पानी जोगाऊ

नेपालमा मनसुन भित्रिएको छ । मनसुनको सक्रियतासँगै किसानहरु धान रोपाईँमा व्यस्त हुन थालेका छन् । असार आफैमा पनि मानो रोपेर मुरी उब्जाउने बेला हो । मनसुन नेपाल भित्रिए पनि देशका सबै भागमा पानी पर्न र रोपाईँ गर्न पुग्ने पानी पाउन भने केही समय कुर्नु नै पर्छ । हामीले हिजोदेखि नै नेपाललाई कृषिप्रधान देश भनेर पढ्दै आएका छौँ । कृषिकर्मको लागि पानीको ठूलो महत्व हुन्छ । नेपाल जलश्रोतमा धनी भए पनि सिंचाई सुविधा पुगेका जमिन अत्यन्तै कम छन् । जसले गर्दा खेतिको लागि किसानहरु आकाशे पानीकै भर पर्नुपर्छ । वर्षाले किसानको घरमा खुसी भित्र्याउँछ । तर, पानीले खुसी मात्र हैन, नेपालमा बिपत्ति पनि बोकेर ल्याउँछ । खासगरी वर्षासँगै बाढी पहिरोको जोखिम बढ्न थाल्छ । धेरैका घर बग्न पुग्छन् । अर्कोतर्फ पहाडमा पहिरोले त्यत्तिकै दुःख दिन्छ । पछिल्ला समय विकासका नाममा डाँडाहरु जथाभावी उधिनिएका छन् । गाउँगाउँमा वातारणीय मूल्याङ्कन नै नगरि बाटो खन्दा त्यसले विकास निम्त्याएका प्रसस्तै उदाहरण छन् । पानी परेसँगै सिंगो डाँडो नै पहिरोमा पर्ने हो कि भन्नेखालले गरिएको विकास अहिले हाम्रो लागि घातक बनेको छ । तर, त्यसो भनिरहँदा पानी नै नपरोस् भन्ने चाहिँ हुँदै होइन ।

पानीसँग मानव सभ्यता जोडिएको छ । परापूर्व कालदेखि नै मानिसहरुले नदीको किनारमा बस्ती बसाए । सभ्यताको विकास गरे । पानी नभएको ठाउँमा मानिस बस्न सक्ने अवस्था पनि रहँदैन । भारतको बेंगलुरुमा पानी नभएका कारण मानव जीवन नै संकटमा परेको सार्वजनिक भएको छ । बस्ती बसेका कारण जमिन मुनि पानी जाने अवस्थाको अन्त्य भएको छ । जमिनमुनि पानी नगए पछि कसरी पानी निकाल्ने ? अहिले त्यहाँको समस्याको जड नै जमिनमुनि पानी नहुनु भएको छ । अब वर्षाले मात्र बेंगलुरुलाई राहत दिने अधिकारीहरुले बताएका छन् । नेपालमा पनि केही गाउँहरुमा पानीको अभावका समाचारहरु सार्वजनिक भएका छन् । पानी नभएका कारण मानिसहरु बसाईँसराईँ गर्ने अवस्थामा पुगेका छन् । यो दुःखद घटना हो । मानिसको लागि विकास अपरिहार्य छ । तर, प्रकृतिको बढी दोहनले पार्ने असरले अहिले मानव सभ्यतामाथि नै धावा बोल्न थालेको छ । जथाभावी नदी उत्खनन, जथाभावि बाटो बनाउने कामले पानीका मुहानहरु हराउने वा सुक्ने अवस्था आएको छ । नेपालमा अहिले जे देखिएको छ, कालान्तरमा यहाँ पनि बेंगलुरुको जस्तो अवस्था नआउला भन्न सकिँदैन ।

अहिले पोखरा, काठमाण्डौंलगायतका सहर क्रंक्रिटको जंगल बनेको छ । क्रंक्रिटको जंगल बनेपछि जमिनमुनि पानी जान पाएको छैन । जसले गर्दा सहरतिर सानो पानी पर्दा पनि बाढी आउने समस्या छ भने अर्कोतर्फ राजधानीलगायतका सहरहरुमा भूमिगत पानी पनि सकिने अवस्थामा पुगेको छ । काठमाण्डौमै धेरै ढुंगेधाराहरु सुकेका छन् । हेर्दा सानो देखिएइ पनि यो समस्या विकराल बन्ने खतरा छ । अत ःहामीले प्रकृतिले दिएको अनुपम उपहार पानीको संरक्षणमा आजैदेखि लाग्नुपर्ने भएको छ । हैन भने भोलि स्थिति भयावह बन्नसक्छ । पानीका स्रोतहरुको संरक्षणको लागि सरकारले पनि दीर्घकालीन सोच अनुसार काम गर्नुपर्ने देखिएको छ ।