असारे बिकास रोक

बागलुङको जैमिनी नगरपालिकाले असार १ गतेदेखि नै चालु आर्र्थिक वर्ष २०७५÷०७६ सालमा विनियोजित रकमको फरफारक हिसाबको भुक्तानी दिन रोकेको छ । नगरपालिकाको बैठकले  पहिल्यै नै जेठ मसान्तसम्म  स्वीकृत परियोजनाहरुको हिसाब फरफारक गर्ने र त्यसपछि कुनै पनि योजनाको रकम फरफारक नगर्ने निर्णय गरेको थियो । नगरपालिकाले त्यही निर्णयमा टेकेर गरेको निर्णयपछि अहिले त्यहाँका ९५ प्रतिशत योजनाहरुको हिसाब फरफारक भएको छ । ५ प्रतिशत आयोजनाहरुले भने फरफारक गर्न पाएका छैनन् । जैमिनीले चालु आर्थिक वर्षमा ६ सय ५० योजना स्वीकृत गरेको थियो । पूरा नभएका योजनाहरु ५० हजारदेखि १० लाखसम्मका भएको नगरपालिकाले जनाएको छ । ती परियोजनाहरुको भुक्तानी कसरी गरिन्छ भन्ने बेग्लै कुरा हो तर नगरपालिकाले लिएको निर्णयको सर्वत्र प्रशंसा भएको छ । कम्तिमा सुशासन चाहनेहरुका लागि यो उदाहरण भनेको छ ।

देशको विकासको गति असाध्यै धिमा छ । हाम्रो कार्यसम्पादन क्षमता पनि कमजोर छ । समयमा बजेट विनियोजन नहुने र विनियोजित बजेटको सदुपयोग नहुने नेपालको पुरानो रोग हो । यो रोग असार लागेपछि सडकमा छताछुल्ल पोखिन्छ । विकास आयोजनाहरु असारे झरीमा थालिन्छ र त्यही मेसोमा सकिन्छ । केही दिन अघि मात्रै सञ्चार माध्याममा आएका समाचारहरु हेर्ने हो भने चालु आर्थिक बर्षको पछिल्लो दुई महिनामा मात्रै झण्डै पाँच अर्ब रुपैयाँ रकमान्तर भएको छ । यसरी अन्तिम समयमा हुने रकमान्तकरका कारण गुणस्तरहीन काम हुन्छ । परियोजना सकिएको भोलिपल्ट त्यो परियोजना भत्केको हुन्छ । सिंगो एकवर्ष सुतेर बिताउने र राताराता काम गर्ने यो परिपाटीले राज्यकोषको दोहनमात्र भएको छैन, राज्यकोषको दोहन भएको छ, भ्रष्टाचार मौलाएको छ । यो रोगबाट सिंगो देश ग्रसित भएको बेला जैमिनीले गरेको निर्णय यसमानेमा पनि सह्रानीय छ कि कम्तिमा असारमा सडकमा विकासको नाममा पैसा पोखिएको छैन । होला, केही परियोजनाहरुलाई भुक्तानी नहुँदा समस्या देखिएको छ ।
ती समस्याहरु आउँदो आर्थिक वर्षमा सल्ट्याउन सकिन्छ । तर, जनताको पैसामा होली खेल्ने अधिकार कसैसँग छैन । परियोजनाहरु समयैमा नै सुरु हुनुपर्छ र समयमै सकिनुपर्छ । सुशासन कायम गर्ने भनेको यस्तै साना कामबाट हो ।

जैमिनीको सिको अरु नगर तथा गाउँपालिका मात्रै होईन प्रदेश र केन्द्र सरकारले समेत गर्दा फरक पर्दैन । किनभने जेठको अन्त देखि असारको महिना भनेको किसानको खेतबारीमा काम गर्ने समय हो । यसै पनि कृषि प्रदान मुलुक यो समयमा राज्यले सञ्चालन गरेका योजनाका काममा कृषकहरुले उपभोक्ता समितिमा रहेर काम गर्ने वा आफ्नो ठाउँको बिकसका लागि भएको कामको लागि जनश्रमदान गर्ने बेला होईन । खेतबारीको काम हुनाले श्रमदानको लागि समस्या पनि हुन्छ । देशैभर असारे विकास भइरहेको बेला जैमिनी नयाँ योजना र बजेट बनाउन क्रियाशिल छ । यो क्रियाशिलताले सिंगो देशलाई उदाहरण भएको छ । यो उदाहरणबाट अरुले पनि सिक्नुपर्छ । राज्यकोष दोहन रोक्ने यो उपायलाई सबैले लागु गरौँ ।