गौचनद्धारा जन्मदिनको अवसरमा टुहुरी बालिकाको अभिभावकत्व ग्रहण

म्याग्दी, ७ असार – जिल्लाकी एक महिला नेतृले टुुहुरी बालिकाको अभिभावकत्व ग्रहण गरी आफ्नो जन्मदिन मनाएकी छिन् । शुक्रबार आफ्नो जन्मदिनको अवसर पारेर बेनी नगरपालिका वडा नं ८ बेनी बजार निवासी विमला गौचनले बुद्ध एकेडेमीमा अध्ययनरत टुुहुरी बालिका रीतिका जिसीको उच्च शिक्षा अध्ययन सम्मको ग्रहण गरेकी हुन् । नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष समेत रहेकी गौचनले रीतिकालाई उच्च शिक्षासम्म पढ्नका लागि मासिक शुल्क लगायत अन्य सम्पूर्ण खर्च आफूले व्यहोर्ने गरी अभिभावकत्व ग्रहण गरेकी हुन् । रीतिकाका बुबा बाबु जिसीको गत बर्ष असोजमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको थियो ।

आफ्नो ५८ औं जन्मदिनको अवसरमा समाजसेवी एवम् नेपाल महिला संघ म्याग्दीको अध्यक्ष समेत रहेकी गौचनले विद्यालयमा पुगेर अभिभावकत्व ग्रहण गरी जन्मदिन मनाइन् । गौचनले टुहुरी बालिकाको उच्च शिक्षा सम्मको अध्ययनमा लाग्ने खर्चको जिम्मा आफुले व्यहोर्ने बताइन् । आर्थिक अभावकै कारण बालिकाको अध्ययनको यात्रा विचल्लीमा नपरोस् भनि सहयोग गरेको समाजसेवी एवम् नेतृ गौचनले बताइन् । रीतिकाकी आमा शोभाको जिविकोपार्जनमा पनि आफुले सहयोग गर्ने गौचनको भनाई छ । गौचनले यसअघि पनि विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएकी छिन् ।

बुबाको मृत्यु भएपछि विचल्लीमा परेका दुई बहिनीमध्ये रीतिकाकी जेठी दिदी रियानालाई विद्यालयले उच्च शिक्षासम्मको अध्ययनको जिम्मा लिएको बुद्ध एकेकडेमीका प्रिन्सिपल ध्रुबसागर शर्माले जानकारी दिए । उनका अनुसार कान्छी बहिनी रीतिकाको अध्ययनमा लाग्ने खर्च भने आमा शोभाले आफन्तको सहयोग एवम् मजदुरी गरेर जुटाउँदै आएकी थिइन । दिदी रियाना कक्षा ६ मा अध्ययनरत छिन्भने बहिनी रीतिका कक्षा ४ मा अध्ययनरत छिन् । सोही अवसरमा गौचनले दुई बहिनी रियाना र रितिकालाई झोला र कापी कलम पनि वितरण गरिन् ।