ताराखोला गाउँपालिकाको बजेट २५ करोड ३५ लाख

बागलुङ, १० असार – ‘तारखोला भ्रमण वर्ष २०७७’ मनाउनको लागि गाउँपालिका भित्र पर्यटकीय पूर्वाधार निर्माणमा ६९ लाख ५० हजार रुपैयाँ बजेट बिनियोजन गर्दै ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को बजेट सार्वजनिक गरेको छ ।गाउँपालिकाले सोमबार २५ करोड ३५ लाख ३१ हजार ८ सय रुपैयाँको बजेट सार्वजनिक गरेको हो । गाउँपालिकाका चालू खर्चतर्फ सशर्त अनुदानसहित १३ करोड ७५ लाख ,७० हजार र पुँजिगत तर्फ ९ करोड ७२ लाख ३१ हजार ८ सय बिनियोजन गरिएको छ । गाउँपालिकाले आर्थिक विकास तर्फ १ करोड ८७ लाख ७९ हजार रकम बिनियोजन गरेको छ । सामाजिक विकासमा ३ करोड ६६ लाख १७ हजार ८ सय ,पूर्वाधार निर्माणमा ३ करोड २६ लाख २५ हजार बिनियोजन गरिएको छ । त्यसैगरी वातावरण तथा बिपद ब्यबस्थापनको लागि २२ लाख ५० हजार र संस्थागत विकास ,सेवा प्रवाह र सुशासनको लागि ५५ लाख ६० हजार बिनियोजन भएको छ । त्यसैगरी नेपाल सरकार संग साझेदारीमा आयोजना कार्यान्वयन गर्नको लागि समपूरक कोषमा २ करोड बिनियोजन भएको छ ।

गाउँपालिकालाई नेपाल सरकारबाट वित्तीय समानीकरण अनदुान अन्तरगत ७ करोड ५ लाख र राजस्व बाँडफाँड बाट ५ करोड १५ लाख प्राप्त भएको छ । त्यसैगरी गण्डकी प्रदेशबाट बित्तीय समानीकरण अनुदान १ करोड २० लाख ६७ हजार र राजस्व बाँडफाँड बाट १७ लाख ९६ हजार प्राप्त भएको छ । त्यसैगरी नेपाल सरकारबाट सशर्त अनुदानतर्फ ८ करोड ४५ लाख प्राप्त भएको बजेटमा उल्लेख छ । बजेटमा गाउँपालिकाका प्रमुख सडकलाई नियमित यातायात संचालन हुने गरी स्तरिकरण गर्ने ,पुर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा गर्ने ,ताराखोला भ्रमण वर्ष २०७७ मनाउन पर्यटकीय पूर्वाधार निर्माण गर्ने ,कृषि र पशुपालनबाट रोजगारी सिर्जना गर्ने ,आधारभूत शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि गर्ने लक्ष राखिएको छ ।

बजेट कार्यान्वयनबाट गाउँपालिकाका सडकमा नियमित सवारी संचालन ,ताराखोला भ्रमण वर्ष २०७७ को तयारी स्वरूप पुर्वाधार निर्माण हुने बजेटमा अपेक्षा गरिएको छ । गाउँपालिका भित्र रहेका विपन्न ,दलित ,जनजाति ,महिलाहरुको आर्थिक सामाजिक स्तर सुधार संगै गाउँपालिकाका प्रमुख सार्वजनिक पुर्वाधार निर्माण हुने बजेटमा अपेक्षा गरिएको छ ।ताराखोला भ्रमण वर्ष २०७७ मनाइ आन्तरिक तथा बाह्य पर्यटन आकर्षक गर्न पर्यटकीय पदमार्ग ,पार्क निर्माण र होम स्टे संचालन गर्न बजेट बिनियोजन गरिएको प्रस्तुत बजेट वक्तब्यमा उल्लेख छ ।