बागलुङका ७ स्थानीय तहको बजेट कति ?

बागलुङ, १० असार – बागलुङका १० स्थानीय तह मध्य ७ स्थानीय तहले आगमी आर्थिक वर्ष २०७६/०७७ को बजेट सर्वजनिक गरेका छन् । कानूनी रुपमा असार १० भित्र ल्याउनै पर्ने भएपछि बागलुङका अधिकांस स्थानीय तहले मंगलवार नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् ।

ताराखोला गाउँपालिकाले यस अघिनै नीति तथा कार्यक्रम र बजेट समेत ल्याएको थियो । ती बाहेक जिल्लाका २ नगरपालिका र ४ गाउँपालिकाले मंगलवार बजेट ल्याएका छन् । नीति तथा कार्यक्रम ल्याएको बडिगाड गाउँपालिकाले भने मंगलवार बजेट ल्याउन सकेन । बागलुङ नगरपालिका र गलकोट नगरपालिकाले बिप्लब नेतृत्वको माओवादीको बन्द देखाएर बजेट ल्याउन नसकेको दावी गरेका छन् । बडिगाड गाउँपालिकाले बिषयगत समितिको छलफल टुंगोमा नपुगेको भन्दै बजेट ल्याउन नसकेको हो । ती बाहेक काठेखोला, तमानखोला, निसीखोला र बरेङ गाउँपालिका तथा जैमिनी र ढोरपाटन नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट सँगसँगै प्रस्तुत गरेका छन् । मंगलवार नीति तथा कार्यक्रम र बजेट दुवै ल्याएको ढोरपाटन नगरपालिकाले शिक्षा र पूर्वाधारमा जोड दिएको छ । शैक्षिक रुपमा पछाडि परेको यो क्षेत्रको बिकासका लागि ३७ करोड रुपैयाँको बजेट छ । उक्त बजेटमध्ये चालु तर्फ १७ करोड ४८ लाखरुपैयाँ र पूजिगत तर्फ १५ करोड बिनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताए । आन्तरिक आय बढाउने क्रममा रहेको यो नगरपालिकाले ४० लाख राजश्व संकलन गर्ने लक्ष राखेको छ । जैमिनी नगरपालिकाले ५२ करोड ७९ लाख ५ हजारको बजेटबाट चालु तर्फ ३६ करोड ६३ लाख र पूजिगत तर्फ १६ करोड १६ लाख ५ हजार रुपैयाँ बिनियोजन गरेको छ । आगामी बर्ष ५२ लाख १० हजार राजश्व संकलन गर्ने लक्ष नगरप्रमुख इन्द्रराज पौडेलले सुनाए ।

सबैभन्दा पहिला बजेट ल्याएको ताराखोला गाँउपालिकाले २५ करोड ३५ लाख ३१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बजेटमा चालु तर्फ १३ करोड ७० लाख र पूजिगत तर्फ ९ करोड ७२ लाख रुपैयाँ बिनियोजन भएको हो । चालु प्रशासनिक खर्चका लागि ४ करोड ८५ लाख बजेट छ । तमानखोला गाउँपालिकाले २२ करोड ७ लाख ६४ हजारको बजेट सार्वजनिक गरेको छ । यो बजेट मध्ये चालु तर्फ १० करोड २६ लाख र पूजिगत तर्फ ११ करोड ८१ लाख बिनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतमले जानकारी दिए ।

बरेङ गाँउपालिकाले २७ करोड ७३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उक्त बजेटमा चालु तर्फ १६ करोड १७ लाख रुपैयाँ र पूजिगत तर्फ १० करोड ९३ लाख ७३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको हो । आगामी बर्ष १९ लाख राजश्व संकलन गर्ने लक्ष राखिएको प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ पौडेलले बताए । काठेखोला गाउँपालिकाले ४१ करोड ११ लाख ५३ हजारको बजेट प्रस्तुत गरेको छ । जसमध्ये चालु तर्फ २५ करोड २९ लाख र पूजिगत तर्फ १५ करोड ८२ लाख रुपैयाँ बिनियोजन भएको छ । चालु बर्ष आन्तरिक राजश्व ३१ लाख ५० हजार संकलन गर्ने लक्ष राखेको प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिकले बताए । निसीखोला गाउँपालिकाले ३१ करोड ५० हजार रुपैया“को बजेट प्रस्तुत भएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले बताए । चालु तर्फ १५ करोड करोड ९८ लाख र पूजिगत तर्फ १४ करोड ९७ लाख रुपैयाँ छ । आगामी बर्ष ३६ लाख राजश्व संकलन गर्ने लक्ष राखेको छ ।

नीति तर्फ जैमिनी नगरपालिकाले कार्यपालिकाको भवन निर्माण र सडकलाई मुख्य प्राथमीकतामा राखेको छ । वडा कार्यालयहरुबाट पालिकाको मुकाम आउने सडक निर्माणलाई प्राथमीकतामा राखेको नगर प्रमुख इन्द्रराज पौडेलले बताए । त्यस्तै काठेखोला गाउँपालिका, बरेङ गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमीकतामा राखेका छन् । कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई दोस्रो प्राथमीकतामा राखेका पालिकाहरुले सडक र भवन जस्ता पूर्वाधार निर्माणमा जोड दिएका हुन् । जिल्लाको तमानखोला गाउँपालिकाले शिक्षालाई पहिलो र स्वास्थयलाई दोस्रो प्राथमीकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको प्रमुख प्रसाकीय अधिकृत कमल प्रसाद गौतमले बताए । निसीखोला गाउँपालिकाले भने पहिलोमा कृषि र दोस्रो प्राथमीकतामा पूर्वाधार निर्माणलाई राखेको छ । विद्यालयहरुमा सुविधा सम्पन्न भवन निर्माणको कामलाई प्राथमीकता दिईएको प्रमुख प्रसासकिय अधिकृत राम प्रसाद आचार्यले बताए । ढोरपाटन नगरपालिकाले पहिलोमा पूर्वाधार निर्माणलाई राखेर दोस्रो प्राथमीकतामा शिक्षा लाई राखेको छ । स्थास्थ्य क्षेत्रमा बिषेश जोड दिने निती लिएको प्रमुख प्रसाशकिय अधिकृत धनप्रसाद पोखरेलले बताए ।