पर्यटन विकासका लािग गुरुयोजना बन्दै

बागलुङ, ३२ जेठ – जिल्लाको पर्यटन विकासका लागि गुरुयोजना निर्माणको काम अघि बढाइएको छ । बागलुङ पर्यटन विकास समितिले गुरुयोजनाको प्रस्तावपत्र गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा बुधबार पेश गरेको छ । गुरुयोजनासँगै जिल्लाको पर्यटन क्षेत्रको वस्तुगत अवस्था झल्काउने वृत्तचित्र (प्रोफाइल) पनि बनाइने समितिका सचिव अर्जुन चोखालले बताए । ‘गुरुयोजना र वृत्तचित्र दुवैको प्रस्तावपत्र पर्यटनमन्त्री विकास लम्साललाई बुझाएका छौँ’, सचिव चोखालले भने, ‘बजेटको प्रतिबद्धता आएको छ ।’

गत फागुनमा पर्यटन गुरुयोजनाबारे मन्त्री लम्सालको उपस्थितिमा सरोकार भएका पक्षबीच बागलुङमा बृहत् अन्तरक्रिया भएको थियो । सबैको सुझावका आधारमा प्रस्तावपत्र तयार पारेको समितिले जनाएको छ । आउँदो वर्ष्भित्र गुरुयोजना तयार हुनेछ । ‘बागलुङको पर्यटन विकासको भावी खाका र योजना गुरुयोजनामा समेटिन्छ’, समितिका अध्यक्ष राजु खड्काले भने, ‘गुरुयोजनामा टेकेर निजी र सार्वजनिक क्षेत्रले पर्यटनमा काम गर्नेछन् ।’

आगामी १५ वर्षसम्मको कार्ययोजना गुरुयोजनाभित्र समेटिनेछ । विज्ञ, पर्यटन व्यवसायी, सरकारी संयन्त्रदेखि सरोकारवालाको सुझावमा गुरुयोजनालाई पूर्णता दिइनेछ । समितिले जिल्लाभर रहेका पर्यटकीय गन्तव्यस्थलको वस्तुगत विवरण सङ्कलनको काम शुरु गरेको छ ।