर्दछ ।

घरेलु औषधि प्रयोगः खाद्य पदार्थकै रूपमा प्रयोग गरिने वस्तुद्वारा पनि चिकित्सा गर्न सकिन्छ । यदि मधुमेह वंशानुगत छ र शरीर मोटो पनि छभने निमको पातलाई थिचेर २ चम्चा रस बिहान खालीपेटमा दैनिक ४÷५ महिनासम्म खाने । तितेकरेलालाई खानाको रूपमा सधैं प्रयोग गर्ने । तितेकरेलाको पातलाई थिचेर २ चम्चा बिहान खाली पेटमा खाने यदि पेटमा वायु बनेको छभने सानो केराउको गेडा जति हिङ फुराएर रसमा मिलाई खाने । अंकुरित चनालाई दिनमा २ पटक काँचै र रोटीतरकारी पकाएर खानाले राम्रो गर्दछ । यो पौस्टिक पनि छ । लसुन १ पिस (१ केसरा) बिहान खाली पेटमा खाने । १० पिस सफा बेलपत्र पिसेर कल्क बनाई पानीसँग खाने । हर्रो २५ ग्राम, बर्रो २५ ग्राम, अमला २५ ग्राम, जिरा २५ ग्राम, कुटकी २५ ग्राम, चिराइतो २५ ग्राम, सुठो २५ ग्राम, तेजपात ५० ग्राम, गुर्जो ५० ग्राम, मेथी १०० ग्राम, जामुनको भित्रको कडा भाग (गुठली) १०० ग्राम, आँपको बियाँभित्रको गुदी १०० ग्राम को मिश्रण बनाई चिया चम्चाले १÷१ चम्चा ३–६ महिना सम्म खाने । माथि उल्लिखित द्रव्यको अलग–अलग चूर्ण गरी एक साथ मिलाई १÷१ चम्चा निम पत्ताको रस, करेला पत्र स्वरस, गुर्जो पत्र स्वरससँग बिहान बेलुकी खाली पेटमा खानाले अत्यन्त फाइदा गर्दछ । उपर्युक्त चूर्ण खानलाई स्वरस (थिचेर निचोरेर निकालेको रस) नमिले पानीसँग मात्र पनि खान सकिन्छ । सबै मिलाउन नसकेमा एक द्रव्यमा मेथी बिज चूर्ण, तिते करेलाको तरकारी, पत्र स्वरस, कुटकी चूर्ण, तिते करेलाको तरकारी, पत्र स्वरस, कुटकी चूर्ण, चिराइतो चूर्ण, निम्ब बिज चूर्ण कुनै एक मात्र भए पनि माथि उल्लेखित स्वरस, पानीसँग खाने गर्नाले मधुमेहका रोगीमा अत्यन्त फाइदा गर्दछ । हर्रो ५० ग्राम, वर्रो ५० ग्राम, अमला ५० ग्राम लिई अलग अलग चूर्ण बनाई एउटा बट्टामा राख्ने । १÷१ चम्चा सुत्ने समयमा खानाले शरीर स्वास्थ राख्नमा पद्दत पुर्याउँछ । सकभर दैनिक प्रातः भ्रमण गर्ने र रात्रीमा सम्पूर्ण शरीर मालिस गर्ने । यदि शरीर दुख्ने भएमा सातामा १–२ दिन (स्टिम बाथ) बाष्प स्नान गर्ने । चिकित्साउपयुक्त घरेलु औषधिको प्रयोग गर्दा पनि ठीक नभएमा रगत र पिसाब परिक्षण गर्दा चिनी घटेको नदेखिएमा आयुर्वेद चिकित्सकलाई देखाई नियमित औषधि खाने गर्नुपर्दछ ।

सारांशः मधुमेहको नै हो भन्ने निश्चित हुनासाथ उपचार राम्रोसँग गर्नुपर्दछ । यो जीवनभर रहने रोग हो । यो पूरै निको हुँदैन । तसर्थ मधुमेहका रोगीले धैर्यताका साथ स्वस्थ रहन चिन्ता छोडी, उचित आहारविहार तथा औषधि सेवन र प्रतिदिन योगासन र व्यायाम गर्न सकेमा स्वस्थ व्यक्तिसरह नै दीर्घजीवी बन्न सकिन्छ । उपचार नगरेमा रोग बढ्दै जान्छ र विभिन्न प्रकारका समस्याहरू उत्पन्न भई मृत्यु पनि हुन सक्छ ।