भुइँचालोले ढुंगाको छानो पनि उडायो

बागलुङ, ३ असार – कुनैबेला घुमाउने खरको छानोमुनि बस्ने दक्षिणी बागलुङेको ‘शान’ र सपना थियो, ‘घरको छाना ढुंगे होस् ।’ भयो पनि त्यस्तै, उनीहरुले घुमाउने घर भत्काए, दुईपाखे र बंगाले घर बनाए अनि ढुंगाको छानो हाले । बागलुङको जैमिनी नगरपालिका–७ व्यारथलामा रहेको खानीबाट निकालिएका ढुंगाले दक्षिणका प्राय ः सबै घर छाइए । बागलुङको जैमिनी, गल्कोट र बागलुङ नगरपालिका, बरेङ गाउँपालिका तथा पर्वतको फलेवास, कुश्मा नगरपालिका एवं महाशिला गाउँपालिकाका जनताको ढुंगेछानो सपना व्यारथलाको ढुंगाले भरथेग ग¥यो । बलियो र पातलो ढुंगाको माग कुनै बेला थेगिनसक्नु बन्यो । तर, अहिले तिनै ढुंगाको छानो भएका घर भत्काएर धमाधम जस्ताको छानो छाउने क्रम बढ्दै गएको छ । ग्रामीण भेगका घरहरु भन्ने बित्तिकै धेरैलाई याद आउने स्लेट ढुंगाले छाएका घरहरु अब यादमै सीमित हुने अवस्थामा पुगिसकेका छन् । चारवर्ष अगाडी गएको बिनासकारी भुईँचालोले घर भत्काएपछि गाउँलेहरु ओत लाग्ने नयाँघरको जोहोमा लागे । नयाँ घरको नयाँ संरचना ! घर पुनर्निर्माण भईरहँदा भुईँचालोमा बढी जोखिम हुने स्लेट ढुंगा प्रयोग गर्न पुनर्निमार्ण प्राधिकरणले रोक लगायो । पुनर्निर्माणको क्रममा स्लेट ढुंगाको साटो जस्ता पाताको प्रयोग गर्न प्राबिधिकहरुले सल्लाहकै कारण ढुंगा प्रयोग ह्वात्तै घट्यो ।

नयाँ बन्ने घरहरुमा जस्तापाता प्रयोग हुँदा ढुंगाको माग ह्वात्तै घटेको जैमिनी–१० राङ्खानीका व्यवसायी दलबहादुर क्षेत्रीले बताए । भुकम्प अघि दिनमै हजारौंका ढुंगा खानीबट निकालेर बिक्री गर्ने गरेका उनले भुकम्प पछि बर्षमा एक दुई घरको लागि मात्रै ढुंगा बिक्री गर्ने गरेका छन् । व्यारथलाको खानीबाट खरिद गरी हातको १ सय २५ रुपैयाँको दरले ढुंगा बिक्री गर्ने गरिएपनि बिक्री हुन छोडेपछि व्यवसाय नै परिवर्तन गर्नुपर्ने अवस्थामा पुगेको क्षेत्रीले बताए । ‘ढुंगा बिक्री गरे बापत नगरपालिकालाई २ हजार २ सय रुपैयाँ कर तिर्नुपर्छ,’ व्यवसायी क्षेत्रीले भने ‘अहिले बिक्री घट्दा कर तिर्ने पैसा समेत कमाउन सकिएन् ।’ गाउँमा घरको ठेक्का लिएर निर्माण गर्दै आएका दुर्गाबहादुर थापाले पहिले बर्षमा घरको ठेक्का लिएर ३, ४ ओटा घरमा स्लेट ढुंगाले छाएको भएपनि अहिले वर्षमा मुस्किलले एउटा घर छाउने गरेको बताए ।

भुईँचालोपछि सवैले जस्तापाता नै प्रयोग गर्नुपर्छ भन्ने गरेकाले स्लेट ढुंगाले छाउन नमान्ने ठेकदार थापा बताउँनछन् । टिनको प्रयोग बढ्दा ग्रामीण भेगको सौन्दर्य हराएको भन्दै थापाले चिन्ता व्यक्त गरे । ‘गाउँका घरहरु स्लेट ढुंगाले छाउँदा भिन्दै सौन्दर्यता देखिन्छ,’ थापाले भने,‘अहिले टिनको प्रयोग बढेकाले सौन्दर्य हराउँदै गएको छ ।’ गाउँका घरमा स्लेट ढुंगाले छाउँदा मौलिकता झल्कने र धेरै वर्ष टिकाउ हुनुका साथै घर न तातो न चिसो हुने थापाको बुझाई छ । भूकम्प अगाडी बागलुङ जिल्लाका बलेवा, बरेङका साथै बाहिरी जिल्लाहरु कास्की, गुल्मी लगायतका स्थानमा जैदिको स्लेट ढुंगा बिक्री गर्दै आएपनि अहिले स्थानीय तहले भ्याट विलको प्रयोग गर्दै बाहिरी जिल्लामा बेचविखनमा प्रतिबन्द गरेको व्यवसायी क्षेत्रीले बताए ।