धौलागिरी बहुमुखी क्याम्पसमा न दरबन्दी न अनुदान

बागलुङ, ५ असार – धौलागिरी क्षेत्रमै पहिलो पटक खुलेको धौलागिरी बहुमुखी क्याम्पस त्रिभूवन विश्व विद्यालयको आंगिक क्याम्पस हो । आंगिक भन्ने वित्तिकै सबै सरकारी लगानीमा संचालन हुनुपर्छ । तर यहाँका सबै संकायमा सरकारी बजेट नआएपछि संकटमा गुज्रेको छ । बिशेषगरी दरबन्दीका प्राध्यापक अभावमा क्याम्पसले पाउनै पर्ने सेवा सुविधा पनि पाउन सकेको छैन । दिनुपर्ने सेवा पनि दिन सकेको छैन । कम्तिमा ५० प्रतिशत स्थायी प्राध्यापक नभएकोले धौलागिरी बहुमुखी क्यामपसले ‘गुणस्तर प्रत्यायान प्रमाणीकरण’ पाउन सकेको छैन । गुणस्तर प्रमाण चिन्ह जस्तो यो प्रमाणिकरण भएमा क्याम्पसले बिद्यार्थी संख्याको आधारमा विश्व विद्यालय अनुदान आयोगबाट नियमित अनुदान पाउने व्यवस्था छ । अधिकांस संकायको अनुमति दिएको त्रिभूवन विश्व विद्यालयले दरबन्दी नदिंदा क्याम्पस आर्थिक रुपमा संकटमा गुज्रदै आएको छ । प्रमाणकै अभावमा पाउनुपर्ने लाखौं रुपैयाँ भने बर्षेनी गुमिरहेको छ । चार बर्ष अघि अनुमति पाएको बिज्ञान संकायमा एक जना पनि दरबन्दी नपाएपछि आंशिक शिक्षकको भरमा संचालित छ । त्रिभूवन विश्व विद्यालयको आंगिक क्याम्पस भएपनि दरबन्दी नपाएकोले क्यामपसले व्ययभार व्यहोरेर शिक्षक राखेको छ । यो संकायमा ११ जना प्राध्यापक आवस्यक छ । आंशिक शिक्षकको भरमा परीक्षाफल भने उत्कृष्ठ ल्याईरहेको छ ।

बिबिए, एमबिएस र बिबिएस लगायतका संकायमा पनि दरबन्दी नभएपछि आंशिक शिक्षकको भरमा संचालन गर्नु परेको क्यामपस प्रमुख रामप्रसाद उपाध्यायले बताए । ‘दरबन्दी त एउटा मात्र सूचक हो, गुणस्तर प्रमाण चिन्ह पाउनका लागि अन्य धेरै प्रतिवेदनहरु पनि पास हुनुपर्छ’ उपाध्यायले भने, ‘हामीले गर्ने धेरै प्रयास गरेका छौं, विश्व बिद्यालयबाट हेर्ने दृष्टीकोण सकारात्मक बनिदिए पुग्थ्यो ।’ आयोगले हरेक बर्षको परीक्षाफल सहित अपांगमैत्री पुस्तकालय संचालन भएको हुनुपर्ने, शौचालयको अवस्था, प्रयोगशाला सहित तोकिएका धेरै सूचकहरु पुरा भएको हुनुपर्नेछ ।

धौलागिरी बहुमुखी क्यामपसको तेस्रो तलामा पुस्तकालय संचालनमा छ । प्रमाण पाउनका लागि दरबन्दी आउने निश्चित भएमा पुस्तकालय तत्कालै भुइ तलामा सार्ने उपाध्यायले बताए । ‘तत्कालका लागि भुइतलाको कोठामा सार्ने र आगामी बर्ष ९० लाखको लागतमा पुस्तकालय बनाउने योजना बनिसकेको छ’ उपाध्यायले भने, ‘गण्डकी प्रदेश सरकारले बजेट समेत बिनियोजन गरेकोले डिजाइन र स्टिमेटको काम गरिरहेका छौं ।’ बिज्ञान संकायको लागि क्याम्पसले प्रयोगशाला निर्माण गरिसकेको छ । बिज्ञान संकायमा कम्तिमा ५ र अन्यमा केही दरबन्दी थप भएमा प्रमाणचिन्ह पाउन योग्य बन्ने उनले बताए ।
अनुदान पाएमा क्याम्पसले भौतिक पूर्वाधार सहित गुणस्तर बिकासमा थप लगानी गर्न सक्ने बताए । हाल यो क्यामपसमा २ हजार बिद्यार्थी अध्ययनरत छन् । क्याम्पसको पढाई भन्दा जापान र कोरियाको भाषा पढ्नेमा बढ्न थालेको सहायक प्रमुख हरिप्रसाद पाण्डेयले बताए । ‘नेपालमै रोजगार सुनिश्चित छ भन्ने विश्वास दिलाउन नसक्दा क्याम्पस भर्ना भएर कोरिया र जापानको भाषा पढीरहेका छन्’ पाण्डेयले भने, ‘हाम्रा क्याम्पसहरु अब अनुसन्धानमूलक बन्नुपर्छ ।’ अनुसन्धानमुलक भएमा बिद्यार्थीले परीक्षा सक्दा स्वरोजगार बन्ने वातावरण बन्ने उनले बताए । हाल धौलागिरी बहुमुखी क्यामपसमा अहिले स्विकृत दरबन्दी मध्ये ३७ जना स्थायी र ३९ जना आंशिक शिक्षकको भरमा चलाइएको छ । त्रिविले कम्तिमा १ बर्ष आंशिक शिक्षण गरेका शिक्षकलाई करारमा नियुक्ती दिनुपर्ने प्रावधान समेत पालना भएको छैन ।