इन्सेक वर्ष पुस्तकको समीक्षा

बागलुङ, ८ असार – अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सन् २०२० का लागि अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । शनिबार आयोजित एक कार्यक्रममा सन् २०१९ जनवरी देखि जुन सम्मका घटनाको संकलन गरेर समीक्षा गरिएको हो । इन्सेक प्रतिनिधि सिर्जना पन्तले प्रस्तुतीकरण गर्दै यो ६ महिनामा जिल्लामा ७ वटा बलात्कारका घटना भएको सार्वनिक गरिन् । त्यस्तै ९ वटा बलात्कार प्रयास भएको र अन्य हिंसाका घटना २१ वटा प्रहरीमा दर्ता हुन आएको बताइन् । इन्सेकले हरेक बर्ष मानवअधिकार बर्ष पुस्तक प्रकाशित गर्दै आएको छ । यो पुस्तकमा देशभर भएका मानवअधिकार हनन्का घटनालाई सूचिकृत गरिन्छ । यी घटनाहरु दस्तावेजको रुपमा पनि रहने गरेका छन् ।

पन्तका अनुसार जिल्ला प्रहरी कार्यालय बागलुङमा दर्ता भएका मध्ये ११ वटा घटना मिलापत्र भएका छन् । मिलापत्र हुन नसकेका ३ वटा मुद्दा अदालतमा पुगेका छन् । ७ वटा अझै मुद्दाकै प्रकृयामा छन् । ती घटना मध्ये धम्की दिएको एउटा, जातीय बिभेद एउटा, र राजनीतिक अधिकार हनन्को घटना १ वटा भएका छन् । सबै प्रकारका अधिकार हनन्मा ४६ वटा मुद्दा दर्ता भएको पाइएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले हिंसा र अपराधका घटनामा निश्पक्ष कारवाही गर्न सकियो भने घटना कम हुने बताए । उनले राजनीतिक र अन्य कारणले घटनालाई बंग्याउने काम भयो भने हिंसा बढेर जाने गरेको अनुभव पाएको बताए । जिल्ला प्रहरीका डिएसपी झविन्द्रप्रसाद भट्टराईले निवेदन लेख्ने बेलादेखि पिडितलाई थप पिडा पर्ने गरेको टिप्पणी गरे । पिडितलाई निशुल्क निवेदन लेखाउन सहयोग गर्ने र प्रहरीसम्म आउने वातावरण बनाउन पहल गर्नुपर्ने उनले बताए ।

उक्त अवसरमा महिला अधिकारकर्मी लक्ष्मी जिसी कार्कीले गत बर्षदेखि बन्द भएको अल्पकालिन महिला सेवा केन्द्र पुन संचालनमा ल्याउन सकियो भने मात्र हिंसाका घटना न्युनिकरण हुने बताइन् । केन्द्रका कर्मचारीले तलब समेत नपाएपछि गत बर्ष देखि बन्द छ । कार्यक्रममा नेकपाका नगर संयोजक धनबहादुर परियार, उच्च अदालत वार एसोसिएसनका अध्यक्ष हरिप्रसाद शर्मा, अधिवक्ता राम शर्मा, पत्रकार कोपिला कंडेल, प्रकाश बराल, सुवास गौतम, हुमा जिसी, लगायतले बोलेका थिए ।